प्रकाशमानप्रति असन्तुष्ट, अनिलप्रति छैन प्रतिक्रिया

|

काठमाडौं : 'आदरणीय जनसमुदायहरु, आदरणीय दिदीबहिनी दाजुभाइ तथा आमाबुबा, हाम्रो पार्टीका उम्मेदवार तपाईंको घरआँगनमा आउनुभएको छ…' बिहानीको घामले शितका थोपाहरुलाई सुकाउदै गरेको अवस्थामा पुरानो बानेश्वरबाट अलि अगाडि सिनामंगलतिर लाग्दै गर्दा माइकमा यस्तै आवाज सुनियो।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको दिन मंसिर १० र २१ नजिकिदो छ। चुनावको बेला यस्ता आवाज आइरहन्छन् भन्ने लाग्यो। केही मान्छे हातमा प्लेकार्ड बोकेर जम्मा सडकमा भएका थिए। अलि अगाडि माइक लिएका दुई जना माइकमा एकोहोरो 'आदरणीय जनसमुदायहरु, आदरणीय दिदीबहिनी…' भनिरहेकै थिए। केही मान्छे जम्मा भएका थिए र त्यो भीडको केन्द्रमा कपाल सेताम्मे भएका व्यक्ति थिए। सबैको घेरामा परेका उनी थिए रवीन्द्र मिश्र।

बीबीसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर विवेकशील साझा पार्टीमा आवद्ध मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्। कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह र वाम गठबन्धनका अनिल शर्मासँग प्रतिस्पर्धामा उत्रिएका उनी एक महिनादेखि यसरी नै बिहानैदेखि घरदैलोमा छन्, मतदाताको मनमा बस्ने अभियानमा लागेका छन्।

'मर्निङ वाक' र 'चिया पिउने'बेला पत्रकारिताबाट चर्चा कमाएका र अहिले आफ्नै क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेर 'हिम्मत गरेका रवीन्द्र'लाई भेटेकाहरु फोटो खिच्नेदेखि सुझाव दिनेसम्म थिए। अरु नेतालाई जस्तो 'यस्तो गर्नुभएन र उस्तो गर्नुभएन, चुनावका बेला मात्रै आउने?' जस्ता गुनासो गर्नेको संख्या भन्दा पनि काम नगर्ने नेताका विगतका कारण शंका गर्नेहरु भने थिए।

बुबाका साथीदेखि गाडी चालकसँग मागे भोट

काठमाडौंको भीमसेन गोलामा रवीन्द्र मिश्रको चुनावी घरदैलो चलिरहेका बेला एकजना व्यक्ति कारमा कतै गइरहेका थिए। रवीन्द्र मिश्र भोट माग्दै हिँडिरहेको देखेपछि उनले कार रोके। नमस्कार साटासाट गरेपछि कार भित्रैबाट उनले गुनासो पोखे 'बाटोमा गाडी गुडाउनै नमिल्ने भइसकेको छ, रातारात पिच भइरहेको छ तर त्यो के काम लाग्ला र!'

मिश्रले आफू बस्ने ठाउँको पनि यस्तै समस्या रहेको प्रतिक्रिया दिए। 'यो तपाईंकोमा मात्रै होइन मेरो टोलमा पनि त्यही भइरहेको छ। देशभर त्यही भइरहेको छ', सडको अवस्था सुधार गर्न देशको व्यवस्था सुधार्नुपर्ने आशय व्यक्त गरे मिश्रले। 'यो सम्पूर्ण व्यवस्थामा परिवर्तन गर्नुपर्छ। त्यसैका लागि हामी भोट मागिरहेका छौं' उनले भने। 

कार भित्र रहेका मतदाताले मिश्रको चुनावी पर्चा हेरेजस्तो गरे। मतदातामा संशय पैदा भएको जस्तो अनुभव गरेर होला मिश्रले अगाडि भने, 'महानगरपालिकासँग मिलेर के गर्न सक्छौं त्यो गर्ने नै छु भनेर भनेको छु', पर्चातिर इंगित गर्दै उनले थपे, 'गर्न सक्ने कुरा म गर्नेनै छु।' यसरी कार र मोटरसाइकल रोकेर मिश्रसँग कुरा गर्नेहरुको संख्या पनि कम थिएन।

मतदाताका कुरा गम्भीर भएर सुन्ने र मुस्कुराएर प्रतिक्रिया दिने। आफ्ना कुरा प्रष्टसँग राख्ने तथा विपक्षीको विरोधभन्दा आफ्नो राजनीतिमा प्रवेश गर्नुको लक्ष्य मतदातामा राख्ने गरिरहे। मिश्रसँग फोटो खिच्नेदेखि भोट दिन्छु भनेर प्रतिवद्धता गर्नेहरुको संख्या पनि उल्लेख्य थियो।

घरदैलोकै क्रममा मिश्र आफ्नो टोलमा आउँदै गरेको देखेपछि एक वृद्धले गेट खोले। प्रचारप्रसार टोलीलाई आफूतर्फ आउँदै गरेको देखेर उनले रवीन्द्रलाई बोलाए। उनी मिश्रका बुबा मनुजबाबु मिश्र बंगलादेशमा फाइन आर्ट पढ्न गएका बेलाका साथी रहेछन्। उनी थिए मोहन प्याकुरेल। मत माग्न आएका साथीका छोरालाई उनले सांकेतिक रुपमा भने, 'हामी यो उमेरको मान्छे जोखेर मात्रै भोट हाल्छौं, जोखेर जो भारी छ त्यसलाई मात्रै भोट हाल्छौं। हामी कसैलाई बुढो जवान भनेर भोट हाल्ने होइनौं जोखेर मात्रै भोट हाल्ने हौं।'

तराजु चुनाव चिह्न लिएर राजनीतिक मैदानमा उत्रिएका मिश्रले कुरा बुझे र भने, 'त्यति गरिदिनुभयो भने हामी त्यसमा पर्छौं भन्ने कुरामा विश्वस्त भए।' मिश्र अर्को घरमा पुगेपछि प्याकुरेल आफ्ना साथीसँग भन्दै थिए, 'यो केटो मेरो साथीको छोरो हो, केही गर्छ जस्तो छ। बीबीसीको जागिर छोडेर राजनीतिमा त्यो पनि हाम्रो क्षेत्रमा आएको छ, राम्रो गर्‍यो।'

कांग्रेस कार्यकर्तालाई मन बदल्न आग्रह

घरदैलोकै क्रममा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको चुनावी सम्पर्क कार्यालय आयो। कार्यालय बाहिर नेपाली कांग्रेसका तीन चार कार्यकर्ता थिए। मास्क लगाएर घाम तापिरहेका उनीहरुलाई मिश्रले नमस्ते गरे र हात मिलाउदै आफू घरदैलो गर्नुको ध्येय बताए।

कांग्रेस कार्यकर्ताहरुले आफूहरु 'कमिटेड भएकोले भोट नमागे पनि हुने' संकेत गरे। उनीहरुको कुरा सुनेर रवीन्द्र आफ्नो बाटो लागेनन्। उनले भने, 'कमिटेड भोटर्सको मन बदलिएन भने तपाईले मास्क लाउने स्थिति अर्को १० वर्ष पनि बदलिदैन। तपाईले संघर्ष गरेर नेताको पछि लागेर फाइदा लिनुपर्ने स्थिति अर्को १० वर्षसम्म पनि बदलिदैन।'

उनले कुरै कुरामा आफ्ना प्रतिस्पर्धी प्रकाशमान सिंहको आलोचना गरेर उनीहरुको मन जित्ने कोशिस गरे। उनले भने, 'तपाई हामीले भोट दिएका मान्छेलाई पानीको, छोराछोरीको, बिजुलीको, पैसाको, स्वास्थ्यको केहीको पनि चिन्ता गर्नु नपर्ने तर तपाईं र मेरो परिवारलाई चाहिँ सबैको चिन्ता गर्नुपर्ने हुनाले तपाईहरु जस्ता मान्छेको मन परिवर्तन भयो भने देशमा परिवर्तन हुन्थ्यो।'

रवीन्द्रको देश परिवर्तनका कुरा सुनेपछि एकजनाले भने,  'देशको भन्दा पनि टोल परिवर्तन भए हुन्थ्यो, आफ्नो टोल बने देश परिवर्तन भइहाल्छ।' मिश्र अलि लचिलो भएर प्रस्तुत भए, 'हामी के भनिरहेका छौं भने जो कटिबद्ध भोटर छन् उनीहरुले आफ्नो घरको बा, आमा, छोरा, छोरीलाई हामीलाई भोट हाल्न लाउनुपर्‍यो।'

त्यसो त रवीन्द्र मिश्रसँगको चुनावी घरदैलोमा लामो समय कांग्रेसमा लागेका व्यक्तिहरु नै बढी थिए। उनीहरु विगतमा चुनाव जितेकाले केही नगरेको भन्दै विकल्प खोजेको बताइरहेका थिए। त्यस्तै मध्येका एक थिए ७१ वर्षीय गणेशकुमार श्रेष्ठ। २६ वर्ष कांग्रेसको क्रियाशील सदस्य रहेका उनले भने, '६० वर्ष प्रजातन्त्र भनेर नेपाली कांग्रेसमा लाग्यौं, त्यो गलत रहेछ। चाहिने त विकास रहेछ' उनले थपे, 'हाम्रो जुनी त यस्तै गयो हाम्रा छोरा नातीको पालमा विकास होस् भनेर विकल्प खोजेका हौं।'

बिहान भोट माग्ने दिउँसो क्याम्पस र काममा

मिश्र यसरी घरघर पुग्दै गर्दा उनको साथमा लागेर भोट माग्न हिडेकाहरु क्याम्पस र काममा जानका लागि भन्दै छुटिरहेका थिए। बिहानको समय विवेकशील साझा पार्टीका उम्मेदवार मिश्रलाई मतदान गर्न मतदातालाई आग्रह गर्नमा लगाएका थिए। उनीहरु गएपछि घरदैलो अभियानमा वृद्धहरु थपिदै थिए।

यसरी चुनावी अभियानमा लागेकाहरु माइकिङ गर्ने, हरेक मतदाताका नाम र फोन नम्बर टिप्ने, पर्चा बाँड्ने, मतदातालाई आफ्ना कुरा बुझाउने गरिरहेका थिए। घरको बार्दलीबाट उम्मेदवारलाई हेरिरहेकाहरुलाई पर्चा दिने र आफू आउनुको उद्देश्य बताउने काम गरिरहेका थिए। बिहान ७ बजे घरदैलोमा आएका उनीहरु ९ बजेपछि भने 'अफिसको समय भयो, अब बुबाहरु पनि थपिनुभयो' भन्दै बाहिरिइरहेका थिए।

हेर्नुहोस् रवीन्द्र मिश्रको घरदैलोको भिडियो :

कांग्रेस खुल्लमखुला, एमाले सुसुप्त

रवीन्द्र मिश्रको अभियानमा नेपाली कांग्रेसका पुराना र युवा कार्यकर्ता/मतदाता लागिरहेका बेला नेकपा एमालेका कार्यकर्ता भने भोट हाल्ने बाचा गरिरहेका छन्। वाम गठबन्धनको प्रमुख घटक एमालेका कार्यकर्ताहरु परिवर्तनको पक्षमा भन्दै बाहिर भन्न नसकेपनि भोट भने तराजुमा नै हाल्ने बताइरहेको मिश्रको दावी छ। 'यहाँ एमालेका युवाहरु पनि भेटिएका थिए उनीहरु भन्दैथिए 'म एमालेको संगठीत सदस्य हुँ, तर मेरो भोट तपाईंलाई हुनेछ' मिश्रले भने, 'उनीहरु खुल्ला रुपमा हाम्रो लागि भोट माग्न चाहनुहुन्न, तर आफ्नो घरको र आफ्नो भोट हामीलाई दिन चाहन्छन्।'

वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता अनिल शर्मा उम्मेदवार भएको क्षेत्रमा एमालेका कार्यकर्ताले आफूलाई भोट हाल्ने बाचा गर्नुलाई मिश्रले पार्टीको निर्देशन मान्ने भन्दा पनि सही व्यक्ति रोज्ने मतदाताको चेतनामा आएको परिवर्तन भनेका छन्। उनले यसलाई मतदातामा आएको परिवर्नत मानेका छन्।

उनले युवाको पार्टी विवेकशील साझामा पुरानको पुस्ताको पनि साथले आत्मबल थपेको बताए। 'अहिले पूरानो पुस्ताका मतदाता पनि हामीलाई समर्थन गर्न तयार देखिएका छन् जुन घरदैलोको क्रममा देख्नुभयो' घरुदैलोको प्रतिक्रियाले उत्साहित देखिएका उनले भने, 'उहाँहरु हामीसँग भोट माग्दै हिँडिराख्नुभएको छ। ८० वर्षका वृद्धहरु पनि हामीसँग भोट माग्दै हिडिराख्नुभएको छ। हामीलाई पूरानो पुस्ताको पनि ठूलो समर्थन प्राप्त भइरहेको छ।' 

प्रतिस्पर्धी विरुद्ध केही भन्नु छैन

घरदैलोका क्रममा रवीन्द्र मिश्रले प्रतिस्पर्धी न सिंह र शर्माको विरोध गरे न कांग्रेस र माओवादी/वाम गठबन्धनको विरोधमा नै बोले। उनी आफ्नो पार्टीलाई यो पटक राष्ट्रिय पार्टी बनाइदिन र अर्को पटक देशको नेतृत्व लिने अनुमति दिन आग्रह गरिरहे। राष्ट्रिय पार्टी बन्नका लागि कम्तीमा प्रत्यक्षतर्फ १ सिट जित्नैपर्ने र समानुपातिकतर्फ खसेको मतको कम्तीमा ३ प्रतिशत भोट प्राप्त गर्नैपर्ने व्यवस्था छ। विवेकशील साझा पार्टी राष्ट्रिय पार्टी बन्ने मापदण्डका लागि मत मागिरहेको छ।

'व्यक्तिगत रुपमा प्रतिस्पर्धीप्रतिको धारणा के हो भनेर भन्न चाहन्न', घरदैलोमा हिँडिरहेकै बेला थाहाखबरसँग कुरा गर्दै मिश्रले आफू व्यवस्थाले नै समृद्धि र विकासतर्फको बाटो रोकेकोले त्यसमा परिवर्तन खोज्न राजनीतिमा लागेको बताए। उनले भने, 'अहिलेको व्यवस्थाले देश कहिले पनि विकास र समृद्धिको बाटोमा लान सक्दैन भनेर उनीहरुलाई चुनौती दिन र बदल्नका लागि हामी आएको हो।'

प्रकाशमानप्रति असन्तुष्ट

केही दिनअघि चुनावी कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले रवीन्द्र मिश्रको आलोचना गरेका थिए। सिंहले मिश्रका बुबा र आफ्ना बुबाको तुलना गर्दै मिश्रप्रति लान्छना लगाएका थिए। सिंहको उक्त शैलीले रवीन्द्र मिश्रलाई नरमाइलो भने भएको रहेछ।

सिंहको उक्त भनाइप्रति मिश्रको प्रतिक्रिया थियो, 'आफू चुनाव जित्नका लागि कसैले आफ्नो बुबाको आड लिएर अरुको बुबालाई होचो देखाएर त्यस्तो काम गर्न चाहन्छ भनेदेखि त्यसबारे म प्रतिटिप्पणी गर्न चाहन्न।'

चुनावका बेलामा मात्रै सडक पिच गरिरहेकोप्रति पनि मिश्रको असन्तुष्टी रहेछ। योजनावद्ध भन्दा पनि मतदाता रिझाउने पिच भएकोले त्यो नटिक्ने र जनताको पैसा मात्रै खेर जाने उनको भनाइ थियो। हाल भइरहेको पिचलाई 'चुनावी पिच'को संज्ञा दिएका मिश्रले भने, 'त्यसलाई चुनावी पिच भन्ने गरेको छु। त्यो चुनावी पिच भोट हाल्ने दिनसम्म पनि कायम रहन्छ कि रहन्न थाहा छैन। त्यो हेरेर जनताले भोट देलान् भन्ने मेरो विश्वास छ।'

रवीन्द्रले देखेको संकेत

जनताले भोट दिने आधार देखेरै रवीन्द्र मिश्र काठमाडौं १ मा उम्मेदवार बनेका रहेछन्। शिक्षित समुदाय रहेको मानिने यो क्षेत्रका मतदाता सधै विकल्पको खोजीमा रहने उनको अनुमान छ। उनी अब विकल्प खोज्न आग्रह गरिरहेका छन् जुन निर्विकल्प विकल्प आफू भएको दावी गरिरहेका छन्।

स्थानीय तहको निर्वाचनमा काठमाडौंमा छुट्टाछुट्टै लडेका राजनीतिक दलहरु विवेकशील र साझा पार्टी अहिले एक भएका छन्। उक्त चुनावमा तेस्रो र चौथो धेरै मत ल्याएका उनीहरु अहिले एक भएका छन्। त्यसमा पनि काठमाडौं क्षेत्र नम्बर १ बाट विवेकशील साझाका उम्मेदवारहरुले राम्रो मत प्राप्त गरेका थिए। त्यसैका आधारमा रवीन्द्र मिश्र काठमाडौं १ बाट उम्मेदवार बनेका हुन्। देशभरबाट पार्टीप्रति राम्रो प्रतिक्रिया आइरहेको बताउने विवेकशील साझाका संयोजक समेत रहेका रवीन्द्र मिश्रले स्थानीय तहमा पाएको मतमा थप भएर आफ्नो पक्षमा मत आउने आश गरेका छन्।

स्थानीय तह निर्वाचनमा काठमाडौं १ का जनताले विवेकशील साझा पार्टीलाई विकल्पको रुपमा लिएको संकेत पाएका मिश्रले भने, 'स्थानीय तहको निर्वाचनमा राम्रो मत प्राप्त गर्‍यौं, अबको चुनावमा पनि हामीलाई राष्ट्रिय पार्टीको रुपमा संसदमा पठाउनेछन् भन्नेमा ढुक्क छौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.