|

काभ्रेपलाञ्चोक : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि राप्रपा र राप्रपा प्रजातान्त्रिकका सबै उम्मेदवारले काभ्रेमा उम्मेदवारी फिर्ता लिएका छन्। राप्रपाले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने गरी फिर्ता लिएको हो।

राप्रपाका प्रदेश सभा १ का उम्मेदवार गणेशबहादुर श्रेष्ठ, प्रदेश सभा २ का टुल्कु लामा, प्रदेश सभा ३ का कृष्णवीर लामा र प्रदेशसभा ४ का भवनाथ दाहालले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिन राप्रपा जिल्ला अध्यक्ष टुल्कु लामा नेपाली कांग्रेसका प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार तीर्थ लामा र प्रदेश सभा २ का उम्मेदवार गणेश लामासंगै निर्वाचन कार्यालयमा दिउँसो सवा १ बजे पुगेका थिए।

राप्रपाका जिल्ला अध्यक्ष टुल्कु लामाले उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बताए। ‘पार्टीको केन्द्रीय नेतृत्वको निर्देशन अनुसार नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने गरी पार्टीका सबै उम्मेदवारी फिर्ता लिएका हौं’ लामाले भने।

त्यस्तै राप्रपा (प्रजातान्त्रिक) बाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार वीरबहादुर योञ्जन, प्रदेशसभा १ का भीम सिं तामाङ, प्रदेश सभा २ का चन्द्रमान जिम्बा, प्रतिनिधि सभा क्षेत्र नं. २ का रोहित बादे, प्रदेश सभा ३ का रामकृष्ण सापकोटा र प्रदेशसभा ४ का कृष्णगोपाल पाण्डेले पनि उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृतको कार्यालयका कार्यालय सचिव तिलकबहादुर कार्कीले जानकारी दिए।

राप्रपा (प्रजातान्त्रिक) ले भने पार्टीका सबै उमेदवारले उम्मेदवारी फिर्ता लिए पनि कसलाई सहयोग गर्ने भन्नेमा निर्णय नभइसकेको बताएको छ। पार्टीका जिल्ला सचिव राजेन्द्र केसीले भने ‘पार्टीको तर्फबाट उम्मेदवारी दिएका सबै उम्मेदवारहरुको उम्मेदवारी फिर्ता लिए पनि कसलाई सहयोग गर्ने भन्ने टुंगो लागेको छैन।’

जिल्लाबाट विभिन्न पार्टीका १३ उम्मेदवारले आइतबार उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा १ र २ को गरी ५ जना र प्रतिनिधिसभा २ को प्रदेशसभा ३ र ४ गरी ८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ का नेपाली जनता पार्टीका बाबुराम तामाङ र स्वतन्त्र उम्मेदवार माधवप्रसाद मैनालीले पनि उम्मेदवारी फिर्ता लिएका छन्। यस्तै प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवार ठूले तामाङले पनि नेपाली कांग्रेसलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएका छन्। आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभाको क्षेत्र नं. १ र २ तथा प्रदेशसभा १ देखि ४ सम्मको लागि ७१ जनाले उम्मेदवारी दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.