|

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा सर्वाधिक कमाइ गर्ने फिल्म हो छक्का पञ्जा। यस फिल्मकी निर्देशक हुन् कलाकार दीपाश्री निरौला। लामो समय टेलिसिरियल 'तीतो सत्य'मा कलाकार दीपकराज गिरीसँग निर्माण र निर्देशनमा सहकार्य गरेकी उनले 'छक्का पञ्जा'बाट आफूलाई अब्बल निर्देशकको रूपमा स्थापित गरिन्।

दीपाको निर्देशन यात्रा यतिमै रोकिएन। एकवर्षभित्रै उनको निर्देशनमा दोस्रो फिल्म पनि आयो 'छक्का पञ्जा २।' हाल प्रदर्शनरत फिल्म 'छक्का पञ्जा २'ले पनि राम्रो व्यापार गरिरहेको छ। दीपाले नेपाली फिल्म क्षेत्रमा महिलाले निर्देशन गरेका फिल्म पनि सफल हुन्छन् भन्ने प्रमाणित गरिन्। 

फिल्ममा निर्देशक भन्नेबित्तिकै पुरुषकै चित्र आउने समयमा आफूले त्यस्तो प्रवृत्ति हटाएको दीपा बताउँछिन्। उनको विचारमा फिल्म निर्देशनमा महिला वा पुरुष हुनुले केही फरक पार्दैन।

पच्चिस वर्ष लामो अभिनय अनुभवले आफुलाई निर्देशक बन्ने आँट दिएको बताउने दीपा महिला निर्देशक आफैले आफूलाई फिल्म निर्देशकको रुपमा दह्रो बनाउन सक्नुपर्ने तर्क गर्छिन्। 'दर्शकले दिनुभएको माया र मेरो टिमको सहकार्यले मैले आफूलाई स्थापित गर्न सकेकी हुँ' उनले भनिन्। 

नेपालमा महिलाले फिल्म निर्देशन सुरु गरेको १६ वर्ष भइसकेको छ। नेपालमा पहिलो महिला निर्देशकको परिचय बनाएकी छन् सुचित्रा श्रेष्ठले।२०५८ सालमा 'प्रेमयुद्ध' निर्देशन गरेकी उनले फिल्म क्षेत्रमा पुरुषमात्र निर्देशक रहेका बेला आफ्नो उपस्थिति जनाएकी थिइन्। धेरै टेलिसिरियल निर्देशन गरिसकेकी उनले आफ्नो दोस्रो फिल्मको रूपमा 'को कसको' निर्देशन गरिन्। तर दुबै फिल्मले राम्रो व्यापार भने गर्न सकेनन्।

फिल्मले सफलता पाउनु, नपाउनु पछिको कुरा। तर फिल्म निर्देशकको रुपमा महिलाको उपस्थिति हुनु नै ठूलो कुरा थियो सुचित्राको समयमा। निर्देशक बन्ने सोचले फिल्म क्षेत्रमा प्रवेश गरेकी उनलाई सुरुमा घरबाट नै अवरोध भयो। 

'मलाई घरमा कन्भिन्स गर्न धेरै गाह्रो भयो', उनले विगत सम्झिइन् 'हामी जुन सोसाइटीमा रहेर काम गरिरहेका हुन्छौं, त्यही सोसाइटीले नै हामीलाई पछि धकेलिरहेको हुन्छ। मेरो काममा पनि खुट्टा तान्ने धेरै थिए।' हाल सुचित्रालाई नेपाली फिल्म क्षेत्रले निर्देशकको पहिचान दिइसकेको छ। उनी २०७३ सालमा चलचित्र निर्देशक संघको अध्यक्ष पदमा निर्वाचित भएकी छन्।

अर्की अभिनेत्री झरना थापा पनि यसवर्ष निर्देशकको रुपमा चिनिइन्। लामो समय अभिनेत्रीको भूमिकामा रहेकी उनले यही वर्ष प्रदर्शनमा आएको फिल्म 'ए मेरो हजुर २' निर्देशन गरिन्। फिल्म सफल मात्र भएन, उनको कामको समेत तारिफ भयो। उनको निर्देशकीय पक्षलाई पनि दर्शकले रुचाए। अहिले झरना नयाँ फिल्म 'भागवत गीता' र 'ए मेरो हजुर ३' निर्देशनको तयारीमा छन्। 

दीपा बस्नेत पनि महिला फिल्म निर्देशनमा अग्रपंक्तिमा आउने नाम हो। ओस्कार कलेज अफ फिल्म स्टडिजबाट आफ्नो स्नातक सकेकी उनले पहिलो फिल्मको रूपमा 'अन्तराल' निर्देशन गरिन्। त्यसपछि उनले फिल्म 'श्री पाँच अम्बरे' निर्देशन गरिन्। तर दुबै फिल्मको चर्चा राम्रै चले पनि खासै राम्रो व्यापार भने गर्न सकेनन्। भिडियो सम्पादनमा लामो समय अनुभव बटुलेकी उनी राम्रो भिडियो सम्पादक पनि हुन्।

​अभिनेत्री रेखा थापा पनि फिल्म निर्देशक बनेको केही वर्ष भइसक्यो। रेखाले आफैले निर्माण गरेको फिल्म 'हिम्मतवाली' आफैले निर्देशन गरेकी थिइन्। यस फिल्मको लगभग आधा छायांकन श्याम भट्टराईको निर्देशनमा सकिएको थियो तर रेखा र श्यामबीच मनमुटाव भएपछि श्यामलाई हटाएर रेखा आफै निर्देशक  बनिन्। त्यसपछि पनि रेखाले फिल्म त बनाइन्, तर निर्देशकको रुपमा दोहोरिन सकिनन्। 

दोहोरिएर निर्देशन गर्न नसकेका महिला निर्देशकमा रेखा थापासँगै रक्षासिंह राणा, सावित्री खत्री, सवनाम मुखिया, सब्बु सुवेदी र अनिला खड्का लगायत पनि पर्छन्। रक्षासिंह राणाले 'द गेम', सावित्री खत्रीले 'काफल पाक्यो', समुन्द्र भट्टले 'रिङ रोड', सवनाम मुखियाले 'झेली', सब्बु सुवेदी र अनिला खड्काको सहकार्यमा 'चलेछ बतास सुस्तरी' निर्देशन गरेका थिए। 

त्यस्तै, 'मेघा' सम्झना रौनियारको निर्देशनमा तयार भएको फिल्म हो। केही नेपाली फिल्ममा सहायक निर्देशकको भूमिका निर्वाह गरेकी उनले बलिउड फिल्ममा पनि सहायक निर्देशकको अनुभव बटुलिसकेकी छन्। उनले करिश्मा मानन्धरको निर्माण रहेको फिल्म 'फागु' पनि निर्देशन गरेकी छन्।

निलु डोमा शेर्पाले पनि फिल्म 'हाउ फन्नी' निर्देशन गरेकी थिइन्। तर निलुको केही समयअघि हृदयघातको कारण मृत्यु भइसकेको छ। निलुले एउटै फिल्म निर्देशन गरेर भए पनि आफुलाई निर्देशकको रुपमा चिनाउन सफल भएकी थिइन्।

अहिले पनि नेपालमा महिला फिल्म निर्देशकको पहिचान बनाउनेहरु औलामा गन्न सकिने मात्र छन्। धेरै महिलाहरु अझै कलाकार र फिल्म निर्माणको सहायक भूमिकातिर मात्र छन्। सुचित्राका अनुसार फिल्म निर्देशनमा महिला पछि पर्नुमा प्रविधिको ज्ञान धेरै नहुनु नै मुख्य कारण हो। 

'महिलाहरु प्रविधिसँग त्यति नजिक भएर काम गर्दैनन्। प्रविधिसँग घुलमिल हुन दिनरात घर बाहिर बसेर काम गर्नुपर्ने हुन्छ, हाम्रो सोसाइटीमा महिलालाई त्यो अलाउड छैन' उनले महिला निर्देशक पछि पर्नुको कारण खुलाइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.