साहित्य

वललाई एक लाखको पुरस्कार, आचार्यलाई सम्मान
SHARES

कात्तिक २२, २०७४

    काठमाडौंः नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको छ। 

    शनिबार बेलायतको हाइवेकममा प्रतिष्ठानकी नवनिर्वाचित अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले स्रष्टा वेणु आचार्यलाई ‘प्रतिभा सम्मान’ र युवा स्रष्टा फूलमान वललाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो। सम्मानमा बीस हजार रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख रुपैयाँ नगद राशि र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ।

    वि. सं. १९९८ मंसिर १९ गते भोटेछाप, तेह्रथुममा जन्मिएका आचार्यले ०१८ सालतिरबाट कविता लेख्न थालेका हुन्। उनका ‘असमान यी धर्तीका तस्बीरहरू’ र ‘एक चोक्टा इतिहास’ गरी दुई कविता र एक मुक्तकसंग्रह प्रकाशित छन्। उनले ‘छाया’, ‘प्रेरणा’, ‘जनजागृति’, ‘कोसीका कोसेली’ जस्ता साहित्यिक संकलन एवं पत्रिकाको सम्पादनसमेत गरेका छन्। 

    आचार्यलाई नेपाली कविताका क्षेत्रमा विशिष्ट योगदान पु¥याएवापत ‘प्रतिभा सम्मान’ प्रदान गरिने प्रतिष्ठानले जनाएको छ। 

    यसैगरी वि. सं. २०३६ असोज १२ गते तिमाल, काभ्रेमा जन्मिएका वलका ‘काजोल खातुन’ कथासंग्रह, ‘महाभारतकी मैच्याङ’ कवितासंग्रह र ‘म्हेन्दोमाया’ नाटक प्रकाशित छन् भने उनले दुई वृत्तचित्रका अतिरिक्त ‘नीरफूल’ नामक चलचित्रको लेखन तथा निर्देशन गरेका छन्। 

    कविता, कथा, नाटक, चलचित्र आदिका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा उल्लेखनीय योगदान पुर्‍याएवापत स्रष्टा वललाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको हो।

    सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ सिक्किम र भागीरथी श्रेष्ठ सम्मानित भइसकेका छन्। यसैगरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी र टीका चाम्लिङ पुरस्कृत भइसकेका छन्।

    बैठकले संस्था स्थापनाको एक दशक पुगेको विशेष अवसरमा भाषा, साहित्य तथा सांगीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत संगीत साधना प्रतिष्ठान, नेपाल (इटहरी, सुनसरी), सुदूर पश्चिमाञ्चल साहित्य समाज (धनगढी, कैलाली) र स्व. पारशमणि प्रधान शालिक संरक्षण समिति (सिलगुडी, पश्चिम बंगाल, भारत) लाई विशेष सम्मान गर्ने निर्णय गरेको महासचिव मिजास तेम्बेले बताएका छन्।

    यसैबीच शनिबार नै सम्पन्न प्रतिष्ठानको तेस्रो सम्मेलनले दीपा लिम्बू राईको अध्यक्षतामा गणेश राई र टंक वनेम उपाध्यक्ष, मिजास तेम्बे महासचिव, नरेश नाति सचिव, अन्जु अन्जली सहसचिव, देवेन्द्र खेरेस कोषाध्यक्ष र चोक गुरुङ सहकोषाध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ। 

    सम्मान तथा पुरस्कार जनवरीको अन्तिम साता राजधानीमा एक समारोहको आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष देवेन्द्र खेरेसले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]