|

काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकतासहित चुनावी गठबन्धनको घोषणा गरेसँगै सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस निकै आक्रामक छ। उसले वाम गठबन्धनले चुनाव जितेमा मुलुकमा साम्यवादी अधिनायकवाद स्थापना हुने, तानाशाही लादिने, निजी सम्पत्ति राख्न नपाइने भन्दै प्रचार गरिरहेको छ। कांग्रेसले वाम गठबन्धनप्रति गरेको यो कुनै भाषणमा सीमित छैन, चुनावका लागि तयार पारेको घोषणापत्रमा नै वाम गठबन्धनप्रति आक्रामक रूपमा प्रस्तुत भएको छ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि सबै नेता कार्यकर्ता वाम गठबन्धनले जिते ‘अधिनायकवाद स्थापना’ हुने भनेर बोलिरहेका छन्। वास्तविकता त्यस्तै हो त? कि यो कांग्रेसको हतास मानसिकताको उपज हो? रेडियो थाहा संचारका लागि दीपेन्द्र कुँवरले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग यस विषयमा कुरा गरेका छन्।

कांग्रेसले भनेजस्तो वाम गठबन्धनबाट मुलुकमा अधिनायकवाद वा तानाशाहीको खतरा छ?

मलाई यो बकबास जस्तो लाग्छ। अधिनायकवाद नेपालमा वामपन्थी गठबन्धनबाट आउँदैन। वामपन्थीहरू लोकतन्त्र ल्याउन एकतावद्ध भएका हुन् ०४६ सालमा, त्यो पनि गणेशमानजीको दबाबमा। त्यसपछिका दिनमा वामपन्थी फुटेका हुनाले देशमा अस्थिरता आयो, सुशासन आएन भनेर सारा देशवासी गनगन गरिरहेका बेलामा मलाई लाग्छ, यो गठबन्धन पनि स्वाभाविक हो र यसले भोलि सुखद परिणाम पनि ल्याउला। वामपन्थीहरूको एकीकरण नेपालमा एकदमै जरुरी थियो।

तर कांग्रेस किन यसो भनिरहेको छ? के ऊ आत्तिएको, हतास भएको हो?

मेरो विचारमा कांग्रेसलाई यो हतप्रभ र अप्रत्यासित भयो। कांग्रेस र माओवादी केन्द्रका बीचमा गठबन्धन भएर सरकार चलिरहेको थियो, सिट तालमेलका केही कुराहरू पनि अगाडि बढिरहेका थिए, त्यत्तिकैमा हठात् रूपमा ६० र ४० को जुन तालमेल आयो एमालेसँग, त्यसले सुरुका दिनमा निश्चित रूपमा कांग्रेसमा हतासा ल्याएको हो। पछि लोकतान्त्रिक गठबन्धन गरेको छ।

आखिर लोकतान्त्रिक गठबन्धन पनि राप्रपासँग गरेको हो। राप्रपासँगको गठबन्धनले पो अधिनायकवाद, तानाशाही या निरंकुशता ल्याउन सक्छ, त्यो खतरनाक कुरा हो। नेपाली कांग्रेसका लागि भोलिका दिनमा यो ‘पे’ गर्न सक्ने (मूल्य चुकाउने) कुरा होइन। वामपन्थी गठबन्धनचाहिँ मलाई स्वाभाविक लाग्छ, अरू कारणले होइन, समान विचार, समान स्कूल, उही गुरु कार्ल मार्क्स, लेनिन सबै उही छन्। वैचारिक यात्रा पनि त्यस्तैत्यस्तै छ दुईटैको– पहिला हिंस्रक र त्यसपछि मात्रै शान्तिपूर्ण जनआन्दोलनमा लागेका छन्। त्यसकारण अधिनायकवादको कुरा बेकार हो।

तर चुनावमा चाहिँ यसै गरेर भोटलाई प्रभाव पार्न सकिन्छ। ‘कम्युनिस्ट गठबन्धनले भोलि अधिनायकवाद ल्याउँछ, व्यक्तिको स्वतन्तत्रता हरण गर्छ, निजी सम्पत्तिमाथि आक्रमण गर्छ।’  यी चुनावी एजेण्डा हुन्। चुनावी नारा हुन्, भोट ल्याउने कुरा हो, त्यसभन्दा अरू केही होइन।

एमालेले ०४३ सालदेखि जनपक्षीय भनेर चुनाव लडिरहेको छ। ०४८, ०५१, ०५६ मा लडेको छ। एमालेले ‘इक्लेटोरल पोलिटिक्स’ (चुनावी राजनीति)मा लामो यात्रा तय गरेको छ। ०१५ सालमा पनि कम्युनिस्ट पार्टीले चुनाव लडेको थियो। त्यसकारण मेरो विचारमा कम्युनिस्ट एकताले अधिनायकवाद ल्याउँदैन।

अधिनायकवाद आउने हो भने पार्टीहरू जसरी चलिरहेका छन्, निर्वाचनमा जसरी उम्मेदवार चयन गरेका छन्, सुशासन नगरी जसरी कुशासन गरिरहेका छन्, यतापट्टिबाट खतरा छ। हाम्रो भ्रष्ट शासनतन्त्र, जनतामा आएको निराशा, बेरोजगारीबाट अधिनायकवादको ढोका खुल्न सक्छ।

कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले जुन ढुंगले कुरा उठाएको छ, यसले तरंग सिर्जना गरेको छ। एक ढंगको त्रास पनि सिर्जना गरेको छ। के यसो गर्नुहुन्थ्यो?

त्रासमा राखेर भोट लिनु राम्रो कुरा होइन। भयमुक्त समाज नै लोकतन्त्रको पहिलो आधार हो, त्यसकारण भयमुक्त समाजमा चुनाव पनि भयमुक्त नै हुनुपर्छ। म कांग्रेसको सिद्धान्त, ‘ब्रोडर भ्यालु’ (वृहत मान्यता) र सिद्धान्तसँग सहमत छु। म कम्युनिस्टका थुप्रै कुरासँग असहमत छु। म ‘फिलोसफिकल्ली’ कम्युनिस्टसँग नजिक छैन, कहीँ पनि छैन। तर मलाई के लाग्छ भने नेपालको कम्युनिस्ट आन्दोलनले लोकतन्त्रका लागि लडेको छ, लोकतन्त्रलाई रक्षा पनि गरेको छ। राजाको अधिनायकत्वविरुद्ध, ज्ञानेन्द्रको शासनविरुद्ध सबै मिलेर लडेर लोकतन्त्र फर्काएको होइन र? 

भोटका लागि कांग्रेसले ‘पपुलिस्ट स्लोगान’ अघि सारेको हो, तर मेरो विचारमा जनताले पत्याइरहेका छैनन्। त्यसैकारण कांग्रेसले अरू एजेण्डा खोज्नुपर्छ। कांग्रेसको चुनावी ‘मेनिफेस्टो’ (घोषणापत्र) सरासर गलत छ। ‘कम्युनिस्ट अधिनायवादतर्फको यात्रामा गयो’ भनेर घोषणापत्रमा जुन राजनीतिक सोच र दृष्टिकोण लेखिएको छ, त्यो गलत छ। म पनि कुनै न कुनै किसिमले संलग्न भएको मान्छे हो घोषणा पत्रमा तर त्यो ‘पोलिटिकल डकुमेन्ट’ (राजनीतिक दस्तावेज)मा म असहमत छु। अधिनायकवाद त्यसरी आउँदै आउँदैन, हुनै सक्दैन त्यो।

कतै कम्युनिस्टहरूले लोकतान्त्रिक प्रक्रियाबाट शासन गरे भने मेरो स्पेश रहँदैन, हराउँछ भनेर चिन्तामा त छैन कांग्रेस?

भोलि आउने वाममोर्चाको चुनावी परिणामले निश्चित रूपमा कांग्रेस संकटमा छ। ठूलो पार्टी भइरहेको नेपाली कांग्रेस अहिले भारतीय राष्ट्रिय कांग्रेस जस्तै ‘डिफेन्सिभ’ (रक्षात्मक) भइरहेको छ, ‘डिफेन्सिभ’ भइरहेको पार्टीले ‘रियाक्सन’ (प्रतिक्रया)मा केही कुराहरू बोल्छ। तर कांग्रेस जुन ढंगले रक्षात्मक भइरहेको छ, त्यो हुनुपर्ने म देख्दिनँ। किनभने कम्युनिस्टको त्रास देखाएर भोट माग्नपुर्ने कमजोर अवस्थामा पनि कांग्रेस छैन। यसका हाँगाबिँगा, शुभेच्छुक र समर्थक देशैभरि छन्। तर आफ्नो शक्तिको पहिचान गर्न नसक्नु कांग्रेस नेतृत्वको समस्या हो। यसले कहिले आफ्नो शक्तिको पहिचान गर्न सकेन।

आज पनि यो देशमा नेपाली कांग्रेस धेरै ठूलो शक्ति छ। उसका आफ्नै एजेण्डा छन्, पद्धति छ, सोचहरू छन्, त्यसैलाई लिएर ‘हामी भोलि भ्रष्टाचारमुक्त सुशासन दिन्छौँ, जनतालाई रोजगारी दिन्छौँ’ भनेर भोट माग्दा मान्छेले जति पनि विश्वास गर्ने ‘एरिया’ थियो। ‘कम्युनिस्ट आउँछन्, निजी सम्पत्ति खोस्छन्, अधिनायकवाद ल्याउँछन्’ भन्ने बकबास कुरा गरेर कांग्रेस आफूलाई समाप्त गर्ने बाटोमा जाँदै छ। यसलाई कांग्रेसले रोक्नुपर्छ।

जनतालाई भयमा राखेर भोट मागेर समाजलाई ध्रुवीकृत गर्नुहुँदैन। अहिले पनि यो देशमा कम्युनिस्ट र कांग्रेसको केही मुद्दामा सहकार्य जरुरी छ। अहिले डनहरूले सारा नेताहरूलाई थर्काएर बसिरहेका छन्। नेताहरू बोल्न सक्दैनन्, मैले आँखाले देखेको छु।  ‘टिकट दे’ भन्छन् पैसा उनीहरूले दिन्छन्। शिक्षा र मेडिकल क्षेत्रमा रहेकाहरूले माफियागिरी गरेका छन्,‘पोलिटिक्स’मा।

प्राकृतिक स्रोत र साधनमा दोहन गर्नेहरूले नेताहरूलाई ‘तँलाई चुनावमा हराइदिन्छु’भनेर धम्क्याएर राखेका छन्। त्यसकारण ‘पोलिटिक्स’मा भइरहेका यी सबै विकृति विसंगतिविरुद्ध लड्न, चुनावलाई गुणस्तरीय बनाउन कम्युनिस्ट र कांग्रेसको साझा मोर्चा हुनुपर्छ। एक्लै कसैले गर्न सक्दैन। स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ तर मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेस र कम्युनिस्टबीच सहकार्य हुनुपर्छ। नमिली सुखै छैन, त्यसकारण कांग्रेसको ‘मेनिफेस्टो’ ठीक छैन।

बेलाबेलामा कम्युनिस्टहरूले सर्वहारा अधिनायकत्वको कुरा पनि गर्ने, यो ‘संसदीय व्यवस्था फेल भयो फरक ढंगले जानुपर्छ' भन्ने गरेकाले कांग्रेसलाई शंकाको सुविधा हुन पनि त सक्ने भयो नि?

हुनसक्छ, कांग्रेसलाई शंकाको सुविधा हुनसक्छ भनेर नै कांग्रेसले ‘क्याम्पेन’ गरेको हो। सर्वहारा अधिनायकत्वको कुरा त बर्लिनको पर्खाल ढलेपछि, रुसमा लेनिन र स्टालिनका शालिक ढलेपछि, चीनले पूँजीवादलाई भित्र्याएपछि सिद्धियो। अहिले उत्तर कोरियामा भएको शासन कहाँ कम्युनिस्ट शासन हो र? त्यो वंश शासन हो, त्यसकारण त्यो कुरा बेकार हो। कुरो केचाहिँ हो भने कांग्रेसलाई केही नयाँ एजेण्डा चाहिएको छ, कांग्रेसले नयाँ ढंगले सोंच्नुपर्थ्यो। त्यो नयाँ ढंगले सोच्न कांग्रेसलाई समय भएन, अप्रत्याशित, हतप्रभ रूपमा वाम गठन्धन भयो। त्यो यस्तो बेला भयो, जतिबेला सातवटा प्रदेशमा पनि सरकार बन्दै छ, केन्द्रीय सरकार बन्दै छ, त्यहाँ कांग्रेससँग एजेण्डा ‘हाइज्याक’ भएको छ, त्यसको असर कांग्रेसभित्र केहीचाहिँ देखियो।

अब सर्वहाराको कुरा। यहाँ अहिले को सर्वहारा छ? अहिले देखिएका कम्युनिस्ट नेताहरू हामीभन्दा पनि पूँजीपति छन्, धेरै जना। शेयर मार्केटमा उनीहरूकै ‘इन्ट्री’ छ, ‘कर्पोरेट हाउस’ चलाएकै छन्, ‘प्रोपर्टी डिलर’ जस्तो भएकै छन्। यहाँ कोही लेनिन पनि छैन, माओ पनि छैन। सबैले लोकतान्त्रिक अभ्यास गरिसकेका छन्, खुला समाज सबैले उपभोग गरेका छन्, सत्तामा पुगिसकेका छन्। त्यसकारण अधिनायकवादको कुरा बकबास हो। कांग्रेसले मतदाता आकर्षित गर्न तरुण दल, विद्यार्थी ‘फ्रन्ट’बाट यो कुरा उठाएर होहल्ला गर्न सक्थ्यो तर घोषणापत्रमै लेखेर गलत गरेको छ। यसलाई सच्याउनुपर्छ। मलाई लाग्छ, कांग्रेसले त्यसलाई सच्याउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.