|

पर्वत : आउँदो मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पर्वत जिल्लाको चुनावी प्रतिस्पर्धा रोमाञ्चक हुने देखिएको छ। प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा पाँच पदका लागि चौध जनाको उम्मेदवारी परेको छ। प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट पूर्वसांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र वाम गठबन्धनबाट नेकपा एमाले जिल्ला अध्यक्ष पदम गिरी उम्मेदवार छन्।

यी दुवै नेताले जिल्लामा सरासर भोट तान्न सक्ने गरी नयाँ खालका कुनै पनि एजेण्डा र जिल्लाका खास योजनाहरु अगाडि सार्न सकेका छैन। भाषणका क्रममा भने उनीहरुले विकास निर्माण लगायत जनचासोका विभिन्न योजनाहरु सुनाइरहेका छन्।

अर्जुनप्रसाद जोशी

२०१३ सालमा पर्वत सदरमुकाम कुश्मामा जन्मिएका जोशी बाबु अमृतप्रसाद जोशीकै सिको गर्दै राजनीतिमा आएका हुन्। जोशीले २०४८ सालदेखि २०६४ सालसम्म १६ वर्षे अवधि नेपाली काग्रेस पर्वतको सभापतिको रुपमा बिताए। पहिलो पटक २०५६ सालको संसदीय निर्वाचनमा पर्वत क्षेत्र नं. १ बाट वियी बनेका जोशी संविधानसभा निर्वाचन २०६४ मा तत्कालिन नेकपा मोओवादीकी उम्मेदवार मनरुपा सुवेदी र २०७० मा पनि माओवादीकै नेत्र अधिकारीलाई पराजित गर्दै लगातार तीन पटकसम्मको संसदीय निर्वाचनमा 'ह्याट्रिक' गर्न सफल भएका थिए।

पर्वतका वासिन्दाले जोशीलाई कुशल राजनैतिक खेलाडीका रुपमा लिन्छन्। उनले जस्तै प्रतिकुल परिस्थितिमा पनि चुनाव हाँकेर आफ्नो पक्षमा जित ल्याउन सक्छन् भन्ने धेरैको बुझाई छ। राजनीति शास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका जोशी काठमाडौंको रत्नराज्य क्याम्पसमा उपप्रध्यापकको रुपमा समेत केही समय काम गरेर सक्रिय राजनीतिमा आएका हुन्। यस पटकको निर्वाचनमा पनि आफ्नो जित सुनिश्चित रहेको उनको दावी छ। उनी भन्छन्, 'मैले अहिलेसम्म मेरो स्वार्थको लागि केही गरिन, जे गरेँ जनताको लागि गरेँ। जनताको हितमा काम गरेकै भएर त तीन पटकसम्म जिताइदिनुभयो।'

जिल्लाका विभिन्न ठाउँमा सिञ्चाईँ, खानेपानी योजना, मोटरेबल पुलको निर्माण, सडक विस्तार र कालोपत्रे, घरेलु तथा हाते र साना उद्योगलाई तालिम प्रोत्साहन, कृषिमा बिभिन्न योजना लगायतका काम गरेकाले आफू बलियो उम्मेदवार रहेको जोशीको भनाइ छ।

जोशीलाई जिल्लाका कतिपय नेताहरुले भने कांग्रेसको जिल्ला समितिमा एकलौटी गरेको भन्दै असन्तुष्टी पनि व्यक्त गर्ने गरेका छन्। उनले शक्तिलाई केन्द्रिकरण गरी राखेको भन्दै पार्टीभित्रैका कतिपय नेताहरुसँग उनको त्यति प्रगाढ सम्बन्ध नरहेको पनि देखिन्छ। यसको पुष्टी यही प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस नेता राम शर्मा पौडेलले बागी उम्मेद्वारी दिनुले गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाकै उपस्थितिमा भएको समझदारीपछि पौडेलले बागी उम्मेदवारी फिर्ता लिए पनि मनोनयन दर्ता गराउने बेलामा उनले पत्रकार सम्मेलनकै आयोजना गरी पर्वत जिल्ला समितिमा एकलौटी भएको र अन्य कोही नेताको वास्ता नगरिएको बताएका थिए।

जोशीको विषयमा नेपाली कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले जोशी नेपाली कांग्रेस पर्वतको खम्बा भएको बताउदै यो निर्वाचनमा पनि जोशीले नै बाजी मार्ने तर्क गर्छन्। यसअघिका सबै निर्वाचनमा जिल्लाको क्षेत्र नं. १ बाट मात्र चुनाव लड्दै आएका थिए। अहिले भने पर्वतमा एउटामात्रै निर्वाचन क्षेत्र छ। जोशीले आफ्नो चुनावी कार्यक्रम  पुरानो २ नं. क्षेत्रको सुदुर दक्षिण गाउँ ह्वासबाट गरेका छन्। वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीमै अन्तरघात भएको कुरा पनि कांग्रेसभित्र चलेको छ। 

पदम गिरी

नेकपा एमाले पर्वतका अध्यक्ष रहेका गिरी वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार हुन्। २०३३ साल मंसिर ८ गते पर्वतकै कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा जन्मिएका उनले पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्। २०४६ सालमा अखिल पाचौँको सदस्य बन्दै राजनीतिमा होमिएका उनी २०६३ सालमा पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा निर्वाचित बने।

त्यसपछि जिल्ला फर्किएका उनी २०६६ सालबाट एमाले पर्वतको सचिवालय सदस्य एवं युवा फाँट प्रमुख बने।  २०७१ सालमा नेकपा एमाले जिल्ला कमिटी पर्वतको आठौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। उनलाई पार्टीभित्रका नेताहरुले ‘म्यान अफ दि इलेक्सन’ को नाम दिएका छन्। पार्टीभित्रको निर्वाचनमा उनले उम्मेदवारी दिएपछि अन्य पुराना नेताले नै ठूलो मतअन्तरले पराजित बन्नुपरेपछि उनले यो उपनाम पाएका हुन्।

उनलाई उनकै पार्टी र अन्य पार्टीका नेता र कार्यकर्ताहरुले पनि मिजासिलो, हँसिलो र छिट्टै जो संग पनि घुलमिल हुन सक्ने व्यक्तिको रुपमा चिन्छन्। अन्य पार्टीका कार्यकर्तालाई पनि बोलाउँदै र उनीहरुलाई पनि सहयोग गर्ने गिरीको बानी भएका कारण पनि उनी छोटो समयमै राजनीतिक उचाईमा चढ्न सफल भएका हुन्। पार्टीको संगठन विस्तारमा निकै सिपालु मानिने गिरीले कांग्रेस उम्मेदवार जोशीको जस्तै बजेट विनियोजन र अन्य भौतिक निर्माणमा भने खासै हात हाल्न पाएनन्। किनकी उनी प्रतिनिधिसभामा पहिलोपटक चुनाव लड्दैछन्।

गिरीलाई पार्टीभित्रै पनि कुशल राजनीतिक खेलाडी मानिएका कारण प्रदेश नं. ४ का पोलिटब्यूरो सदस्य गणेश तिमिल्सेनाले दावी गरिरहेको प्रतिनिधिसभाको टिकट उनले हात पार्न सफल बने। यस निर्वाचनमा आफूले सजिलै विजयको माला पहिरिने उम्मेदवार गिरीले दावी गरे। उनले भने, ‘अहिलेसम्मका नेताले के गरे भन्ने कुरा हामीले देखेका छौँ, अब जनताले नयाँपन चाहन्छन, जिल्लाको समृद्धि चाहन्छन्। त्यसैले मलाई जिताउछन् भन्नेमा म ढुक्क छु' उनले भने 'त्यसमा पनि हाम्रो गठबन्धन मतान्तरले पनि कांग्रेसको टिमभन्दा निकै अगाडि छ।’

संसदीय निर्वाचनमा तीन पटक लगातार जितेका कांग्रेस उम्मेदवार जोशी उनका लागि कठिन प्रतिस्पर्धी हुन्। जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नम्बर क मा जोशी र गिरी दुवैको बराबरी चर्चा रहेको भए पनि प्रदेश ख मा भने गिरीको उपस्थिति यस निर्वाचनमा मात्र बढ्दैछ।

सरकारी निकायबाट योजना पार्न नसक्ने भएका कारण उनी प्रदेश ख मा जोशी भन्दा कम लोकप्रिय मानिन्छन्। यद्यपी पर्वतमा कांग्रेस भन्दा एमालेको संगठन बलियो रहेका कारण प्रदेश ख का वाम गठबन्धनका नेता र कार्यकर्ताहरु निर्वाचनमा निकै खटिएका छन्।

यसबाहेक, प्रदेश ख का एमाले कार्यकर्ताहरुले प्रदेश सभाका लागि वाम गठबन्धनकै उम्मेदवार विकास लम्सालविरुद्ध केही आवाज उठाएका कारण त्यसले पनि प्रभाव पार्ने हो कि? भन्ने शंका छ। पूर्वसांसद लम्सालले आफू सांसद रहेकै बेला पत्नीलाई उपप्रमुखमा टिकट दिलाएको, पछि आफूले पनि प्रतिनिधि सभाका लागि दावी गरेर राजनीतिमा ‘आफूवाद’ हावी गर्न खोजेको आरोप लगाएपछि यो विषयले स्थानीय सञ्चार माध्यममा पनि चर्चा पायो।

पर्वतमा एमालेले आफ्नो उम्मेदवार गिरीले कांग्रेसका उम्मेदवार जोशीलाई १० हजार मतान्तरले पराजित गर्ने दावी गर्दै आएको छ। गिरी युवा नेता भएका कारण उनले अन्य पार्टीका पनि भोट तान्ने वाम गठबन्धनको ठम्याइ छ।

मत विश्लेषण

गएको वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा प्रमुख/अध्यक्षहरुले पाएको मत परिणामलाई आधार मानेर हेर्ने हो भने पर्वत जिल्लामा कांग्रेसलाई भन्दा एमालेलाई ५ हजार १४ मत बढी प्राप्त भएको थियो। कुल खसेको मतमध्ये वाम गठबन्धनको ३५ हजार २ सय ८४ र कांग्रेसको २९ हजार २२ मत र अन्य साना दलहरुले १ हजार २ सय ४८ मत पाएका थिए। साना दलहरुको मत पनि कांग्रेसमा जोड्ने हो भने कांग्रेसको कुल मत ३० हजार २ सय ७० मत हुन आउँछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.