|

  • भबिन कार्की-

संखुवासभा : १०  मंसिरमा हुने पहिलो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला संखुवासभामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ।  यस पटकको निर्वाचनमा वाम गठबन्धन र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा हुने स्पष्ट देखिएको छ।  संखुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका सदस्यका लागि निर्वाचन हुँदै छ। 

प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट राजेन्द्र गौतम र कांग्रेसबाट दीपक खड्कावीच मुख्य रुपमा प्रतिस्पर्धा हुने देखिएको छ।  नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका गौतम र खड्काबीच ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा संखुवासभा क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा भएको थियो। खड्का विजयी भएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारको खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत भएका थिए।

माओवादी निर्वाचन प्रक्रियामा आएपछि ०६४ को संविधानसभा चुनावमा एमाले र माओवादीले १÷१ क्षेत्र जितेको यस जिल्ला दोस्रो संविधानसभाको निर्वाचन ०७० मा भने दुवै क्षेत्र कांग्रसेले जितेको थियो । 

स्थानीय तहको निर्वाचनमा १० स्थानीय तह रहेको यस जिल्लामा एमाले र कांग्रेसले ५/५ तह जितेका छन्।  २७ हजार १ सय ११ मत ल्याएको एमालेले ५ प्रमुख र ६ उपप्रमुख पद जितेका कारण जिल्ला समन्वय समितिमा एकल समिति गठन गरेको थियो।

खाँदबारी, मादी र चैनपुर नगरपालिका र सभापोखरी, मकालु गाउँपालिकाको प्रमुख र उपप्रमुख त्यसैगरी पाँचखपन नगरपालिकाको उपप्रमुख पद एमालेले जितेको हो।  धर्मदेवि नगरपालिका र चिचिला, भोटखोला, सिलिचोङ गाउँपालिकाको प्रमुख र उपप्रमुख तथा पाँचखपन नगरपालिकाको प्रमुख पदमा जित हासिल गरेको थियो।  उसले २७ हजार ४ सय ६१ मत ल्याएको हो।

त्यसैगरी, केही वडा अध्यक्षमा चित्त बुझाएको माओवादी केन्द्रले ६ हजार ५ सय ६० मत ल्याएको थियो।  बामगबन्धनको मतपरिणाम जोड्दा ३३ हजार ६ सय ७१ मत हुन आउँछ।  यसरी हेर्दा वाम गठबन्धनको कांग्रेसको भन्दा ६ हजार २ सय १० मत बढी देखिन्छ। 

त्यसैगरी, ०७० निर्वाचनको मतपरिणाम एमाले र माओवादीको मत जोड्दा कांग्रेस ७ हजार ६ सय ३ मतले पछि हुन आउँछ। जसमा कांग्रेसको २० हजार ९ सय ६७ मत तथा एमाले र माओवादीको जम्मा २ हजार ६ सय ५० मत आएको थियो।  दोस्रो संविधानसभा निर्वाचनको परिणाम हेर्ने हो भने पनि वाम गठबन्धनको मत अगाडि देखिन्छ। 

उता, ०६४ को पहिलो संविधानसभा निर्वाचन पनि कांग्रेस भन्दा एमाले र माओवादी २५ हजार ९ सय ५५ मतले अगाडि रहेको छ।  सो निर्वाचनमा एमाले र माओवादीलाई जम्मा ४१ हजार ४ सय ५४ मत आएको थियो।  कांग्रेसलाई १५ हजार ४ सय ९९ मत आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.