फिचर

पम्फा भुसालका प्रतिस्पर्धी अमात्य भन्छन् : जनताले फेरि मलाई नै खोजेका छन्
SHARES

कात्तिक २०, २०७४

    काठमाडौं : ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्य सोमबार दिउँसो चुनावी प्रचार कार्यक्रम सकेर १ बजेमात्र घर आइपुगे। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका अमात्य दोस्रो पटक पनि निर्वाचन जित्ने दौडधुपमा छन्। 'म जीवनकालमा एक पटक चुनाव लडेँ। जिते पनि फेरि दोस्रो पटक लड्दैछु। जित्ने निश्चित छ', उनले भने,'म चुनाव उठेपछि जित्छु नै। नजित्ने अवस्था भएको भए म चुनाव नै लड्दिनथेँ।'

    २०७० सालमा उनले चुनाव जित्दा दोस्रो स्थानमा रहेका एमालेका रघुजी पन्तले भन्दा १२ हजार बढी मत ल्याएका थिए। अहिले भने अमात्यका प्रतिस्पर्धी २०६४ सालमा त्यसै क्षेत्रबाट चुनाव जितेकी माओवादी नेतृ पम्फा भुसाल छन्। त्यो पनि एमालेसहितको समर्थनमा। तर अमात्य आफू ललितपुरको विकास गर्न सक्षम भएकाले जनताले विश्वास गर्नेमा ढुक्क छन्। 'सांसद हुदा पनि ललितपुरको विकासमा धेरै काम गरेँ। यहाँका जनताले मलाई विश्वास गरेका छन्, फेरि पनि गर्नेमा ढुक्क छु' उनले भने। 

    सांसद हुँदा जिल्लाको संस्कृतिक सम्पदाको संरक्षण र भत्किएका सम्पदाको जिर्णोद्धार आफूले गरेको मुख्य काम भएको अमात्यले स्मरण गरे। 'हुन त एउटा सांसदले के नै गर्न सक्छ र! तर पनि मैले यहाँको कला संस्कृति सम्पदाको संरक्षणमा धेरै काम गरेँ। मैले लोप हुन लागेका बाजागाजाको संरक्षण गरेँ। गाउँ गाउँमा मन्दिर बनाएँ। गुठीको भवनहरु बनाएँ' उनले भने। 

    उनले पूर्वाधार विकासका कामहरु पनि केही गरे। 'बाटो निर्माण, अन्य भौतिक संरचना निर्माणमा पनि त्यतिकै योगदान गरेँ' अमात्यले भने। उनले अाफ्नो संसद विकास कोषको रकमबाट दलित, महिला तथा उत्पीडनमा परेको वर्गको उत्थानमा खर्च गरेको बताए। ललितपुरलाई सफा राख्न धेरै प्रयत्न गरेको अमात्य दावी गर्छन्। यद्यपी आफूले कामको प्रचार नगरेको पनि उनको दावी छ। 'हामी अरु जस्तो छैनौं। आफूले गरेको कामको प्रचार गर्न जान्दैनौं। मलाई त झनै प्रचार गर्न लाज पो लाग्छ' अमात्य भन्छन्।

    अबको योजना के छ?

    ललितपुरलाई सुन्दर र ब्यवस्थित बनाउने उनको ठूलो सपना छ। 'ललितपुरलाई सफा शहर बनाउने पूर्वाधारयुक्त सहर बनाउने योजना छ। सम्पदाको राजधानी बनाउने हाम्रो धोको छ' उनले भने। आफू निर्वाचित भएमा ललितपुर जिल्लालाई संस्कृतिक तथा पर्यटकीय जिल्ला बनाउने उनको लक्ष्य छ। उनी भन्छन्,'पुरातात्विक, र सांस्कृतिक सम्पदाहरु धेरै छन् यहाँ। यो जिल्ला संस्कृतिले नेपालकै धनी जिल्ला हो।'

    ललितपुरको विकासमा सरकारको मुख नताक्ने अमात्यको लक्ष्य छ। 'ललितपुरको विकासमा सरकारको मुख ताक्नुपर्दैन। किनकी यहाँको विकास र पर्यटन प्रवर्द्धन गर्न विदेशबाट धेरै सहयोगहरु आउँछन्'उनले भने, 'अहिले पनि विदेशबाट सहयोग गर्न धेरै इच्छुक छन्। हाम्रो महानगरपालिकाका मेयर अहिले विदेश जानुभएको छ। उहाँले पनि वैदेशिक लगानीहरु भित्र्याउदै हुनुहुन्छ, हामी उहाँसंग सहकार्य गरेर काम गर्छौं।' ललितपुरले फेरि एक पटक आफूलाई खोजेको अमात्यको दावी छ। उनले भने,'अघि पनि भने हामीलाई प्रचार गर्न आउँदैन। तर अब मैले जितेको ६ महिनापछि यहाँको विकास देखिन्छ।'

    चुनाव जित्नेमा ढुक्क

    उनी ललितपुर–३ मा यस पटक पनि निर्वाचन जित्नेमा ढुक्क छन्। 'फेरि एक पटक मलाई ललितपुरले चाहेको छ' अमात्य भन्छन्,'ललितपुरवासीले मैले गरेको कामको मूल्यांकन गरेका छन्।' वाम गठबन्धनकी साझा उम्मेदवार पम्फा भुसालसँग आफ्नो कुनै प्रतिस्पर्धा नभएको अमात्यको दावी छ। भन्छन्,'पम्फासंग मेरो कुनै प्रतिस्पर्धा छैन। २०७० को निर्वाचनको मत परिणाम हेर्ने हो भने पनि वाम गठबन्धनको दुई जनाको मत भन्दा मेरो मत धेरै छ।'

    भुसाल ललितपुरको स्थायी वासिन्दा नभएकाले पनि आफूलाई चुनाव लड्न धेरै सहज भएको उनी बताउँछन्। उनी भन्छन्,'पम्फा यहाँकी वासिन्दा होइन, आगन्तुक हो। यहाँको र मेरो काम गर्ने शैली पनि धेरै फरक छ। उहाँ जनताको काम गर्दा पनि पैसा लिनुहुन्छ। उहाँको पार्टीलाई पैसा चाहिन्छ। उहाँको बारेमा नराम्रो हल्ला छ। उहाँलाई ललितपुरमा स्थापित नेता भन्न मिल्दैन।'

    कम्युनिष्टको भोट पनि मलाइ नै आउँछ

    अमात्य यस पटक आफूलाई कम्युनिस्टले पनि भोट हाल्नेमा विश्वस्त छन्। आफू पनि कम्युनिस्ट पृष्ठभूमिबाट आएका कारण कम्युनिस्टले भोट हाल्छन् भन्ने विश्वासमा छन् उनी। २०२२ सालतिरको कुरा हो। मकवानपुरमा जन्मिएका अमात्य सानै उमेरमा घर नजिकै भीमफेदीमा रहेको एक लाइब्रेरीमा जाने गर्थे। त्यहाँ कम्युनिस्टका किताब थिए। अमात्य त्यही लाइब्रेरीमा पुस्तक पढ्न नियमित जान्थे। उनी कम्युनिस्ट विचारबाट प्रभावित भए। १६ वर्षकै उमेरमा २०२३ सालमा उनले अखिलको सदस्यता लिएर औपचारिक रुपमा कम्युनिस्ट राजनीतिमा लागेका थिए। २०२४ सालमा एसएलसी पास गरेर उनी ललितपुरमा पढ्न आए। ललितपुर आएर उनले धेरै कम्युनिस्ट आन्दोलनहरुमा सहभागिता जनाए। उनी ललितपुरमा अखिलको पहिलो जनसेक्रेटरी पनि भए।

    तर उनलाई वामपन्थी आन्दोलनमा विश्वास लागेन। उनले भने,'मैले कम्युनिस्ट आन्दोलनमा धेरै संघर्ष गरेँ। तर वामपन्थी नेताको विश्वास लागेन। मैले कम्युनिस्ट छाडेँ र २०२७ साल वैशाख १ गते कांग्रेसमा प्रवेश गरेँ।' उनलाई राजनीतिमा लाग्दै घर परिवारको कुनै सहयोग मिलेन। बुबा हरिबहादुर र आमा रुक्मिणी मकवानपुरमा व्यवसाय गर्थे। उनलाई पनि राजनीति भन्दा व्यवसायमा लाग्न परिवारको धेरै दबाव थियो। तर उनी मानेन। अमात्य हाल नेपाली कांग्रेस ललितपुरको सभापति छन्।

    उनी यस पटक कम्युनिस्टको भोट तान्ने बताउँछन्। 'म कम्युनिस्ट विचारबाट आएको भएर पनि कम्युनिस्टहरुले मलाई भोट हाल्छन्।' ललितपुरमा कम्युनिस्ट भन्दा पनि काम गर्ने मान्छेको रुपमा जनताले आफूलाई जिताउनेमा उनी ढुक्क छन्। 'यहाँ यो कम्युनिस्ट भनेर भोट हाल्दैन। जनताले त काम गर्नेलाई हेर्छन्। त्यसमा म योग्य छु' उनले भने।

    ललितपुरमा वामपन्थी भन्ने कोही पनि नरहेको उनको दाबी छ। 'ललितपुरमा कोही वामपन्थी भन्ने छैनन्। खाली कांग्रेसले संगठन बनाएन। ललितपुरको विकासमा लागेन। त्यसकारण कम्युनिस्टलाई भोट हालेका हुन्',अमात्यले भने,'अहिले त मैले टोल–टोलमा गएर संगठन विस्तार गरेको छु। यो ठाउँको विकास गरेको छु।'

    यो पनि पढ्नुहोस् : पम्फा भुसालको चार दशक लामो राजनीतिक यात्रा, भन्छिन्- बाँकी जीवन पनि जनताको सेवा गर्छुु

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरका लागि राजनीति, साहित्य र समाजबारे लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]