|

रुपन्देही : बुटवल जेसिज चोकका विधान भट्टराई कलेजमा एक्कासी ज्वरो आएर घर फर्किए। स्वास्थ्य परीक्षण गराउँदा डेंगु भाइरस पोजेटिभ देखियो।

लुम्बिनी अञ्चल अस्पतालमा उनीजस्ता ४ सय भन्दा बढी बिरामी भर्ना भएका छन्। उपचारका लागि अस्पतालमा पुगेका २ जनाको मृत्यु भएको छ। लुम्बिनी अञ्चल अस्पतालका अनुसार बुधबारसम्ममा ४ सय ६१ जना डेंगु संक्रमण भएका व्यक्तिले उपचार गराइरहेका छन्। अस्पतालका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मी भन्छन् 'डेंगुको शंका लागेका बिरामीको संख्या त्यो भन्दा दोब्बर छ।’

देशकै ध्यान तान्यो डेंगुले

दशैं तिहारसम्म सामान्य रुपमा देखिएको डेंगुले तिहारपछि एक्कासी प्रकोपकै रुप लियो। एकदिनमा ५० भन्दा बढी संक्रमित देखिन थालेपछि अस्पतालहरुमा बिरामीको भीड बढ्यो। डेंगुको शंका लागेर परीक्षण गर्न आउनेहरुको लाइन लाग्यो। रगतको माग उत्तिकै बढ्यो। त्यसपछि डेंगु नियन्त्रणमा खटिएका निकायहरु झस्किए।

जिल्लाका स्वास्थ्य सम्बन्धी निकायले माथिल्लो निकायमा रिर्पोट गरे। त्यसपछि स्वास्थ्य मन्त्रालय एक टोली बुटवलमा आएर डेंगु नियन्त्रणका लागि थप योजना बनाइरहेको छ।

'हामी यहाँको अवस्था बुझेर थप कार्यक्रमहरु के गर्न सकिन्छ भनेर आएका थियौं, स्वास्थ्य सचिव डा. किरण रेग्मीले भनिन् 'सरोकारवाला निकायहरुसँग यसअघि सञ्चालन भएका कार्यक्रमहरुले पारेको प्रभाव र आगामी कार्यक्रमबारे छलफल गरेका छौं, ५ दिनभित्रमा हामीले केही प्रगति गर्छौं।’

स्वास्थ्य सचिवको नेतृत्वमा चिकित्सा महाशाखाका निर्देशकसहितको टोलीले बुटवलमा सरोकारवालासँग छलफल गरेर डेंगु नियन्त्रणका लागि सबै उपाय अपनाउन निर्देशन दिएको छ।

रुपन्देहीका सरकारी र निजी अस्पतालहरुका प्रतिनिधि, स्वास्थ्यकर्मीहरु, बुटवल उपमहानगरपालिकासहितको छलफलका क्रममा सचिव रेग्मीले डेंगु परीक्षणका लागि आवश्यक पर्ने किट तत्काल उपलब्ध गराउने, झुल वितरण गर्ने, सचेतनाका कार्यक्रमहरु प्रभावकारी बनाउने र सर्च एण्ड डिस्ट्रोयको कामलाई पनि निरन्तरता दिन मन्त्रालयले सहयोग गर्ने बताइन्।

'डेंगु नियन्त्रणका लागि यहाँ जुन अभियान चलेको छ, त्यसलाई नै निरन्तरता दिएर अघि बढ्दा डेंगु नियन्त्रण गर्न सजिलो हुन्छ, उनले भनिन् 'हामीले जनस्वास्थ्य कार्यालयमार्फत जहाँ जहाँ जे आवश्यक परेको छ, सबै व्यवस्था गर्नेछौं।’

उनका अनुसार देशभरमै सबैभन्दा बढी डेंगुको संक्रमण रुपन्देहीमा देखिएको छ। चितवन, इटहरी लगायतका जिल्लामा अहिले विगतको तुलनामा सामान्य छ।

स्थानीय नै सचेत भएनन्

बुटवल उपमहानगरपालिकाले चरणवद्ध रुपमा पटक पटक कार्यक्रमहरु गर्‍यो। तर डेंगु संक्रमित घट्नुको सट्टा बढ्दै गए। लुम्बिनी अञ्चल अस्पतालका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मी भन्छन् 'एक दिनमा ५० जनाजति बिरामी त अञ्चल अस्पतालमा आइरहेका छन्, निजी अस्पताल, क्लिनिकहरुमा पनि त्यस्तै भीड देखिन्छ।’

जिल्ला जनस्वास्थ्य कार्यालय, बुटवल उपमहानगरपालिका, लुम्बिनी अञ्चल अस्पताल, नेपाल प्रहरी, सशस्त्र प्रहरीको बलबुताले मात्रै डेंगु नियन्त्रण हुन सकेन। 'हामीले चार चरणमा डेंगु नियन्त्रणका कार्यक्रमहरु गर्‍यौं, टोलविकास संस्थाका सदस्यदेखि स्वास्थ्य स्वयम्सेविका, नगरपालिकाका कर्मचारीहरु, जनस्वास्थ्यको टोली, नेपाल प्रहरी, ससस्त्र प्रहरीले बढी प्रभावित भएका क्षेत्रहरुमा अभियान नै चलायौं' बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्य डेंगु नियन्त्रण नभएकोमा चिन्ता व्यक्त गर्छिन्, 'बुटवलबासीले गम्भीर रुपमै लिएनन्, जो डेंगु प्रभावित क्षेत्रमा बस्छ, उसैले चासो दिएन, पटक पटक हामीले भनेका कुराहरु मानेनन्।’

खासगरी बुटवल मैनाबगरमा रहेको अटोभिलेज, तिनाउ र दानव नदी किनारमा रहेका बस्ती, ग्यारेजहरु, होटल रेष्टुरेन्टहरुमा पानी जम्ने ठाउँ र टिन छाएका घरमाथि राखेका टायरहरुमा जमेको पानीका कारण लामखुट्टेको संख्या बढ्दै गएको छ।

नटेर्नेलाई कारबाही

छतमा राखिएका टायर र पानी जम्नसक्ने सामानहरु सफा राख्न र पानी जम्न नदिन पटक पटक आग्रह गरिए पनि वास्ता नगरेको भन्दै बुटवल उपमहानगरले कारबाही गर्ने भएको छ। ‘खासगरी व्यवसायीहरु जसले अव्यवस्थित रुपमा पानी जम्ने टायर र अरु सामानहरु राख्नुभएको छ, उहाँहरुलाई हामीले धेरै पटक अनुरोध गरिसक्यौं, बुटवल उपमहानगरकी उपप्रमुख आचार्यले चेतावनी दिइन्, 'हामी अब अनुरोध गर्दैनौं, एक्सन लिन्छौं, जसले हटाएको छैन र हटाउँदैन, हामी त्यस्ता सामानहरु जफत गर्छौ र आवश्यक परे अरु कारबाही गर्छौं।’

उनले केही व्यक्तिका कारण नगरका बासिन्दा नै बिरामी पर्ने अवस्था आएकाले नगरपालिकाले कडाईका साथ अनुगमन गर्ने बताइन्।

अस्पतालसमेत असुरक्षित  

डेंगुको शंका लागेपछि पुग्ने ठाउँ हो अस्पताल। रोग निको हुने आशा र भरोसा बोकेर बिरामी अस्पताल पुग्छ। तर डेंगुका कारण अस्पताल समेत सुरक्षित भएन। रुपन्देहीका १२ जना स्वास्थ्यकर्मीमा डेंगुको संक्रमण देखिएको छ।

६ जना लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत र अरु स्वास्थ्य संस्थाका ६ जना स्वास्थ्यकर्मीलाई डेंगुको संक्रमण भएको हो । ती मध्ये २ जना चिकित्सक हुन्।

'बिरामीलाई उपचार गर्ने स्वास्थ्यकर्मीहरु नै बिरामी पर्नुभयो' अञ्चल अस्पतालका मेडिकल रेकर्ड अधिकृत रेग्मी भन्छन् 'उहाँहरुले पनि उपचार गराइरहनुभएको छ।’

हुन पनि, अस्पतालमा उपचारका लागि पुग्ने बिरामी बिना झुल नै अस्पतालमा बस्न बाध्य छन्। न अस्पतालले बिरामीलाई झुल दिएको छ, न त डेंगु नियन्त्रणका लागि खटिएका अरु कुनै निकायले।

इपिडिमियोलोजी महाशाखाको उपस्थितिमा बुटवल उपमहानगरपालिकामा मंगलबार बसेको प्रकोप व्यवस्थापन समितिको बैठकमा अस्पतालका झुल वितरण गर्ने प्रस्ताव गर्दा महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछाने भन्दै थिए 'हामीसँग त्यति धेरै झुल छैन, हामी त्यसरी वितरण गर्न सक्दैनौं, अस्पतालमा भर्ना भएका बिरामीलाई दिन सकिन्छ, तर त्यो झुल अस्पतालमै छाड्ने शर्तमा।’

डेंगु टेष्ट किटको अभाव

रुपन्देहीमा कात्तिकको पहिलो हप्तादेखि नै डेंगु टेष्ट किट अभाव छ। आवश्यक भएजति किट माग गरिए पनि पर्याप्त रुपमा नआएको लुम्बिनी अञ्चल अस्पताल बताउँछ।

जिल्ला जनस्वास्थ्य कार्यालय, बुटवल उपमहानगरपालिकाले डेंगु नियन्त्रण अभियान अन्तरगत लुम्बिनी अञ्चल अस्पताललाई किट उपलब्ध गराएपनि बिरामीको चाप बढेका कारण पर्याप किट छैन।

'बिरामीको संख्या दिनदिनै बढिरहेकोले जगेडा किटको पनि आवश्यक परेको छ', अञ्चल अस्पतालका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मी भन्छन् 'हामीले थप किट माग गरेका छौं।’

डेंगुको नाममा ब्रह्मलुट

बुटवल र आसपासमा डेंगुको संक्रमण बढेपछि बुटवलका केही निजी स्वास्थ्य संस्थाहरुले डेंगु नियन्त्रणका नाममा मनपरी शुल्क लिएका छन्। बुटवलका नेशनल प्याथ ल्याबलगायतका केही स्वास्थ्य संस्थाले ३ हजारसम्म शुल्क लिएका छन्।

नेशनल प्याथ ल्याबले ३ हजारसम्म लिएको सर्वसाधारणले गुनासो गरेका छन्। बजारमा ५ सय रुपैयाँ पर्ने डेंगु टेष्ट किटको मूल्य मनपरी लिन थालेपछि बुटवल उपमहानगरपालिकाले स्वीकृत मूल्यमा डेंगु परीक्षण गर्न निर्देशन दिएको छ।

मेलानका केन्द्रीय सचिवालय सदस्य रमेश पाण्डेका अनुसार डेंगु परीक्षण गरेवापतको शुल्क १ हजार ५० रुपैयाँभन्दा धेरै लिन पाइदैन। जबकी, लुम्बिनी अञ्चल अस्पतालमा डेंगु परीक्षण निःशुल्क हुन्छ। ‘लुम्बिनी अञ्चल अस्पतालले डेंगु परीक्षण निःशुल्क रुपमा गरेको छ, अस्पतालमा आएर डेंगु परीक्षण गर्दा भरपर्दो पनि हुन्छ' अस्पतालका मेडिकल रेकर्ड अधिकृत रेग्मी भन्छन्।

यसरी जोगिनुस् डेंगुबाट

एडिस एजिप्टाई नामक पोथी लामखुट्टेले यो रोग सार्छ। सङ्लो पानीमा अण्डा पार्ने यो लामखुट्टेले खासगरी बिहान र बेलुकाको समयमा टोक्छ। डेंगु संक्रमितलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्यो भने यो रोग सर्छ।

संक्रमित व्यक्तिबाट यो रोग सर्दैन। डेंगुको मुख्य लक्षण भनेकै ज्वरो आउनु हो। शुरुमा सामान्य ज्वरो आए पनि १ सय ५ डिग्रीसम्म ज्वरो आउने र ढाड र मासंपेशी करकरी खाने जस्ता लक्षण देखिने लुम्बिनी अञ्चल अस्पताल बुटवलका डा. नन्दु पाठक बताउँछन्।

'यो सँगै आँखाको गेडीको पछाडितिर एकदमै बेस्सरी दुख्ने हुन्छ', उनी भन्छन्, 'वान्ता हुने र छालामा बिमिरा देखा पर्छन्, यो बढ्दै गएर रक्तश्राव हुने सम्म हुन्छ।’ यो भाइरसको खास उपचार छैन। यसमा देखिएका लक्षणहरुका आधारमा सहायतात्मक उपचार गरिन्छ। शरीरमा प्लेटलेट्सको संख्या चिन्ताजनक अवस्थामा झर्छ।

यसबाट जोगिने उपाय भनेकै एडिस एजिप्टाई लामखुट्टेको टोकाईबाट बच्नु हो। ‘यसले हलचल नभएको पानीमा अण्डा पार्छ, त्यसैले यसको प्रजननलाई रोक्नुपर्छ', डा. पाठक भन्छन् 'बट्टा, टायर, खाल्डो आदिमा पानी जम्न दिनु भएन, झ्याल ढोकामा जाली लगाएर घरभित्र प्रवेश गर्न दिनुभएन।’ उनका अनुसार लामखुट्टेलाई भगाउन क्रिम, क्वाइल रिप्ल्यान्ट आदिको प्रयोग गर्नुपर्छ, पुरा शरीर ढाकिने कपडा लगाउनुपर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.