|

  • पेमा लामा

काभ्रे : जनताको भोटलाई वस्तुलाई जसरी खरिद नगर्न राजनीतिक दलहरुलाई प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आग्रह गरेका छन्।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा मंगलबार आयोजित ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भने, 'जनताको अमूल्य मतलाई खरिदबिक्री तथा वस्तु विनिमयको साधन जस्तो नबनाउन राजनीतिक दलहरुसँग आग्रह  गर्दछु।'

जनताको मत लोकतन्त्रको आधार भएकाले मतको सुरक्षा गर्नु सबैको दायित्व रहेकोमा जोड दिँदै डा. यादवले भने, 'जनताको मतलाई मतदान केन्द्रबाट मतगणनासम्मको प्रक्रिया पूरा गर्दासम्म सुरक्षित राख्न सबैको सहयोग आवश्यक रहेको छ।'

त्यस्तै, प्रमुख निर्वाचन आयुक्त डा. यादवले कर्मचारी युनियनहरुको दबाबमा निर्वाचनमा कसैलाई पनि नखटाउन मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीहरुलाई निर्देशन दिएका छन्। उनले निर्वाचनमा गलत कार्य गर्ने जो सुकैलाई पनि नछाड्ने बताए।

डा. यादवले उम्मेदवारहरुलाई सार्वजनिक स्थलहरुमा चुनावी प्रचारप्रसार सामग्री नराख्न आग्रह गरेका छन्। उनले भने, ‘महानगर तथा नगरलाई आजैबाट सफा राख्नका लागि म प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र नगरपालिकालाई आग्रह गर्नु चाहन्छु।’

चुनावी प्रचारका क्रममा जथाभावी पम्पलेट टाँस्न नदिन निर्देशन दिँदै यादवले भने, ‘नगरको सभ्यता जनताको सम्पत्ति भएकाले फोहोर गर्न नदिनुस्।’ उनले सार्वजनिकस्थलमा चुनावी प्रचार सामग्री राखेको टुलुटुलु हेरेर नबस्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

निर्वाचनमा प्रचारप्रसारको बोर्ड, ब्यानर, झण्डा र पोष्टरहरु राख्न सक्ने भएकाले त्यस्ता वस्तुहरुलाई महानगर र नगरभित्र राख्न नलागउन सम्बन्धीत पक्षलाई उनको आग्रह थियो। त्यस्तै निर्वाचनमा खटिने कर्मचारीहरुलाई कामप्रतिको प्रतिबद्धता, विश्वास र निरन्तरताका लागि मतदान र मतगणना प्रशिक्षण राखिएको यादवले बताए।

प्रशिक्षण कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नवराज ढकालले मतदानको प्रक्रियामा केही परिमार्जन भएकाले त्यसमा ध्यान दिन सबै कर्मचारीहरुलाई आग्रह गरे।  ‘मतपत्रमा भएको डिजाईन र मतदान प्रक्रियामा भएको लेआउटको परिवर्तनको वारेमा मतदान अधिकृत र सहायक मतदान

अधिकृतलाई थप प्रशिक्षण गराउनुपर्ने भएको छ’, ढकालले भने, ‘त्यससंगै ४ सय भन्दा बढीको संख्यामा विदेशी पर्यावेक्षकहरु पनि आउने भएकाले उहाँहरुले हेर्न विषयमा ध्यान दिन आग्रह गर्दछु।’ विशेष गरेर मतदानस्थलको व्यवस्थापनलाई विशेष ख्याल गर्न ढकालले आग्रह गरे।

दुई दिनसम्म चल्ने प्रशिक्षणमा काभ्रेपलाञ्चोकलगायत, काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रौतहट, पर्सा, चितवन, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप र सिन्धुली गरी १७ जिल्लाका ८१ जना अधिृकतहरुको सहागिता रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.