कसका के छन् जितका आधार?

|

काठमाडौं : पाँच नम्बर प्रदेशको पहाडी जिल्ला गुल्मीमा चुनावी सरगर्मी बढेको छ। राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने र वाककटुता भएका  दुई युवा नेता गुल्मी १ बाट उठ्दा प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ।

साविकका १ र २ निर्वाचन क्षेत्रको अधिकांश क्षेत्र मिलाएर बनाइएको यो निर्वाचन क्षेत्रमा वाम गठबन्धनको तर्फबाट एमाले सचिव प्रदीप ज्ञवाली उम्मे‍दवार बनेका छन्। त्यस्तै, कांग्रेसको तर्फबाट केन्द्रीय सदस्य चन्द्र भण्डारी उम्मेदवार छन्। यी दुई नेता बीचको यो तेस्रो प्रतिस्पर्धा हो।

प्रदीपको चन्द्रसँग तेस्रो पटकको प्रतिस्पर्धा भएता पनि यो क्षेत्रमा चौथो पटक उठ्दै छन्। ०५६ मा हाल दुई नम्बर क्षेत्रका उम्मेदवार चन्द्र केसीलाई हराएका थिए।  योसँगै तेस्रो पटक संसदीय चुनावमा भाग लिन लागेका भण्डारीका तीन पटककै प्रतिस्पर्धी ज्ञवाली बनेका छन्। ०७० काे निर्वाचनमा भण्डारीले ज्ञवालीलाई हराएर  २३ वर्षपछि कांग्रेसको पक्षमा नतिजा निकालेका थिए।

०६४ मा उनै प्रतिस्पधी ज्ञावलीसँग २ हजार मतले हारेका भण्डारीले ०७० को निर्वाचनमा भने २ हजार मतले ज्ञवालीलाई पछि पारेका थिए। अहिले ज्ञवाली माओवादीसँगको तालमेलमा वाम गठबन्धनका साझा उम्मेदवार हुनु भण्डारीका लागि चुनौतीको विषय बनेको छ।

कसको कति मत?

यदि स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने भण्डारीभन्दा ज्ञवाली बलिया देखिन्छन्। ६ स्थानीय तहमध्ये कांग्रेस एमाले समान ३/३ वटामा विजयी भएका छन्। रेसुंगा नगरपालिकाको ८ वटा वडामध्ये कांग्रेस र एमाले समान ४/४ वटामा विजयी भएका छन्।

तर, वडाअध्यक्षलाई खसेको मतलाई आधार मान्ने हो भने एमालेको तुलनामा कांग्रेसको  लगभग ४ हजार मत कम देखिन्छ। एमालेको ३० हजार १ सय ३७ मत रहेको छ भने कांग्रेसको २६ हजार २० मत रहेको छ। यसबीच माओवादीको समेत ६ हजार ९ सय मत रहँदा कांग्रेसको तुलनामा वाम गठबन्धन ११ हजार बढी मतले माथि छ।

कांग्रेस नेता भण्डारी ११ हजार बढी मत हुनु आफ्ना लागि चुनौतीको विषय भएता पनि स्थानीय तहमा खसेको भोटको आधारमा प्रतिनिधिसभामा निर्वाचन नखस्ने दाबी गर्छन्। 'स्थानीय तहमा खसेको भोटलाई केही चुनौतीको विषय हो तर, चिनजान आफन्त छरछिमेक धेरै कुराले प्रभाव पार्छ, स्थानीय तहमा तर, प्रतिनिधिसभामा यस्तो हुँदैन त्यसमा पनि जितपछि कसले कस्तो काम गरे भन्ने विषयले समेत प्रभाव पार्छ' भण्डारीले थाहा खबरसँग भने।

भण्डारीका के छन् जित्ने आधार?

अघिल्लो चुनावमा आफूले गरेको प्रतिबद्धता पूर्णरुपमा पूरा गरेको र जिल्लाको विकासमा खेलेको भूमिका नै आफ्नो जित्ने आधार भएको बताउँछन् भण्डारी। 'मैले ०७० को निर्वाचनमा दुईवटा प्रतिबद्धता गरेको थिएँ, संविधान लेखन र सिद्धार्थ राजमार्गको विकल्पमा वैकल्पिक बाटो, यी दुवै काम पूरा भएका छन्' भण्डारीले भने

'सिद्धार्थको पहिरोका कारण २५ सय जनाको ज्यान जाँदा को एमाले, को कांग्रेस, को माओवादी कसैले  चिनेन तर, २३ वर्षसम्म यसको विकल्प खोजिएन मैले ४ वर्षमा यसको वैकल्पिक फास्‍टट्रयाक सुरु गरेको छु।'

उनी कालिगण्डकी कोरिडोर निर्माण, खानेपानी र विद्युतको विकासमा आफूले देखाएको अग्रसरता र विकासले पनि आफूलाई जित्न सहज भएको बताउँछन्। 'जनताले बोलेको काम कति गर्‍यो, हार्दा आतियो वा जित्दा मातियो कि भन्ने कुरालाई हेर्छन्, मबाट यस्तो भएको छैन' त्यसैले पनि उनी आफूले जित्ने आधार भएको दाबी गर्छन्। उनले गुल्मी १ मा पार्टी र व्यक्तिको समान प्रभाव पर्नेसमेत बताए।

ज्ञवालीले के देखे आफूले जित्ने आधार?

 ज्ञवाली वाम गठबन्धनको उम्मेदवार र एमालेको नीति नै आफूले जित्ने प्रमुख आधार देखाउँछन्। 'एमालेले लिएको राष्ट्रिय नीति, यस बीचमा भएको वाम गठबन्धन र त्यसको साझा उम्मेदवार हुनु नै जित्नुको प्रमुख आधार हुनेछ' ज्ञवालीले भने।

उनले आफूले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका जित्ने दोस्रो आधारका रुपमा लिएका छन्। 'शान्ति प्रकियादेखि, अन्य राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाको मूल्यांकन जनताले गर्नेछन्' ज्ञवालीले भने।

त्यस्तै, एमालेले लिएको राष्ट्रिय नीति र घोषणा पत्रमा उल्लेख गरिएका ठोस योजना र ३ वर्षे तथा पाँच वर्षे नीति एमाले उम्मेदवारलाई जिताउने आधार भएको दाबी गर्छन्। साथै देशैभर एमालेको लहर आएको कारण पनि जित्न सहज हुने आफ्नो बुझाइ रहेको बताउँछन् ज्ञवाली।

यस्ता छन् दुवैका समान गुण

लगातार तेस्रो पटक प्रतिस्पर्धी बनेका यी दुवै नेताका केही समान गुण छन्। एकले अर्कालाई असल साथीका रुपमा हेर्ने गरेको स्वयं बताउँछन्। 'चन्द्रजी मेरो अत्यन्तै नजिकको साथी हो उहाँ मलाई मन पनि पर्छ तर उहाँको पार्टी ठीक छैन' ज्ञवालीले भने। त्यस्तै, भण्डारीले पनि ज्ञवालीलाई उत्तिकै मान्ने गर्छन्।

यी दुवै नेता आफ्नो पार्टीभित्र बौद्धिक नेताका रुपमा चिनिँदै आएका छन्। ज्ञवाली र भण्डारी दुवै पार्टी संस्थापन पक्षमा रहेका छन्। ज्ञवाली केपी ओलीका विश्‍वासिला पात्रको रुपमा काम गर्दै आएका छन् भने भण्डारी शेरबहादुर देउवाका विश्‍वासिला पात्रको रुपमा गनिन्छन्। यसअघि, दुई पटक प्रतिस्पर्धा गरेका यी दुई नेताले एक/ एक पटक विजयी र पराजय व्यहोरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.