|

२०४६ सालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना भएपछि दलहरू खोल्ने लहर नै चल्यो। कुनै बेला टेलिफोनको सीमितताका कारण कालो टेलिफोनको कालो बजारी भइरहेका बखत राजनीतिक दल खोलेपछि सित्तैमा टेलिफोन पाइने भएका कारणले पनि टेलिफोन पार्टीका रूपमा दलहरूको संख्यामा वृद्धि भएको थियो।

पछिल्लो समय १८ हजार भोटमा एक सिट सांसद पाइने र एक सिट सांसद भए मन्त्री बन्न सकिने भएका कारण पार्टीहरूको ह्वात्तै बढोत्तरी भएको पाइन्छ। बहुदलको पुनःस्थापनापछि दलहरू जुट्नेभन्दा फुट्ने प्रवृत्ति बढी देखियो। यो प्रवृत्तिले दलहरूप्रतिको अविश्वास त पैदा गरायो नै, राजनीतिक अस्थिरताको शिकार सिंगो मुलुक बन्यो। दलहरूको यो हालतबाट सत्ता टाढा पुग्ने र पाइहाले पनि वर्षगाँठको उत्सवको दिन मनाउन पनि नपाइने भएका कारण राजनीतिक दलहरू आफैँलाई हेक्का भएका कारण पहिला वामपन्थी गठबन्धन बन्यो र त्यसको प्रतिउत्तरमा लोकतान्त्रिक गठबन्धनका नाममा दक्षिणपंथी गठबन्धन बनेर निर्वाचनमा होमिएको अवस्था छ।

गठबन्धन: सकारात्मक सन्देशः
राजनीतिक अस्थिरताले अक्रान्त नेपाली राजनीतिमा गठबन्धन संस्कृतिको थालनी हुनु सबैका लागि खुसीको कुरा हो। यसले राजनीतिक स्थायित्व प्रदान गर्ने आशा गर्न सकिन्छ। अस्थिर राजनीतिका कारण सिर्जना गर्ने विकृति, विसंगति र खराबीहरूको निदान हुने विश्वास पनि गरिएको छ। वामपन्थी गठबन्धनले अर्को ध्रुवलाई पनि एकीकृत हुन उत्प्रेरित गर्‍यो, जसमा बाँकी रहेका प्रायः सबै दलहरूको संलग्नता देखियो।

कांग्रेस, राप्रपा, राजपालगायतका मधेसवादी दलहरूको पनि संलग्नताले नेपाल स्पष्ट ढंगले दुई दलीय राजनीतिको मार्गचित्रमा अघि बढ्यो। बीचमा रहेका दलहरूलाई पनि छनोटको अवसर प्राप्त भयो भने जनतालाई पनि छनोटको राम्रो अवसर उपलव्ध भयो। यसर्थ गठबन्धनले नेपाली राजनीतिमा सकारात्मक सन्देश दिएको कुरामा कहीँ कतै विवाद छैन। 

आर्थिक समृद्धि गठबन्धनका कार्यसूचीः
गठबन्धन बन्नु मात्रै पनि नेपाली राजनीतिका लागि खुसीको सन्देश थियो नै, अझ आर्थिक समृद्धि गठबन्धनको कार्यसूची बन्नु नेपाली जनताका लागि झन खुसीको कुरा बन्न पुगेको छ। राजनीतिक आन्दोलन अब संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएपछि पूरा भएको छ, अब आर्थिक आन्दोलनको थालनी गर्न जरुरी छ भन्ने हेक्का हुनु सबैभन्दा खुसीको कुरा त हुँदै हो, राजनीतिक दलहरूको परिपक्वता पनि हो। 

आजसम्मको राजनीतिले व्यवस्था बदल्न योगदान गर्‍यो, अबको राजनीतिले अवस्था बदल्न योगदान गरोस् भन्ने अपेक्षा गरिएको हो। देश र जनताको अवस्था बदल्ने भनेको गरिवीको अवस्था, बेरोजगारीको अवस्था र भ्रष्टाचार एवं अविकासको अवस्था बदल्नु अहिलेको प्राथमिकता हो। यस विषयमा पनि दलहरू सहमत भएका छन्। अझ खुसीको कुरा त के हो भने दुई भिन्न दृष्टिकोण राख्ने भिन्न पृष्ठभूमि बोकेका आपसमा प्रतिस्पर्धामा उत्रिएका दुई भिन्न गठबन्धनहरूको समान दृष्टिकोण बन्न पुगेको छ। यो सवैभन्दा खुसीको कुरा हो। 

देश र जनताको अवस्था बदल्ने कार्यसूचीः
राजनीतिक दलहरू सबैको मुख मिलेको कुरा भनेको अब देश र जनताको अवस्था बदल्नुपर्छ भन्ने हो। नेपालमा राजनीति आरम्भ भएदेखिको ध्येय व्यवस्था र अवस्था बदल्ने थियो। राज्यको व्यवस्था बदलिएको छ। व्यवस्था बदल्ने क्रममा राजतन्त्रको ठाउँमा गणतन्त्र, एकात्मक शासनका ठाउँमा संघीय शासन व्यवस्था, हिन्दू अधिराज्यका ठाउँमा धर्मनिरपेक्षता ‘एउटै जाति, एउटै भेष, एउटै भाषा, एउटै देश’ भन्ने असमावेशी लोकतन्त्रको ठाउँमा समावेशी लोकतन्त्र स्थापना भएको छ। 

राजनीतिक व्यवस्था बदल्नका लागि यी ऐतिहासिक उपलब्धि हुन् तर जनताको अवस्था बदल्न अब धेरै गर्न बाँकी छ। देश गरिवी, बेरोजगारी र भ्रष्टाचारले गाँजिएको छ। यी चिजबाट मुक्ति अबको खाँचो हो। सबैले देश र जनताको अवस्था बदल्ने कार्यसूचीलाई नै प्रथम कार्यसूची बनाएका छन्। दुवै गठबन्धनले लिएको यो कार्यसूची यतिबेला जनताको मनमनमा छाएको छ।

कहिल्यै कल्पना नगरिएका पात्रहरूको कित्ता परिवर्तन र अस्वाभाविक र अप्राकृतिक लाग्ने खालमा संलग्नता र सहकार्यका उदाहरणहरूले यी गठबन्धनहरूका बारेमा सोच्न बाध्य बनाए। गठबन्धनहरू स्वचालित हुन् कि संचालित हुन् भन्ने अहं प्रश्न नेपाली राजनीतिमा खडा भयो। यस्तो संशय पैदा भएको सन्दर्भमा संशयहरूलाई अनदेखा गरेर अघि बढ्न संभव छैन। 

गठबन्धनका चुनौतीहरू
गठबन्धनले राम्रो र सकारात्मक सन्देश दिएकै छ। आशा पनि जगाएको छ। लोकतान्त्रिक छनोटको अधिकार पनि दिएको। विकल्पका रूपमा एकअर्कालाई उभ्याएका छन्। यो अत्यन्तै सकारात्मक कुरा हुँदाहुँदै पनि गठबन्धनका केही खराबीहरू छन्, तिलाई बेलैमा बिदा गर्न आवश्यक छ। 

सत्तास्वार्थमा केन्द्रित होइन भन्ने पुष्टि गर्नुपर्छ
निर्वाचनपूर्व गठबन्धनहरू बने, सबैले खुसी मनाए। दल आवद्ध कार्यकर्ताहरूले दीपावली नै गरे। गठबन्धन गर्ने दलहरूले ऐतिहासिक परिघटना नै भने। तर आम रूपमा बुझाइ विस्तारै के बन्दै गएको छ भने यी गठबन्धनहरू साँच्चै देश र जनताको अवस्था बदल्ने चाहनाका साथ बनेका हुन् कि आफ्नो सत्तास्वार्थको आधारमा बनेका हुन्? 

आजसम्म राजनीतिक दलहरूको स्वार्थ सत्तामा जसरी पनि जाने र सत्तामा गएपछि जसरी पनि टिकिरहने प्रवृत्ति हावी रह्यो। शान्ति र संविधान जस्तो अहं महत्त्वको कार्यसूचीलाई पनि छाडेर हरेक वर्ष जस्तो सरकार फेरिरहन दलहरूलाई कसैले रोक्न सकेन। संविधानसभाबाट संविधान बनाउने जस्तो ऐतिहासिक कार्यभार पनि शीर्ष नेताहरूको ध्यान सत्ता प्राप्त गर्न र जोगाउनमा नै केन्द्रित रह्यो। दोस्रो वरियताका नेताहरूको अथक मेहनतका कारणले मात्रै संविधान निर्माण संभव भयो भन्ने कुरा विश्लेषकहरूले हेक्का राखेकै छन्।

संविधान कार्यान्वयनको यो ऐतिहासिक चरणमा पनि चार वर्षमा चार सरकार फेर्ने कर्म दलहरूले गरेरै छाडे। यही कारण दलहरूको यो गठबन्धन सत्तास्वार्थका कारणले बनेको होइन भन्ने कुरा व्यवहारतः पुष्टि नगर्दासम्म जनताले पत्याउन सकेका छैनन्। 

निर्वाचनपूर्वको गठबन्धन एजेण्डा केन्द्रित हुन्छ तर निर्वाचनपछिको गठबन्धन सत्ता केन्द्रित हुन्छ भन्ने राजनीतिशास्त्रको सामान्य अनुमान पनि हालैका दलहरूका क्रियाकलापले असत्य सावित गरिदिएका छन्। त्यसैले दलहरूलाई यो गठबन्धन फगत सत्तास्वार्थका कारणले बनेको होइन भनेर प्रमाणित गरेरै देखाउन चुनौती छ। 

धनवाद र डनवादको वर्चस्वलाई व्यवस्थापन गर्ने चुनौतीः 
नेपाली राजनीतिमा यो स्थापित भइसकेको छ कि चुनाव जित्ने हो भने धन र डनको जोहो गर्न जरुरी छ। उम्मेदवारको योग्यता, क्षमता र जनतामा हासिल गरेको लोकप्रियताको नेपाली राजनीतिमा, त्यसमा पनि निर्वाचनको राजनीतिमा कुनै काम छैन भन्ने नै प्रमाणित भइसकेको छ। गठबन्धनका हालैका टिकट वितरणका बखत देखापरेका घटनाहरू नै यस तथ्यलाई पुष्टि गर्न काफी छन्। आफैँले सत्ता सम्हालेका बखत गंभीर अपराधका दोषी वा फरार अपराधी करार गरिएका मानिसहरूले टिकट प्राप्त गरेका छन्। डनको साथ र धनको जोहो गर्न नसक्ने इमान्दार मानिसहरू राजनीतिक खेलबाट जबर्जस्त बाहिरनुपरेको छ। 

हालैको स्थानीय निर्वाचनमा पहिलो बन्न सफल पार्टीका उपाध्यक्षले धन र डनको जोहो गर्न नसक्ने भएका कारणले आफू उम्मेदवार बन्न नसकेको भनेर दिएको सार्वजनिक अभिव्यक्ति यस तथ्यको साक्षी हो। अव्यक्त साक्षीहरू यत्र तत्र सर्वत्र छन्। यस्तो चुनौतीलाई गठबन्धन बनाएर हौसिएका दलहरूले कसरी व्यवस्थापन गर्ने हुन्? निकै चासोका साथ हेरिएको छ। संसदको निर्वाचनको छाया गैरनाफामूलक र विशुद्ध पेसागत संगठनहरूमा पनि देखापर्ने गरेको छ। यो चुनौतीको सामना गर्दै धनवाद र डनवादको नेपाली राजनीतिमा कुनै स्थान छैन भन्ने कुरा व्यवहारतः पुष्टि गर्ने चुनौती दलहरूलाई छ।

शक्तिकेन्द्रहरूको दबाबलाई सामना गर्ने चुनौतीः
गठबन्धनहरू बन्दै गर्दा नेपाली राजनीतिक दलहरूलाई हेक्का भयो र राजनीतिक स्थिरताका लागि गठबन्धन बनाउन लागे भन्ने नै निष्कर्ष निकालिएको थियो। यो निष्कर्ष निकाल्न पाउँदा नपाउँदै यो गठबन्धन अमुक शक्तिकेन्द्रको निर्देशनमा बनेको हो भने यसको काउण्टरमा अर्को किन नबनाउने भन्ने चर्चा मात्रै भएन, व्यवहारमा नै देखापर्‍यो। 

यसका साथसाथै कहिल्यै कल्पना नगरिएका पात्रहरूको कित्ता परिवर्तन र अस्वाभाविक र अप्राकृतिक लाग्ने खालमा संलग्नता र सहकार्यका उदाहरणहरूले यी गठबन्धनहरूका बारेमा सोच्न बाध्य बनाए। गठबन्धनहरू स्वचालित हुन् कि संचालित हुन् भन्ने अहं प्रश्न नेपाली राजनीतिमा खडा भयो। यस्तो संशय पैदा भएको सन्दर्भमा संशयहरूलाई अनदेखा गरेर अघि बढ्न संभव छैन। 

दलहरूका सामु यी गठबन्धनहरू हाम्रा विवेकले र हाम्रै आवश्यकताले र हाम्रै पहलकदमीमा बनेका हुन्, शक्तिकेन्द्रको चाहना, निर्देशन र खटनपटनको कुनै गुन्जायस छैन भन्ने कुरा बोलीले होइन, व्यवहारबाटै पुष्टि गर्न दलहरूलाई चुनौती छ। सँगसँगै शक्तिकेन्द्रको चाहनाले नबनेका भए पनि बनिसकेपछि तिनलाई उपयोग,  प्रयोग वा दुरूपयोग गर्ने उनीहरूको प्रयत्न हुनेछ। यस बखत पनि गठबन्धनका तालुकदारहरूले आआफ्ना गठबन्धनहरूलाई फगत सत्तास्वार्थका निम्ति त्यो खतराबाट पनि बचाउन जरुरी छ। 

अन्तमा, गठबन्धनहरू गंभीर अवसर र चुनौतीहरूका दोसाँधमा खडा भएका छन्। परिस्थितिले सिर्जना गरेका अवसरहरूलाई चुम्न सक्दा अग्रगामी फड्को मार्ने प्रचुर संभावना छ। अवसरलाई सदुपयोग गर्न नसक्दा त्यही चुनौतीमा बदलिन सक्छ। ठीक यसरी नै चुनौतीको बुद्धिमत्तापूर्ण ढंगले सामना गर्न सक्दा चुनौतीहरूलाई अवसरमा बदल्न सकिने संभावना पनि रहन्छ। 

त्यसैले दलहरूको परीक्षा र गठबन्धनहरूको भविष्यलाई जनताले नियाल्दै छन्। दलहरू, नेता र कार्यकर्ताहरूले आफूलाई जनताको चाहनाको पक्षमा खरो उतार्न सके देश र जनतासँगै राजनीतिले पनि सफलता हासिल गर्नेछ। यसो गर्न नसक्दा यही गठबन्धन गलपासो बन्ने संभावना पनि त्यतिकै छ। आशा गरौँ, गठबन्धन देश र जनताको अवस्था बदल्ने सशक्त साधन बन्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.