|

बाँकेः राजनीतिक दलहरूबीच चुनावी तालमेल भएका कारण बाँकेमा चुनावी चहलपहल बढ्न सकेको छैन। तालमेल गरेका राजनीतिक दलहरूबीच छलफल र संयुक्त निर्वाचन परिचालन समिति गठन गर्नमा समय बितेका कारण राजनीतिक दलहरू चुनावी अभियान लिएर जनताको घरदैलोमा पुग्न नसकेका हुन्। 

राजनीतिक दलहरूले चुनावी अभियान चलाउन नसकेका कारण बाँकेका अधिकांश ठाउँ सुनसान छन्। चुनावको चहलपहल सुरु नभएपछि सर्वसाधारण मतदातालाई समेत निर्वाचनले छुन सकेको छैन। 

स्थानीय तहको निर्वाचनमा बाजागाजा र तामझामका साथ मनोनयन दर्ता गराएका दलका नेता र कार्यकर्तामा चुनावले छुन सकेको छैन। राजनीतिक दलका नेताहरू उत्साहित नहुँदा त्यसको असर सर्वसाधारण मतदातामा समेत परेको छ। निर्वाचन आउन एक महिना पनि बाँकी नभए पनि बाँकेमा चुनावी माहोल सुरु हुन नसकेको कानुन व्यवसायी विश्वजीत तिवारीले बताए। 

उनले मतदाताको घरमा गएर निर्वाचनको महत्त्वका बारेमा बुझाउने बेलासमेत राजनीतिक दलका नेता र कार्यकर्ताहरू मतदाताको घरदैलोमा पुग्न नसकेको बताए। ‘सबै दलका उम्मेदवार, नेता र कार्यकर्ताहरू बाहिर निस्किएका देखिँदैन, राजनीतिक दलहरूकै कारण मतदातालाई चुनावले छुन सकेको छैन’, उनले भने। 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मनोनयन दर्ता गराउने क्रममा खासै उत्साह नदेखिएको राजनीतिक विश्लेषक डा. जनार्दन आचार्यले बताए। ‘स्थानीय तह निर्वाचनका बेला देखिएको उत्साह अहिलेको निर्वाचनमा देखिएन’, उनले भने, ‘मनोनयन दर्ता गराउने क्रममा समेत नेता, कार्यकर्ताको सहभागिता कम थियो।’ 

मनोनयन दर्तामा समेत उत्साह देखिएन
स्थानीय तह निर्वाचनका क्रममा मनोनयन दर्ता गराउने क्रममा राजनीतिक दलहरूले बाजागाजासहित शक्ति प्रदर्शन गरेका थिए। राजनीतिक दलका नेता र कार्यकर्ताका कारण नेपालगन्जका विभिन्न स्थानमा ट्राफिक समस्यासमेत उत्पन्न भएको थियो। प्रहरीलाई मनोनयन दर्ता गराउने रुट मिलाउन हम्मेहम्मे परेको थियो। रुट मिलाउन नसक्दा एमाले र राप्रपाका कार्यकर्ता आमनेसामने भएका थिए। प्रहरीले सजगता नअपनाएको भए भिडन्त हुने अवस्था सिर्जना भएको थियो। 

तर, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मनोनयन दर्ता गराउने क्रममा राजनीतिक दलहरूले निकालेको र्‍यालीमा कार्यकर्ताको सहभागिता र उत्साह कम देखिएको थियो। थोरै कार्यकर्ता लिएर राजनीतक दलका नेताहरू उम्मेदवारलाई लिएर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। ‘ठूला राजनीतिक दलको र्‍यालीमा समेत उत्साह देखिएन’, अनुगमनमा खटिएका मानवअधिकारकर्मी प्रभातकुमार ठकुरीले भने, ‘खै किन हो, कुनै दलको र्‍यालीमा यसपालि उत्साह थिएन।’

कार्यकर्ता निराश हुँदा चुनावी अभियानमा असर
राजनीतिक दलबीच भएको चुनावी गठबन्धनका कारण प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेता र कार्यकर्ता उत्साहित नभएको राजनीतिक विश्लेषक डा. आचार्यको अनुमान छ। आफ्नो दलका नेताले उम्मेदवारी नपाएका कारण राजनीतिक दलका नेता, कार्यकर्ता निराश भएकाले चुनावी अभियानले गति लिन नसकेको उनको बुझाइ छ। 

टिकट पाउने आशामा रहेका नेता र उनीहरूका कार्यकर्ताहरूमा निराशा छाएको थर्ड एलायन्स नेपालगन्जका मुहमुद आलम खानको भनाइ छ। उनले एमालेले उम्मेदवारी पाउँदा माओवादी केन्द्रका कार्यकर्ता निराश हुने र माओवादी केन्द्रका नेताले पाउँदा एमालेका कार्यकर्तामा उत्साह नआउने अवस्था रहेको बताए। बाँकेमा एमाले र माओवादी केन्द्र तथा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल भएको छ। 

माथिल्लो तहका नेताबीच भएको सहमतिबमोजिम चुनावी तालमेल भए पनि तल्लो स्तरका नेता, कार्यकर्ताबीच अझै घुलमिल हुन सकेको देखिँदैन। तल्लो तहका नेता र कार्यकर्ता एकआपसमा घुलमिल हुन नसकेका कारण यसको असर चुनावी अभियानमा परेको छ। ‘असन्तुष्टलाई मिलाएर लैजान दलहरूलाई ठिक्क छ, अभियान चलाउने समय असन्तुष्टलाई सम्झाइबुझाई गर्नमै बितेको छ’, कानुन व्यवसायी रुद्रमणि न्यौपानेले भने। उनले तालमेलले योग्य व्यक्ति उम्मेदवारबाट बन्चित भएकाले चुनावी माहोल बढ्न नसकेको बताए। 

गठबन्धनले चुनावी अभियान चलाउन ढिलाइ
गठबन्धन गरेका दलहरू एमाले र माओवादी केन्द्रले धमाधम निर्वाचन परिचालन समिति तथा संयोजन समिति गठन गरिरहेका छन्। दुवै पार्टीका जिल्ला कमिटी र उनीहरूका भ्रातृ संगठनका भेलाले संयोजन कमिटी गठन गरेर निर्वाचन परिचालन समिति गठन गर्नमा व्यस्त छन्। नेपाली कांग्रेस र राप्रपाबीच भएको भेलाले पनि बाँकेमा संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ। 

गठबन्धनले चुनावी अभियान संचालन गर्न ढिलाइ भएको नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलले बताए। उनले अहिलेसम्म गठबन्धन गरेका दलसँग छलफल र निर्वाचन परिचालन समिति गठन गर्नमै समय बितेको प्रस्ट पारे। गठबन्धन दललाई मिलाएर लैजानुपर्ने भएकाले अभियानले गति लिन नसकेको उनको भनाइ छ। ‘एक्लाएक्लै चुनावी मैदानमा भएको भए अहिलेसम्म कांग्रेसले चुनावी अभियान थालिसक्थ्यो’, सचिव पौडेलले भने। 

एमालेले पनि चुनावी अभियानलाई तीव्रता दिन नसकेको एमाले बाँकेका उपसचिव प्रमोद धितालको भनाइ छ। उनले माओवादी केन्द्र र एमालेको संयोजन समिति र संयुक्त निर्वाचन परिचालनलगायत अन्य उपसमिति गठन गर्नमै समय लागेको बताए। उम्मेदवार र केही नेताहरू मतदाता समक्ष पुगे पनि चुनावी अभियानलाई तीव्रता दिन नसकेको उनको धारणा छ। ‘एक्लै चुनावी मैदानमा उत्रिनु र गठबन्धन गरेर चुनावी मैदानमा होमिनु धेरै फरक हुँदोरहेछ, एमाले एक्लै चुनावी मैदानमा होमिएको भए अहिलेसम्म अभियानले तीव्रता पाइसक्थ्यो’, धितालले भने। 

माओवादी केन्द्र बाँकेका संयोजक आईपी खरेलले पनि सोचेजस्तो चुनावी अभियानले तीव्रता पाउन नसकेको बताए। उम्मेदवारहरू जनताको घरदैलोमै रहेको तर कार्यकर्ताहरू गाउँमा पुग्न नसकेको उनको भनाइ छ। उनले ३/४ दिनमै चुनावी अभियानले तीव्रता पाउने बताए। ‘अभियान संचालन नभए पनि नेता र उम्मेदवार मतदाताकहाँ पुगिरहेका छन्’, उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.