|

उदयपुर : उदयपुरमा वाम गठबन्धनबाट असन्तुष्ट रहेर बागी उम्मेदवार बनेका सबैको उम्मेदवारी फिर्ता भएको छ। पार्टीनिर्णयमा असन्तुष्टी जनाएर नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेता कार्यकर्ताले दिएको उम्मेदवारी फिर्ता भएको हो।

आइतबार उम्मेदवारी फिर्ता लिने समयमा वाम गठबन्धनबाट असन्तुष्ट रहेर स्वतन्त्र उम्मेदवारी दिनेले फिर्ता लिएको मुख्य निर्वाचन कार्यालयका प्रमुख तेजप्रसाद शर्माले बताए। ‘कुन कुन बागी भन्ने कुरा हुँदैन,’उनले भने, ‘फिर्ता लिनेमा राप्रपाका उम्मेदवार र स्वतन्त्र उम्मेदवार छन्।’

एमालेका पोलिट्व्युरो सदस्य जगन्नाथ खतिवडा र माओवादी केन्द्रका जिल्ला संयोजक समेतले गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए। खतिवडाले एमालेको सूर्य चिन्हबाट उम्मेदवारी दिएका थिए। ‘उदयपुरमा मलाई पनि माओवादी केन्द्र र एमालेको केन्द्रीय कार्यालयले सूर्य चिन्हको उम्मेदवारी दिन पठाएका थिए,’उम्मेदवारी फिर्ता लिदै खतिवडाले भने, ‘अहिले मलाई पार्टी केन्द्रले उम्मेदवारी फिर्ता लिएर माओवादी केन्द्रलाई सहयोग गर्ने निर्देशन दियो, मैले फिर्ता लिएँ।’

यी हुन् फिर्ता लिने बागी उम्मेदवार

प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ बाट एमाले पोलिटव्युरो सदस्य खतिवडा र माओवादी केन्द्रका जिल्ला संयोजक विनोद कटुवाल दिवशले बागी उम्मेदवारी दिएकोमा फिर्ता लिए। प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को त्रियुगा प्रदेशबाट बागी उम्मेदवारी दिने माओवादी केन्द्रका जिल्ला सह संयोजक जीवनकुमार कार्की कुशल र माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य मीनबहादुरज्यू ठकुरीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

कार्यलयका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र २  अन्तर्गतको उदयपुरगढी, सुनकोसी र रौतामाइ प्रदेशबाट माओवादी केन्द्रकी भेषकुमारी राउतले पनि उम्मेदवारी फिर्ता लिएकी छन्। कटारी ताप्ली प्रदेशसभाबाट उम्मेदवारी लिने राप्रपाका सुरेन्द्रकुमार थापा रहेको कार्यालयले जानकारी दिएको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट राप्रपा प्रजातान्त्रिकका गोविन्दबहादुर बस्नेत, नेपाली कांग्रेस विपीका प्रशान्त राईले पनि फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिनेमा वेलका चौदण्डीगढी नगरपालिका प्रदेशसभाबाट नेकपा एमालेका स्वतन्त्र उम्मेदवार कुशलबाबु बस्नेत, राप्रपाका चन्द्रबहादुर विष्ट, राप्रपा प्रजातान्त्रिकका रामप्रसाद गिरी रहेका छन्।

प्रतिनिधि सभा १ कै त्रियुगा प्रदेशसभाबाट राप्रपा प्रजान्त्रिकका विरेन्द्रकुमार अधिकारी, राप्रपाका श्यामकुमार तामाङले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

यसरी मिल्यो माओवादीभित्रको विवाद

एमाले माओवादी केन्द्रको वाम गठबन्धनमा सबैभन्दा बढी असन्तुष्टी जिल्लाको माओवादी केन्द्रभित्र थियो।  गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा पर्ने उदयपुरगढी सुनकोसी र रौतामाई गाँउपालिका प्रदेससभाबाट माओवादी केन्द्रकी नेतृ भेषकुमारी राउतले उम्मेदवारी दिएकी थिइन्। माओवादी केन्द्रकै भागमा परेको त्रियुगा नगरपालिका प्रदेशमा नेता रामबहादुर थापा मगरले उम्मेदवारी दिएका थिए।

लामो छलफलपछि माओवादी केन्द्रले उदयपुरगढी सुनकोसी र रौतामाई गाँउपालिका प्रदेशबाट राउतले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्र उदयपुरका सह संयोजक जीवनकुमार कार्की कुशलले बताए। ‘हामी असन्तुष्ट समूहको तर्फबाट त्यस क्षेत्रमा माओवादी केन्द्रका सह इन्चार्ज नारायणबहादुर मगरलाई उम्मेदवार बनाउने निर्णय गरियो,’ कार्कीले भने, ‘त्रियुगाका मगरले फिर्ता लिन मानेनन्, तर, राउतले फिर्ता लिने शर्तमा माओवादीहरुको बागी उम्मेदवार फिर्ता भयो।’

माओवादीको भागमा परेको त्रियुगा प्रदेशसभाबाट रामबहादुर मगरले फिर्ता लिन मानेनन्। भेषकुमारी राउतको ठाउँमा गठबन्धनको तर्फबाट नारायणबहादुर मगरले स्वतन्त्र चुनाव चिन्हबाट उम्मेदवारी दिने भएका छन्। यता माओवादीभित्रको विवादको बेलामा उम्मेदवारी दिने एमालेका पोलिट्व्युरो सदस्य जगन्नाथ खतिवडाले माओवादीभित्रको विवाद मिलेपछि आफ्नो उम्मेदवारी फिर्ता लिएको स्रोतको दावी छ।

एमालेका एक बागी बेपत्ता

एमालेले आधिकारिक उम्मेदवार बन्न नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका एमालेका जिल्ला नेता होमप्रसाद दाहाल आइतबार बेलुकासम्म सम्पर्कमा रहेनन्। माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेकी भेषकुमारी राउतको विरुद्ध बागी उम्मेदवारी दिने दाहाल फिर्ता लिने समयसम्म नआएको एमाले उदयपुरले जानकारी दिएको छ। उनले सुनकोसी, ताप्ली र रौतामाई गाँउपालिका प्रदेशसभाबाट उम्मेदवारी दिएका थिए। एमाले जिल्ला सचिव परमेश घिमिरले पटक पटक बोलाउँदा पनि नआएको बताए। ‘उहाँआउनु भएन,’उनले भने, ‘उहाँको बारेमा एमालेले निर्णय लिनेछ।’

मुख्य निर्वाचन कार्यालयका सह निर्वाचन अधिकृत रितबहादुर पुलामीका अनुसार दाहालले भगेँरो चुनाव चिन्ह प्राप्त गरेका छन्। यता वाम गठबन्धनबाट स्वतन्त्र उम्मेदवार बनेका नारायणबहादुर मगरले भर्‍याङ चुनाव चिन्ह प्रप्त गरेका छन्।

संयुक्त पत्रकार सम्मेलन

वाम गठबन्धनका दुबै दलको असन्तुष्ट स्वतन्त्र उम्मेदवारले मनोनयन फिर्ता लिएपछि संयुक्त पत्रकार सम्मेलन गरेका छन्। माओवादी केन्द्र उदयपुर र एमाले उदयपुरले एकसाथ पत्रकार सम्मेलन गरी संयुक्त चुनावी अभियानमा जुटेको बताएका छन्। ‘यहाँ कसैको टिकट खोसिएको छैन,’पत्रकार सम्मेलनमा बोल्दै एमालेका पोलिट्व्युरो सदस्य जगन्नाथ खतिवडाले भने 'उदयपुरलाई बामपन्थीहरुको लालकिल्ला बनाउनेछौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.