|

बैतडी : जिल्लाका राजनीतिक दलहरूले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई चुनावी ऐजेण्डा बनाएका छन्।

आफूले जितेमा बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको निर्माण अगाडि बढाउने सम्बद्ध दलका उम्मेदवारले बताउँदै आएका हुन्। सो आयोजनाको काम आफू अर्थराज्यमन्त्री भएको बेला अघि बढेको वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभासदस्य पदका उम्मेदवार दामोदर भण्डारीले बताए।

यो आयोजनालाई अघि बढाउनका लागि स्थिर सरकार आवश्यक रहेको र यसका लागि वाम गठबन्धनलाई जिताउनुपर्ने उनको भनाइ छ। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआर निर्माण अन्तिम चरणमा पुगेकाले यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउन आफूले पहल गर्ने नेता भण्डारीले बताए।

पञ्चेश्वर परियोजना बाँधस्थललाई जोड्ने पाटन–पञ्चेश्वर सडक निर्माण पनि आफ्नै पालामा बहुवर्षीय ठेक्का प्रणालीमा राखेर काम दु्रत गतिमा अघि बढाइएको उनले उल्लेख गरे।

यता लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना नेपाली कांग्रेसले अघि बढाएको र यसबारे आफूले पटक–पटक सदनमा समेत बोलेको बताए।

उक्त आयोजना दुई देशबीचको सहमतिका आधारमा अघि बढ्ने भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला यसले प्राथमिकता पाएको उनको दाबी छ। पञ्चेश्वर परियोजनाको बाँधस्थलसम्म पुग्ने पाटन पञ्चेश्वर सडकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकका पालामा ६२ करोड बजेट विनियोजन भएर काम भइरहेको उनको दाबी छ।

चुनाव नजिक आएका बेला मतदातालाई आफूतिर तान्न सबै दलका उम्मेदवारले आफ्ना एजेण्डबारे गाउँगाउँमा गएर नागरिकलाई सुनाइरहेका छन्। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई चुनावी नारा मात्रै नभएर कार्यान्वयनमा ल्याउन स्थानीय बासिन्दाले आग्रह गरेका छन्।

यस्तै विवेकशील साझा पार्टीले पनि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई चुनावी एजेण्डा बनाएको छ। प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएका नारायणदत्त अवस्थीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडि बढ्यो भने हजारौं नागरिकले रोजगारी पाउने बताए। उक्त आयोजनाको काम अगाडि बढ्यो भने आर्थिक समृद्घि हुने देखिएकाले बैतडीका राजनीतिक दलले अहिले यसलाई चुनावी एजेण्डा बनाएका हु्न्।

मतदातालाई कामको चटारो भए पनि उम्मेदवारलाई मत माग्न हतार भइरहेको छ। लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र अन्य साना दलले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। 

एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भएको छ। उक्त निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारी तीव्र पारेको छ।

निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारीका लागि सरकारी कार्यालय, संस्थान, संस्था र सामुदायिक विद्यालयका शिक्षकको नाम संकलन गर्न शुरु भएको छ। मतदानस्थल अनुगमन, निर्वाचनमा आवश्यक पर्ने भौतिक सामग्री समेत जुटिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। गत असारमा प्रयोगमा भएका मतपेटिका, स्वस्तिक छापलगायतका निर्वाचन सामग्रीलाई पनि तयारी अवस्थामा राख्न लागिएको छ भने मतदानस्थल अनुगमनको कार्य भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.