|

चितवनः चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा भोलि बिहीबारदेखि यातायात रोकेर भित्तो काट्ने काम सुरु गर्ने स्थानीय प्रशासनसँगको निर्णय एकै दिनमा परिवर्तन भएको छ। 

मंगलबार मात्रै प्रशासनसँग सहमति गरेर बिहीबारदेखि विभिन्न समयमा सडक रोकी भित्तो काट्ने काम सञ्चालन गर्ने सहमति गरेर ट्राफिक प्रहरीले बुधबार सार्वजनिक सूचना नै जारी गरेको थियो। तर नारायणगढ–मुग्लिन सडक आयोजनाले बुधबार नै सो कार्य दुई दिन पछि सारेको जनाएको छ। 

सार्वजनिक सूचना छिटो नगएको र शनिबार ठूलो ढुंगा फोर्नुपर्ने अवस्था रहेकाले समय सारिएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए।

प्रशासनको एउटा सूचना र आयोजनाको अर्काे सूचना आएपछि आयोजनाले राष्ट्रिय पत्रिकामै सूचना जारी गरेर उक्त जानकारी दिन लागेको जनाएको छ। 

उक्त निर्णय गर्दै आयोजनाले आज स्थानीय प्रशासनलाई जानकारी गराएपछि मात्रै थाहा भएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए। 

सेती दोभानमा जोखिमयुक्त ढुंगा खस्ने अवस्था रहेकाले आगामी शनिबार बिहान १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाइनेछ।

आगामी आइतबारदेखि भने कालोपत्रे गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिनेछ भने भित्तो काट्ने स्थानमा बीचबीचमा सडक रोक्दै काम अघि बढाइनेछ । 
आइतबारबाट एक हप्ता परीक्षण स्वरूप बिहान ७ बजेदेखि साढे आठ बजे, ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए। 

बिहानदेखि अपराह्नसम्मको छ घण्टा एकैसाथ बन्द गर्दा निर्वाचनलाई असर गर्ने भएकाले बीचबीचमा एकएक घण्टा सडक रोकेर काम गर्न लागिएको हो। आयोजनाले आठ घण्टा नै रोकेर काम गर्नुपर्ने भन्दै प्रशासनसँग अनुमति माग गरेको भए पनि स्थानीय प्रशासनले रोकेको हो।

यसको असरलाई ध्यान दिएर एक हप्तापछि अर्काे निर्णय हुन सक्ने जनाइएको छ। सो सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिव ७०० मिटरमा भित्तो काट्ने काम चलिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.