|

पाल्पा : चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेला सकिएको छ। तिनाउ गाउँपालिका–४ कोलडाँडास्थित सत्यवती तालमा बिहीबार सुरु भएको मेला शनिबार मध्यराति सकिएको हो।

सत्यवती बज्यै बहिरी भएको र उनिसँग मध्यरातमा चिच्याएर आफूले चाहेको वर मागे पूरा हुने विश्वास छ। रातको समय सत्यवती तालमा लिंगो गाड्ने र हजारौं लिंगोको बीचमा आफूहरूले राखेको लिंगो बिहानपख चिनेर पूजा गर्ने चलन छ।

मन्दिरमा बजैलाई पूजा गरेपछि टीका, चुरा, साडी चोलीसमेत चढाउने चलन छ। सत्यवती बजैको लागि कुखुरा, बोका र परेवा बलि पनि दिने परम्परा छ। कात्तिक शुक्ल पूर्णिमा कात्तिक महिनामा परेमात्र यहाँ मेला लाग्ने गर्दछ। विगत वर्षमा भन्दा यो वर्ष मन्दिरमा पूजा गर्न आउनेको श्रद्धालुको संख्या वृद्धि भएको मेला प्रचार प्रसार समितिका संयोजक ओमबहादुर गाहाले बताए।

तीन दिनसम्म चलेको मेलामा झण्डै ५ लाख भक्तालुहरुको आएको उनले बताए। पाल्पासहित कास्की, स्याङ्जा, रूपन्देही, कपिलवस्तु, पर्वत, गुल्मी, अर्घाखाँची, काठमाडौंदेखि श्रद्धालुहरू आएको संयोजक गाहाले बताए। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको चौबीस माइल र झुम्साबाट सत्यवतीको तालमा जान सकिन्छ। करिब दुईदेखि तीन घण्टा उकालो हिँडेपछि सो ठाउँमा पुग्न सकिन्छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.