|

दाङः मानवअधिकारवादी कृष्ण पहाडीले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई बाहुबल र धनबलबाट मुक्त गर्नुपर्ने बताएका छन्। 

मानवअधिकार तथा शान्ति समाज दाङले तुलसीपुरमा आयोजना गरेको नागरिक सेतु कार्यक्रमलाई सम्बोधन गर्दै उनले धनबल र बाहुबलमुक्त गर्न नसके विद्रोह निम्तन सक्ने चेतावनी दिए।

डन प्रवृत्तिका कुनै पनि उम्मेदवारलाई पराजित गर्नुपर्नेमा जोड दिँदै पहाडीले काभ्रे र मनाङमा डनलाई उम्मेदवार बनाएर राजनीतिक दलले ठूलो गल्ती गरेको बताए। आसन्न निर्वाचन नेपालको लोकतन्त्रका लागि सुखद पक्ष भएको बताउँदै उनले निर्वाचनलाई भाँड्ने प्रयास नगर्न आग्रहसमेत गरे। 

‘जनताले निर्वाचन चाहेका छन्, त्यो कुनै पनि हालतमा रोकिनेवाला छैन’, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई इंगित गर्दै पहाडीले भने, ‘कुनै पनि हालतमा चुनाव बिथोल्नुहुँदैन, त्यसो भयो भने आफैँ सकिनुपर्ने हुन्छ।’

गठबन्धनलाई नजरअन्दाज नगर्न आग्रह गर्दै उनले भिडन्तलाई अन्त्य गर्दै सहमतिको बाटोमा अघि बढ्नुपर्ने बताए। राजनीतिक दलहरूलाई उत्तेजनामा नआई दिमागमा बरफ जमाएर बस्नुपर्ने भन्दै उनले सहमतीय पद्धति टुटेमा देश दुर्घटनामा जाने जिकिर पनि गरे। स्वतन्त्रता, स्वाभिमान र मानवअधिकालाई केन्द्रमा राखेर सहमतिअनुसार अघि बढ्नुपर्ने भन्दै खानको लागि नभई देशको हितका लागि सहमति गर्न आवश्यक रहेको उनले औँल्याए।

अगाडि आउने नाममा भारत, चीन विरोधीका कुरालाई अघि सारेर सफल भए पनि त्यो छ महिना टिक्न नसक्ने पहाडीले ठोकुवा गरे। अर्को एक प्रसंगमा पहाडीले माओवादीले कब्जा गरेका घर जग्गा फिर्ता गर्नुपर्ने भन्दै आगामी दिनमा पनि त्यस्तो कार्य नगर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा श्रम तथा रोजगारमन्त्री डिल्लीबहादुर चौधरीले आफूहरूले बाटो बिराएमा बाटो देखाइदिन आग्रह गरे। ‘राजनीतिक दलले बाटो बिराउन सक्छन्, त्यसका लागि यहाँहरूले सजग गराउनुपर्छ’, मन्त्री चौधरीले भने। वाम गठबन्धनदेखि नेपाली कांग्रेस नडराएको भन्दै जसले जुटायो उसैले फुटाउने दाबी पनि उनले गरे। उनले गठबन्धन धेरै दिन नटिक्ने ठोकुवा गरे।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति डा. गंगाधर अधिकारीले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न देश दौडाहमा हिँडेको बताए। वाम गठबन्धलाई देखाएर मुलुकलाई सैनिकीकरणमा धकेल्न खोजे त्यो आफैँ समाप्त भएर जाने उनले बताए। लोकन्त्रलाई कसैले खोस्न नसक्ने भन्दै खोसे पनि तीन महिना टिक्न नसक्ने अधिकारीको दाबी थियो।

नेपाली कांग्रेसका जिल्ला सभापति कृतिबहादुर खड्का, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य पदम केसी, माओवादी केन्द्रका शेशुराम भण्डारी, मानवअधिकार तथा शान्ति समाजका संस्थापक सदस्य कृष्ण कँडेल, नेपाल कम्युनिष्ट पार्टीका विकास वली, हंसराज केसी, जनमुक्ति पार्टीका रवीन्द्र उच्च नेपाली, मानवअधिकार तथा शान्ति समाज दाङका संस्थापक सभापति डिल्लीराज धिताल, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष वीरु रावत, अधिवक्ता मोहन धिताल, पत्रकार सुशील बस्नेत, विजय पौडेल, सुष्मा गिरी, खुमानन्द अधिकारी, हुमकान्त कँडेललगायतले बोलेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.