|

महेश्वर अधिकारी-

    बारा : निजगढ नगरपालिका कार्यालयले नगरभित्र बसोबास गर्दै आएका लोपोन्मुख चेपाङ परिवारलाई सोलार बत्ती सहयोग गरेको छ। २८ घरपरिवार बस्दै आएको निजगढ–१३ स्थित चेपाङबस्तीमा नै पुगेर नगर प्रमुख सुरेशकुमार खनालले पहिलो चरणमा १४ परिवारलाई सोलार बत्ती हस्तान्तरण गरेका हुन्।

    सोलार बत्ती हस्तान्तरणपछि स्थानीयलाई सम्बोधन गर्दै नगरप्रमुख खनालले चेपाङ परिवारको आर्थिक अवस्थामाथि उकास्न विभिन्न आयमूलक कार्यक्रम ल्याइने भन्दै भावि पुस्ताले दुःख नपाउने गरी योजना बनाइने प्रतिबद्धता जनाए।

    आफ्ना छोराछोरीलाई पढाउनुपर्‍यो, शिक्षित बनाउनु पर्‍यो भन्दै त्यसका लागि नगरपालिका सबैखाले सहयोग गर्न तयार रहेको प्रमुख खनालले बताए।

    सोलार पाएपछि खुसी हुँदै स्थानीय बुद्ध प्रजापतीले नगरपालिकाले आफूहरुको दुःखमा हेर्ने विश्वास ब्यक्त गरे। वडा अध्यक्ष सूर्य घलानले नगरपालिकाकै सबैभन्दा पिछडिएको वडा भएकाले विकास गर्न आवश्यक पूर्वाधारका लागि नगरपालिकाको बोर्डमा प्रस्ताव लैजाने बताए।

    कार्यक्रममा वडा सदस्य धनकुमारी विक, नगरपालिकाका ओभरसियर नवीन खनाल लगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन नगरपालिका कार्यकारी अधिकृत भरतचन्द्र अधिकारीले गरेका थिए।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.