|

  • पदम बडाल-

दार्चुला : दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन प्रवक्त दिलेन्द्रप्रसाद बडूलाई पराजित गरेका नेकपा एमालेका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्ना लगातार दोस्रोपटक चुनाव जितेर इतिहास रच्ने दौडमा छन्।

०४८ देखि हालसम्मका निर्वाचनहरुमा दार्चुला जिल्लामा अहिलेसम्म लगातार दोस्रो पटक जितेको इतिहास कसैले बनाउन सकेका छैनन्। ०७० को संविधानसभा निर्वाचनमा कडा प्रतिस्पर्धामा विजयी बनेका एमाले नेता ठगुन्ना यसपटक पनि चुनाव जितेर इतिहास रच्ने विश्वासमा छन्।

०४८ मा दुईवटा निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू र राप्रपाका प्रचण्डबहादुर सिंह निर्वाचित भएका थिए। ०५१ देखि हालसम्मका निर्वाचनमा भने दार्चुलामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ।

०५१ को मध्यावधि निर्वाचनमा वहालवाला सहायक मन्त्री दिलेन्द्रप्रसाद बडूलाई चार हजारभन्दा बढी मतअन्तरले हराउँदै नेकपा एमालेका तत्कालीन केन्द्रीय सदस्य प्रेमसिंह धामी विजयी बनेका थिए। राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर एमाले नेता धामी ०५१ को मध्यावधि निर्वाचनमा उत्रिएका थिए।

०५६ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू विजयी बने। एमाले नेता धामीको ०५४ मा जिप दुर्घटनामा निधन भएपछि कांग्रेस नेता बडूलाई ०५६ को चुनाव जित्न सहज थियो। एमाले र मालेको विभाजनले अझ कांग्रेसको जितलाई मद्दत पुर्याएको थियो।

०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा नेकपा माओवादीका लक्ष्मणदत्त जोशीले फराकिलो मतान्तरले विजय हासिल गरे। ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने एमाले उम्मेदवार गणेशसिंह ठगुन्ना विजयी बने।

प्रभावशाली नेता समानुपातिकमा

निर्वाचन हारेर पनि कांग्रेसको केन्द्रीय राजनीतिमा आफूलाई स्थापित गराएका नेता बडूले यो पटक भने समानुपातिक उम्मेदवार बनेर सुरक्षित अवतरण गरेका छन्।

०४८ देखि ०७० सम्मका ५ वटा निर्वाचनमध्ये कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले दुईपटक जिते पनि लगातार जित्न नसकेको इतिहास छ। यसपटकको निर्वाचनमा वाम गठबन्धन बनेपछि कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका बडूले प्रतिनिधिसभामा समानुपातिकको यात्रा तय गरेका छन्।

केन्द्रमा कोइराला परिवारका नजिक रहेका बडूलाई समानुपातिक उम्मेदवार बनाएर दार्चुलाको प्रत्यक्ष निर्वाचनमा देउवा पक्षका नेताहरुलाई उम्मेदवार बनाइएकोले कांग्रेस कार्यकर्ताहरुमा खासै जाँगर नदेखिएको स्वयं जिल्लाका कांग्रेस कार्यकर्ता बताउँछन्।

गठबन्धनले ठगुन्नालाई ऊर्जा

स्थानीय तहको निर्वाचनमा कमजोर नतिजा भोगेको एमाले र एमाले नेता गणेशसिंह ठगुन्नाका लागि वाम गठबन्धन महत्वपूर्ण औजार बन्न पुगेको छ। कांग्रेससँगको एक्लाएक्लै प्रतिस्पर्धामा पछाडि पर्ने आँकलन गरिएको दार्चुलाको एमालेलाई माओवादी केन्द्रको सहाराले ठूलो आशा जगाएको छ। स्थानीय तहको निर्वाचनमा जिल्लाका ९ तहमध्ये कांग्रेसले ५, एमालेले ३ र माओवादी केन्द्रले १ स्थानीय तहको नेतृत्व गर्ने अवसर पाएका छन्।

स्थानीय तहको निर्वाचन परिणामबाट उत्साहित बनेका कांग्रेस नेता एवं पूर्वराज्यमन्त्री बडूले वामगठन्धन बनेसँगै आफ्नो चुनावी यात्रा मोडेका हुन्। कांग्रेसका प्रभावशाली नेता बडूले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन छोडेपछि एमाले र एमाले केन्द्रीय सदस्य गणेशसिह ठगुन्नाले राहत र सजिलो महसुस गरेका छन्।

एमाले र माओवादी केन्द्रका भोटले आफ्नो जित सुनिश्चित भएको ठगुन्नाको बुझाइ छ। चुनाव प्रचारप्रसारको क्रममा जिल्लाको ग्रामीण भेगमा रहेका ठगुन्नाले चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै दार्चुला जिल्लाको ८० प्रतिशत जनमत वाम गठबन्धनको पक्षमा रहेको बताइरहेका छन्।

गठबन्धनले एमालेका साथै माओवादीसमेत उत्साहित बनाएको छ। दार्चुलामा दुईमध्ये एउटा प्रदेशसभामा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मानबहादुर धामी सन्तोष उम्मेदवार बनेका छन्। एउटा निर्वाचन क्षेत्रमा एमालेका गेल्बुसिह बोहरा उम्मेदवार छन्।

स्थानीय तहमा पाएको मतको आधार हेर्ने हो भने पनि गठबन्धन ८ हजार बढी भोटले अगाडि देखिन्छ। स्थानीय तहमा पालिका प्रमुखहरुले पाएको मत नेपाली कांग्रेसको २१ हजार ७ सय ६८, एमालेको २० हजार ४ सय ४५ र माओवादी केन्द्रको १० हजार ४२ मत देखिन्छन्।

कांग्रेस उम्मेदवारको कस्तो छ अवस्था?

केन्द्रीय राजनीति र जिल्लामा निकै प्रभाव रहेको दिलेन्द्रप्रशाद बडू समानुपातिकतिर गएपछि गठबन्धनविरुद्ध कडा चुनौती दिन सक्ने उम्मेदवार कांग्रेसले दिन सकेको छैन। जिल्लाको राजनीतिमा पनि खासै प्रभाव राख्न नसक्ने तर दार्चुलामा लामो सयम नेपाली कांग्रेसको राजनीति गरेका कांग्रेस उम्मेदवार तुलनात्मक रुपमा कमजोर रहेको मतदाताहरुले आँकलन गरेका छन्।

कांग्रेसका तर्फबाट प्रतिनिधिसमा सदस्यका उम्मेदवार विक्रम धामीले दार्चुलाको मार्मा क्षेत्रको प्रतिनिधित्व गर्ने र सो क्षेत्रबाट कांग्रेसले पहिलो पटक उम्मेदवार पाएकाले उक्त क्षेत्रबाट धामीले ठूलो मत प्राप्त गर्ने तथा स्थानीय तहमा पाएको मतमा थप गर्दै निर्वाचन जितिने आँकलन जिल्ला समन्वय समितिका संयोजक करवीरबहादुर कार्की गर्दछन्।

प्रदेशसभाको १ नम्बर क्षेत्रमा मदन गिरी र २ नम्बर क्षेत्रमा जगदीशबहादुर पालले नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै चुनावी लडिरहेका छन्। लामो समयदेखि राजनीतिमा सक्रिय रहेका र अहिलेसम्म लाभको पदमा नबसेकाले आपूmहरुलाई दार्चुलावासी जनताले न्याय गर्ने कांग्रेस उम्मेदवारहरुको आश छ।

यद्यपि, २ नम्बर क्षेत्रका उम्मेदवार जगदीशबहादुर पाल नेपाली कांग्रेसको जिल्लासभापतिमा निर्वाचित हुन नसकेपछि माओवादी प्रवेश गरेका थिए। माओवादीमा रहँदा सुदूरपश्चिमाञ्चल विकास आयोगका अध्यक्षसमेत उनी रहे। उनको यही विचलनका कारण कमजोर प्रतिद्वन्द्वीका रुपमा देखिएका हुन्।

प्रतिनिधिसभाका लागि कांग्रेसका उम्मेदवार विक्रमसिह धामी क्षमता भएर पनि अहिलेसम्म कुनै अवसर नपाएका नेतामा पर्दछन्। त्यस्तै, प्रदेशसभाको १ नम्बर क्षेत्रका कांग्रेस उम्मेदवार मदन गिरी पनि राजनीतिक यात्रामा अवसर नपाएका र इमानदार नेताका रुपमा कांग्रेसभित्र परिचित छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.