|

काभ्रेपलाञ्चोकः पीडित परिवारलाई दश लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएपछि अरनिको राजमार्ग साढे चार बजेबाट सुचारु भएको छ।

पीडित पक्षसँग बुधबार दिनभर बसेको बार्ता साढे चार बजे सहमति भएपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए। ‘दश लाख रुपैयाँ पीडित परिवारलाई दिने सहमति भएपछि राजमार्ग खुलेको हो’, मरासिनीले भने। पीडित पक्षले दोषीलाई कारवाही गर्नुपर्ने र क्षतिपूर्ति उपलब्ध गराउने माग राख्दै अवरुद्ध गरेको राजमार्ग करिब आठ घण्टापछि खुलेको हो।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– ४ तामाघाटमा बुधबार बिहान ट्रिपरले ठक्कर दिँदा साढे दुई वर्षका नाबालक रामबहादुर कुँवरको घटनास्थलमा नै मृत्यु भएको थियो। पाँचखाल नगरपालिका– ९ घर भएका प्रेमबहादुर कुँवरका छोरा रामबहादुरको आमासँग सामान किन्न बजार आउने क्रममा तामाघाटस्थित सडक पार गर्दै गर्दा बा४ख ३२६८ नम्बरको ट्रिपरले ठक्कर दिँदा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मरासिनीले बताए।

ट्रिपर र चालक भने प्रहरी नियन्त्रणमा नै रहेको प्रहरीले जनाएको छ। चालकलाई आवश्यक कानुनी प्रक्रियाअनुसार कारवाही गर्ने प्रहरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.