|

विराटनगर : दोस्रो चरणको निर्वाचनअन्तर्गत २१ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मोरङमा १९ वटा राजनीतिक दल र स्वतन्त्र गरी ६७ जना चुनावी प्रतिस्पर्धामा उत्रेका छन्।

मोरङको क्षेत्र नं. ३ बाट सबैभन्दा बढी १५ जना र क्षेत्र नं. ५ बाट सबैभन्दा कम ७ जनाले प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नं. २ मा १२ जना तथा क्षेत्र नं. १, ४ र ६ मा ११÷११ जनाले उम्मेदवारी दर्ता गरेका छन्। ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा सदस्यका लागि ६७ जनामा नयाँ शक्ति पार्टीबाट एक र दुई स्वतन्त्र गरी तीन महिला मात्र प्रतिनिधिसभाको चुनावी मैदानमा उत्रिएका छन्।

नयाँ शक्ति पार्टीले क्षेत्र नं ६ बाट महिला उम्मेदवार उतारेको हो। ६ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांगे्रसले मात्र उम्मेदवारी दिएको छ भने वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले)ले ४ र नेकपा (माओवादी केन्द्र)ले २ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएको छ।

क्षेत्र नं १ बाहेक पाँच स्थानमा उम्मेदवारी दर्ता गराउने तीन पार्टी संघीय समाजवादी जनगणतान्त्रिक मोर्चा, नेपाल र नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) छन्। चार स्थानमा उम्मेदवारी दर्ता गराउने पार्टीको संख्या ५ छ।

नेकपा एमालेले क्षेत्र नं, १, २, ३ र ६, नयाँ शक्ति पार्टीले १, २, ४ र ६, नेपाल मजदुर किसान पार्टीले २,३,४ र ६, संघीय लोकतान्त्रिक राष्ट्रियमञ्च नेपालले १,२,३ र ६, एकीकृत राप्रपा (राष्ट्रवादी)ले २,४, ५ र ६ नम्बर क्षेत्रमा उम्मेदवार उतारेका छन्। त्यस्तै, मंगोल नेसनल अर्गनाइजेसन पार्टीले मोरङको १, ३ र ६ गरी तीनवटा क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा (माओवादी केन्द्र)ले ४ र ५ मा, राष्ट्रिय जनमोर्चाले २ र ३ मा उम्मेदवारी दिएको छ।

मोरङको एक स्थानमा मात्र उम्मेदवारी दिएका दलमा क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गर्ने दलमा नेपाल संघीय समाजवादी पार्टी, जनप्रजातान्त्रिक पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी छन्।  त्यस्तै, क्षेत्र नं ३ बाट नेकपा(माले), क्षेत्र नं ४ बाट विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी र क्षेत्र नं ६ बाट नेपाली कांग्रेस (विपी)ले उम्मेदवारी दर्ता गराएका छन्।  त्यस्तै, ११ जनाले विभिन्न क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

लोकतान्त्रिक फोरमका सचिव वाम गठबन्धनमा

यसैबीच, नेपाल लोकतान्त्रिक फोरमका मोरङ जिल्ला सचिव नेबिलाल राजवंसी सहितका कार्यकर्ताहरु वाम गठबन्धनमा प्रवेश गरेका छन्। पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले पार्टीलाई कांग्रेसमा विलय गराएको प्रति असन्तुष्टि जनाउँदै राजवंशी सहितका १ सय २५ जना नेता तथा कार्यर्ता वाम गठबन्धनमा समाहित भएका हुन्।

विजयकुमार गच्छदारले पार्टीलाई कांग्रेसमा विलय गराएपछि पार्टीका जिल्ला कमिटी सचिव सहितका कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका हुन्। गच्छदारले आफ्नो पद र कुर्सीको लागि पार्टीको अस्थित्व नामेट पारेको भन्दै उनीहरुले मुलुकलाई भ्रष्टाचार र कुशासनको दलदलमा फसाउने कांग्रेसमा जान नसकेकोले वाम गठबन्धनमा आबद्ध एमालेमा प्रवेश गरेको राजवंशीले बताए।

मोरङको निर्वाचन क्षेत्र नं. २ स्थित रतुवामाई ४ मा भएको भएको कार्यक्रममा उनीहरुलाई सो क्षेत्रका वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेश पोखरेल र प्रदेशसभा सदस्यका उम्मेदवार गणेश उप्रेतीले उनीहरुलाई प्रवेश गराएका हुन्।

१ लाख ११ हजार ३ सय २१ मतदाता रहेको सो क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले २२ हजार ३ सय ५०, एमालेले १९ हजार ४१ र माओवादी केन्द्रले ११ हजार २ सय ३२ मत पाएका थिए। एमाले र माओवादीको मत जोड्दा ३० हजार २ सय ७३ मत हुन्छ। जुन कांग्रेसको भन्दा करिब ८ हजार बढी हो।

कांग्रेसको प्रचार समिति गठन

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी तथा उम्मेदवारको चुनावी गतिविधि प्रचार गर्न नेपाली कांग्रेस मोरङले २०७५ सदस्यदीय प्रचार समिति गठन गरेको छ। पार्टीको चुनावी गतिविधि, चुनावमा पार्टीभित्रकै पदाधिकारी तथा शुभेच्छुकबाट हुनसक्ने अन्तरघात र विमतिलाई अनुगमन गर्न अनुमगन समिति पनि गठन गरिएको छ। पार्टीका जिल्ला सचिव नागेश कोइरालाको संयोकत्वमा गठन गरेको प्रचार समितिको सहसंयोजकमा प्रदीप विश्वास रहेका छन्।

प्रचार समितिमा नेपाल प्रेस युनियनमा आबद्ध युवा तथा अग्रज पत्रकारको संयोजकत्वमा क्षेत्रस्तरीय प्रचार समिति पनि गठन भएको छ। क्षेत्र नम्बर १ मा प्रशान्त निरौला, क्षेत्र नम्बर २ मा किरण न्यौपाने, क्षेत्र नम्बर ३ मा हरि कोइराला, क्षेत्र नम्बर ४ मा शंकर खरेल, क्षेत्र नम्बर ५ मा अनन्तराज न्यौपाने र क्षेत्र नम्बर ६ मा शेखर रेग्मी प्रेस संयोजक तोकिएका छन्।

पार्टीले शनिबार नै गठन गरेको अनुमगन समितिको संयोजक महासमिति सदस्य सुदनबहादुर कार्की रहेका छन्। यो समितिको सदस्यमा गयानन्द मण्डल, नारायणबाबु कार्की, सूची चौधरी र मो. सदरुल मियाँ सदस्य रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.