|

काठमाडौं : आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा मुलुकका सबै क्षेत्रका व्यक्तिलाई यसले उत्साही तुल्याएको छ।  तर निजी क्षेत्रका अधिकांश उद्यमी व्यवसायी भने गुप्तवास बस्न थालेका छन्।

विगत वर्षहरूमा जस्तै यसपटक पनि डर र धम्की देखाएर चन्दा असुल्ने भयले उनीहरू राजनीतिक दलहरूको सम्पर्कबाट टाढै बस्न खोजेका हुन्। उद्यमी व्यवसायीहरू चुनावी माहोलमा रमाउन नसकिरहेको बेला राजनीतिक दलहरूले भने चन्दाको शैली परिमार्जन गरी केही लचिलो बन्ने प्रयास गरेका छन्। उनीहरूले विगतमा जसरी डर र धम्कीपूर्ण तरिकाले नभई स्वेच्छिक रूपमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरिरहेका छन्।

निजी क्षेत्रका उद्यमी व्यवसायीहरूको संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष हरिभक्त शर्माले जथाभावी रूपमा चन्दा माग गर्ने परिपाटीको अन्त्य गरी यसलाई कानुनी दायरामा ल्याउन आवश्यक भएको बताए। ‘दलहरूले आफ्नो विधानमा नै आयस्रोतका रूपमा चन्दालाई नै देखाएकाले उनीहरूले चन्दा माग गर्नु स्वाभाविक नै हो,’ उनले भने ‘यद्यपि यसलाई पारदर्शी बनाई कसले कति लियो र कसले कति दियो भन्ने प्रस्ट व्यवस्था हुनुपर्छ।’

यद्यपि दलहरूले निजी क्षेत्रको भावना नबुझी विगतमा जस्तै बेहिसाबमा चन्दा माग गर्न भने नहुने उनको प्रस्ट दृष्टिकोण छ। विगतमा चन्दाका लागि बढी नै दबाब आउने गरेकोमा यसपटक त्यसको शैली भने बदलिएको उनले सुनाए। ‘चन्दा माग गर्नेहरूको चाप निजी क्षेत्रमा धेरै नै रहेको भए पनि दलहरूको शैली भने फेरिएको छ,’ शर्माले भने, ‘यसले चन्दा दिनैपरे पनि एकखालको सकारात्मक प्रभाव पार्छ।’

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकारले पछिल्ला दिनमा चन्दा माग गर्नेहरू बढेको भन्दै यसलाई व्यवस्थित बनाइनुपर्ने आवश्यकता औंल्याए। ‘दलहरूले चन्दा माग गर्नु स्वाभाविकै हो,’ मालाकारले भने, ‘चन्दाको नाममा अदृश्य रूपमा नभई पारदर्शी रूपमा कारोबार हुनुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.