|

  • भविन कार्की-

संखुवासभाः जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सिलिचोङ गाउँपालिकाभित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि तथा कर्मचारीहरूले सार्वजनिक ठाउँमा मादक पदार्थ सेवन गरे दश हजार रूपैयाँ जरिवाना लाग्ने भएको छ। 

बुधबार सिलिचोङ गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो। भौगोलिक हिसाबले अत्यन्तै दुर्गम मानिएको सिलिचोङ गाउँपालिकालाई सभ्य र समृद्ध बनाउन भन्दै गाउँ कार्यपालिकाले यस्तो निर्णय गरेको हो। सिलिचोङ गाउँपालिकामा पछिल्लो समय मादक पदार्थ सेवन गरी सार्वजनिक ठाउँमा होहल्ला, झगडालगायतका गतिविधि बढ्दै गएकाले यस्तो निर्णय गर्नुपरेको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए। मादक पदार्थ सेवन गरी दोस्रो पटक कारवाहीमा परे अघिल्लोको दोब्बर जरिवाना तिर्नुपर्नेसमेत निर्णय गरिएको छ।

गाउँपालिकाभित्रका विद्यालय सुधारका लागि जनप्रतिनिधिहरूले नियमित निरीक्षण गर्ने निर्णय पनि गरेका छन्। निर्धारित समयसम्म शिक्षकहरूले नपढाए, बिदा स्वीकृत नगराई अनुपस्थित भए वा अन्य गैरकानुनी रूपमा विद्यालयमा उपस्थित भए कारवाही गर्ने निर्णय गरेका छन्। कर्मचारी तथा शिक्षकहरू बिदा स्वीकृत नगराई अनुपस्थित भए तलब कट्टा तथा रोक्का गर्ने निर्णय गरेको गाउँपालिकाका कार्यकारी अधिकृत मोहन निरौलाले जानकारी दिए।

गाउँपालिकाभित्रका रिक्त रहेका विद्यालयहरूमा पदपूर्ति गराउन पहल गर्नेसमेत निर्णय गरिएको बताइएको छ। 

गाउँपालिकाभित्रका टोलटोलमा द्रुत गतिमा विकास गर्नका लागि तत्काल टोल विकास समिति गठन गरी विकासका कार्यहरू अगाडि बढाउने निर्णय पनि गरिएको छ। समितिकै पहलमा समाजमा रहेको विकृतिहरू हटाउने गाउँपालिकाले लक्ष्य लिएको वडा नम्बर– २ का वडा अध्यक्ष मोहनशम्शेर कुलुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.