|

  • रमेश तिमल्सिना-

रौतहटः गौर अस्पतालका इमरजेन्सी इन्चार्ज प्रवीण झालाई नगद एक लाख रुपैयाँ घुससहित मंगलबार अख्तियारले नियन्त्रणमा लिएको छ। 

गौर अस्पतालको मर्मत सम्भार गरेका ठेकेदारसँग लिएको उक्त रकमसहित इमरजेन्सी इन्चार्ज झालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले नियन्त्रणमा लिएको हो।

आयोगको क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले झालाई एक लाख रुपैयाँ नगदसहित कार्यकक्षबाटै पक्राउ गरेको बताएको छ। जिल्ला अस्पताल गौरमा मर्मत तथा रङरोगनको ठेक्का दिलाउन सहयोग गरेवापत लेनदेनको सम्झौता भएअनुरूप गौर नगरपालिका– ५ का रामप्रताप यादवसँग झाले उक्त रकम लिएको खबर थाहा पाएपछि झालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

जापानी संस्था कोइकाको समेत लगानीमा स्तरोन्नति गरेको गौर अस्पतालको कामको जिम्मा ठेकेदार यादवले लिएका छन्। 

यता, इन्चार्ज झाले आफू अस्पतालको लेखा प्रमुख वा कार्यालय प्रमुख नभएकाले ठेकेदारले आफूलाई घुस दिनुपर्ने कुनै कारण नरहेको बताए। असल मित्र बनेर ठेकेदारले आफूलाई फसाएको समेत झाले गुनासो गरे। आफूले ठेकेदार यादवसँग सापटी स्वरूप रकम मागेको उनले बताए। अख्तियारका टोली प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काको कमाण्डमा आएका सात सदस्यीय टोलीले पक्राउ गरेका झालाई आवश्यक अनुसन्धानको लागि क्षेत्रीय कार्यालय हेटौँडा लगिएको छ।

रौतहटमा यसरी नाटकीय ढंगबाट कर्मचारी पक्राउ गर्ने क्रम बढेको छ। २०७० सालमा पनि ठेकेदार यादवले तत्कालीन स्थानीय विकास अधिकारी वसन्त भण्डारीलाई यसरी नै अख्तियारको जिम्मा लगाइएको थियो। त्यस बेला ठेकेदार यादवले पुल निर्माणको क्रममा भण्डारीलाई निवासमै एक लाख रुपैयाँ दिएका थिए। यसका कारण भण्डारीले जागिर नै गुमाउनुपरेको थियो। 

त्यसैगरी २०७२ सालमा पनि नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका एक कर्मचारीलाई पनि यसरी नै नगदसहित अख्तियारले नियन्त्रणमा लिएको थियो। सुपरभाइजर उमेश यादवलाइ नगद एक लाख रुपैयाँसहित अख्तियारले नियन्त्रणमा लिएको थियो। यादव अहिले मुद्धा खेपिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.