मधेसीलाई अपमान गर्ने सबै पराजित हुन्छन् : मण्डल

|

विराटनगर : विनाविभागीय मन्त्री तथा वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नं. ५ का प्रत्यक्ष उम्मेदवार शिवकुमार मण्डलले आफ्नो क्षेत्र निर्धारण गर्दा मधेसी जनताप्रति षड्यन्त्र गरिएको बताएका छन्।

विराटनगरमा बुधबार आयोजित पत्रकारसँग उम्मेदवार कार्यक्रममा मन्त्री मण्डलले क्षेत्र निर्धारण गर्दा ५ नम्बर क्षेत्रमा बसोवास गर्ने मधेसी जनतालाई भेडाबाख्रालाई जस्तो व्यवहार गरिएको बताएका हुन्।

 ‘क्षेत्र निर्धारण गर्दा नै षड्यन्त्र भएको छ, भेडाबाख्रालाई जस्तो जता काट्दा पनि हुने गरी अस्वाभाविक र अवैज्ञानिक तरिकाले क्षेत्र निर्धारण गरिएको छ,’ मन्त्री मण्डलले भने, ‘४५ किलोमिटर लम्बाई भएको ठाउँमा ७ किलोमिटरको हाराहारीमा मात्रै चौडाइ राखिएको छ।’ षड्यन्त्र गर्नेहरुलाई यसपटक जनताले सुझबुझपूर्ण ढंगले मत हाल्ने र आफूलाई जिताउने मण्डलको दाबी छ।

यस्तै, मन्त्री मण्डलले विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी हुन नदिने षड्यन्त्र भइरहेको भन्दै त्यसको सबैले विरोध गर्नुपर्ने बताए। आफूहरु क्याबिनेटमा उपस्थिति नभएको मौका छोपेर प्रधानमन्त्रीले एकलौटी धनकुटामा सदरमुकाम तोकिएको भन्दै विरोध गरे।

वामपन्थी गठबन्धनले देशभरबाट दुई तिहाई र १ नम्बर प्रदेशमा बहुमत सिट जित्ने दाबी गर्दै मन्त्री मण्डलले त्यसपछि बन्ने ५ वर्षे स्थायी सरकारले सिँचाइ, कृषि क्षेत्रको विकास, शिक्षा तथा हुलाकी राजमार्ग र पर्यटनको विकासमा महत्वपूर्ण फड्को मार्ने बताए।

मन्त्री मण्डलले आफ्नो क्षेत्रमा सुकुम्बासीको समस्या हल गर्ने जनता आवास कार्यक्रममार्फत नमुना बस्ती निर्माण गर्ने, विराटनगर जुटमिल सञ्चालन गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरे।

यस्तै, ५ नम्बर निर्वाचन क्षेत्र (क)का उम्मेदवार ज्ञानेश्वर राजवंशीले जनताको आधारभूत समस्या समाधानका लागि पहल गर्ने बताए। जीर्ण रहेको रंगेली र कर्सिया बजारको विकास तथा औद्योगीकरणमा जोड दिने बताउँदै राजवंशीले त्यस क्षेत्रमा धार्मिक पर्यटनको पनि विकास गरिने बताए। यस्तै, ५ नम्बर निर्वाचन क्षेत्र (ख) का उम्मेदवार सुभान मियाँले सडकको विस्तार तथा जनताको क्षमता अभिवृद्धिका लागि आफू लागिपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.