|

काठमाडौं: आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी वाम गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा सडक पुर्‍याउन सम्भव नभएको ठाउँमा केबलकार पुर्‍याउनेदेखि घरविहीन सुकुम्बासीलाई घर उपलब्ध गराउनेसम्म समावेश भएको छ।

गठबन्धनले मंलबार संयुक्त रूपमा सार्वजनिक गरेको घोषणापत्रमा सडक पुर्‍याउन असम्भव उच्च हिमाली क्षेत्रमा केबलकार वा वैकल्पिक यातायातको व्यवस्था गरिने उल्लेख छ। यस्तै घरबारविहीन सुकुम्बासी, पूर्व कमैया/कमलरी, पूर्व हलियादेखि विपन्न तथा पछाडि परेका वर्गको उत्थानका लागि पाँच वर्षभित्रमा घर उपलब्ध गराउने उल्लेख गरिएको छ। यस्तै सातवटै प्रदेशको केन्द्रमा आधुनिक किसिमको विमानस्थल निर्माण गरिने र प्रत्येक नगरपालिका र गाउँपालिकाको केन्द्रमा हेलिप्याड निर्माण गरिने गठबन्धनमा अावद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ। 

समावेशी विकासमा जोड

घोषणापत्रमा पछाडि परेको वर्ग, समुदाय र महिलालाई समावेश गरेर समावेशी विकास गर्नेमा जोड दिइएको छ। महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरी रोजगारमा प्राथमिकता दिइनेदेखि कुरीति र अन्धविश्वासको अन्त्य गर्ने विषयलाई घोषणापत्रमा प्राथमिका दिइएको छ। विभिन्न जातिको भाषा, संस्कृति र परम्पराको संरक्षण गर्न राज्यबाट विशेष कार्यक्रम सञ्चालन गरिने घोषणापत्रमा उल्लेख गरिएको छ। तराईका दलित तथा पिछडिएको वर्गको आयआर्जनका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै तराईवासी महिलाको उत्थानका लागि एक घर एक महिला रोजगार कार्यक्रम तत्काल लागू गरिने घोषणापत्रमा उल्लेख गरिएको छ।

कर्णाली क्षेत्रमा खाद्यान्न र स्वास्थ्य सेवाको अधिकार प्रत्याभूत गर्दै कर्णाली क्षेत्रको प्राकृतिक सम्पदाको विकास गरिने घोषणापत्रमा समावेश गरिएको छ। 
दलित समुदायमा रहेको पुर्ख्यौली पेसालाई आधुनिकीकरण गरिने घोषणापत्रमा उल्लेख छ। दलित समुदायका बालबालिकालाई छात्रवृत्तिसहित उच्च शिक्षामा निःशुल्क अध्ययनको व्यवस्था मिलाइने बताइएको छ। जातीय विभेद तथा छुवाछुत गर्नेलाई आजीवन श्रमसहित कारावासको सजाय व्यवस्था गर्ने वाम गठबन्धनको घोषणापत्रमा उल्लेख गरिएको छ। 

काठमाडौंमा विद्युतीय वाहन

वाम गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा काठमाडौंको विकासमा पनि जोड दिइएको छ। काठमाडौं, भक्तपुर र ललितपुरलाई अत्याधुनिक शहर निर्माण गर्नेदेखि फोहोर तथा धूलोमुक्त शहर बनाइनेसम्मको उल्लेख गरिएको छ। गठबन्धनले सरकारको नेतृत्व गरेको दुई वर्षभित्र काठमाडौंमा पेट्रोलियम वाहनलाई विद्युतीय वाहनमा प्रतिस्थापन गरिने उल्लेख गरिएको छ। वागमती, विष्णुमती, मनोहरा र हनुमन्ते नदी र खोलाहरूलाई सफा फोहोर तथा ढल मिसाउन नपाइने कानुन बनाइने बताइएको छ।

उपत्यकालाई सुन्दर स्वच्छ स्वास्थ तथा पर्यावरणमैत्री एेतिहासिक सम्पदाको शहरका रूपमा विकास गर्ने तथा काठमाडौं, ललितपुर र भक्तपुरलाई एकीकृत शहरका रूपमा विकास गर्ने गठबन्धनले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ।

द्वन्द्वबाट क्षतिग्रस्त भौतिक संरचनाको तीन वर्षभित्र पुनर्निर्माण गरिने उल्लेख गरिएको छ। यस्तै एक वर्षत्रिभमा नेपालका ग्रामीण क्षेत्रको खोलामा रहेको तुइनलाई विस्थापित गर्दै झोलुंगे पुल निर्माण गरिने उल्लेख छ। गठबन्धनको घोषणापत्रमा गठबन्धनले सरकारको नेतृत्व गरेको एक वर्षभित्र स्वदेशी सामग्री र स्थानीय मजदुरको व्यवस्थापन गर्दै भूकम्पपीडित, बाढीपीडित र पहिरोपीडितको घर निर्माणमा सहयोग गर्ने उल्लेख छ। 

मिडियामा विदेशी लगानी निषेध

गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा सूचना प्रविधिसँगै प्रेस स्वतन्त्रताका बारेमा समेत उल्लेख गरिएको छ। पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्र लागू गर्दै आमसञ्चारलाई निष्पक्ष, व्यावसायिक, उत्तरदायी र जिम्मेवार उद्योगका रूपमा विकास गर्दै नेपालका मिडियामा प्रत्यक्ष वा परोक्ष रूपमा विदेशी लगानी निषेधित गर्ने उल्लेख छ। सामाजिक सञ्जाल र अनलाइन मिडियालाई आमजनताको चेतना अभिवृद्धिका नम्ति सदुपयोग गर्ने किसिमको बनाइने उल्लेख छ। 

सबै विद्यालय, प्रशासनिक भवन, सभा भवन, स्वास्थ्य चौकी, हुलाक कार्यालय र सेवा केन्द्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने घोषणापत्रमा उल्लेख गरिएको छ। मातृभाषामा प्रकाशन तथा प्रसारण हुने पत्रपत्रिका र रेडियोलाई अनुदानको व्यवस्था गरिने वाम गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.