|

लहान : प्रतिनिधिसभा सदस्यमा सिरहा २ बाट वाम गठबन्धनका सुरेशचन्द्र दास यादव, नेपाली कांग्रेसका रामचन्द्र यादव र संघीय समाजवादी फोरम नेपालका शत्रुधनप्रसाद सिंह लगायत १६ जना उम्मेदवार छन्।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका वाम गठबन्धनका उम्मेदवार दास लामो समय कांग्रेसको राजनीति गरेर उम्मेदवारी दर्ताको केही दिनअघिमात्र नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नेपाली कांग्रेसका उम्मेदवार यादव कांग्रेसको सिरहा जिल्ला तथा निवर्तमान सांसद हुन् भने फोरम नेपालका उम्मेदवार सिंह उक्त पार्टीका केन्द्रीय सदस्य हुन्।

कसको विगत के?

सिरहाको सीमावर्ती औरही गाउँपालिका ५ स्थायी घर भएका ६१ वर्षीय सुरेशचन्द्र दास यादव लामो समय कांग्रेसको राजनीति गरेका हुन्। बाबु देवनाथ दास यादवको विरासत थाम्दै राजनीतिमा आएका पुराना र अनुभवी राजीनितकर्मी दास कात्तिक १६ गते उम्मेदवारी दर्ता गर्नुभन्दा चार दिनअघि मात्र माओवादी केन्द्र प्रवेश गरेका हुन्। राणा शासनको अन्त्यपछि २०१५ सालमा भएको आम निर्वाचनमा तत्कालीन सप्तरी जिल्लाबाट (२०१८ अघि सिरहा– सप्तरी एउटै जिल्ला थियो) दासका बाबु देवनाथले देशभरमै सबैभन्दा बढी मत ल्याएर चुनाव जितेका थिए।

निरंकुश पञ्चायती व्यवस्था सुरु भएपछि भारतको दरभङ्गामा निर्वासनमा रहेका बेला बाबुसँगै उतै बसेका सुरेश पनि त्यतिबेलैदेखि राजनीतिको महत्व बुझेको बताउँछन्। भारत निर्वासनको लामो बसाइपछि नेता वीपी कोइराला राष्ट्रिय मेलमिलापको नीतिसँगै नेपाल फर्किएपछि दास बाबुछोरा पनि नेपाल फर्किएका थिए।

२०४८ सालमा भएको आम निर्वाचनमा सिरहाको ३ नं. क्षेत्रबाट चुनाव लडेका उनले जिल्लामै सबैभन्दा बढी मत ल्याएर जिते। २०५१ सालको मध्यावधि निर्वाचनमा पुनः त्यही क्षेत्रबाट चुनाव जितेका दास २०५२ सालमा शेरबहादुर देउवाको सरकारमा स्वास्थ्य मन्त्री समेत बने।

जीवनको लामो कालखण्ड कांग्रेसमा बिताएका दासले आसन्न निर्वाचनमा माओवादी केन्द्रबाट वाम गठबन्धनका उम्मेदवार बन्नुको कारण खोतल्दै सुनाए ‘मैले कांग्रेसका लागि धेरै गरें, तर अब कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले चलाएको जस्तो कांग्रेस रहेन, जनमत रहेका नेता कार्यकर्ताको चरम् उपेक्षा गरियो, नातावाद कृपावाद मौलाएपछि बाध्य भएर वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रबाट चुनाव लड्दैछु।’

पछिल्लो करिब एक वर्षदेखि कांग्रेसको सिरहा जिल्ला सभापतिको भूमिकामा रहेका रामचन्द्र यादव २०७० सालको दोस्रो संविधानसभामा सिरहा क्षेत्र नं. ४ बाट सांसद भएका व्यक्ति हुन्। सिरहाको तत्कालीन फूलकहाकट्टी गाविसको २०४९ र २०५४ मा अध्यक्ष भएका यादव आफ्नो पुर्ख्यौली घर रहेकै धनगढीमाइ नगरपालिकामा पछिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसको अवस्था खस्किएको भए पनि जनताले आफूलाई नै चुन्ने दावी गर्छन्।

‘मैले संविधानसभामा जितेपछि पनि क्षेत्रका जनतासँग सम्पर्कमा छु’ निर्वाचन जित्ने आधार पेश गर्दै उनले भने ‘कांग्रेससहित अन्य सबै दलसँगको समन्वयमा क्षेत्रको विकास निर्माणमा लागेको छु, क्षेत्रका विभिन्न सामुदायिक विद्यालय, सडक, पुल पुलेसा, खानेपानी, सामुदायिक भवन निर्माण गर्न सघाएको छु।’

पहिलो मधेस आन्दोलनपछि २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट सिरहा क्षेत्र नं. ४ बाट संविधानसभा सदस्य बनेका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शत्रुधन विजय गच्छदारको फोरम लोकतान्त्रिकमा प्रवेश गरे। 

त्यसपछि पर्यटन राज्यमन्त्री बनेका सिंह सरकारको फेरबदलसँगै बाहिरिएनन् मात्र, दोस्रो संविधानसभापछि पुनः उपेन्द्र यादवकै नेतृत्वमा रहेको फोरममा प्रवेश गरेपछि केन्द्रीय सदस्य हुँदै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। ‘मैले निर्वाचन जितेपछि जनता आवास कार्यक्रम, जिल्लाको चार ठाउँमा पुल निर्माणसहित पर्यटन पूर्वाधार विकासका लागि काम गरेको छु, त्यसैले जनताले यो पटक मलाई जिताउँछन्’ सिंहले भने।

कुन दलको कति मत ?

धनगढीमाई नगरको १२, सुखीपुर नगरको १०, गोलबजार नगरको एकसहित लक्ष्मीपुर पतारी, बरियारपट्टि, नवराजपुर, औरही र अर्नमा गाउँपालिकाका ४१ वडाहरु समेटेर कायम गरिएको क्षेत्र नं. २ मा दुई तेस्रो लिङ्गीसहित ८८ हजार ८९ मतदाता छन्। स्थानीय तहको पछिल्लो निर्वाचनमा धनगढीमाई, गोलबजार, औरही र अर्नमामा माओवादी केन्द्रले जितेको छ भने लक्ष्मीपुर पतारी, बरियारपट्टिमा फोरमले जितेको छ।

नवराजपुरमा कांग्रेस र सुखीपुर एमालेले जितेको छ। क्षेत्र नं. २ अन्तर्गत पर्ने आठ स्थानीय तहका ४१ वडाको मतको आधारमा एमालेले १३, माओवादी केन्द्र र कांग्रेस ९/९, फोरमले १० वडामा जितेको छ। क्षेत्रको ४१ वटै वडामा दलहरुले पाएको मत अनुसार एमाले १५ हजार चार सय ४३ मतसहित पहिलो, कांग्रेस १५ हजार चार सय १३ मतसहित दोस्रो, फोरम १४ हजार चार सय ७७ मतसहित तेस्रो, माओवादी केन्द्र ११ हजार दुई सय ७१ मतसहित चौथो र राजपा नेपाल दुई हजार तीन सय ७५ मतसहित पाँचौं स्थानमा रहेको छ।

वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा पाएको मतलाई जोड्दा २६ हजार सातसय १४ हुन्छ जुन कांग्रेसले पाएको मतभन्दा ११ हजार तीन सय एक मत बढी हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.