|

गोरखा : गोरखा क्षेत्र नं. २ मा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ आपसमा प्रतिस्पर्धा गर्ने भएकाले देशमै यो क्षेत्र चर्चित छ। कांग्रेसको समर्थनमा उम्मेदवार बनेका नयाँशक्ति नेपालका संयोजक भट्टराई र  वाम गठबन्धनका उम्मेदवार श्रेष्ठको छायामा परेका अर्का उम्मेदवार छन् नारायण अधिकारी।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका उम्मेदवार अधिकारीको चुनाव चिह्न मुठ्ठी रहेको छ। सरल र सर्वहारा जीवनशैली भएका, नम्र स्वभावका अधिकारी मंसिर १० गते हुने निर्वाचनमा गोरखा २ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेपछि चर्चामा छन्। अधिकारीले ल्याउने भोटले तीब्र प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक गठबन्धनका भट्टराई र वाम गठबन्धनका श्रेष्ठलाई केही न केही असर पुग्ने आँकलन गरिएको छ।

०६९ असारमा माओवादी छाडेर मोहन वैद्य निस्किएपछि अधिकारी पनि सो पार्टीमा सक्रिय भए र ०६९ देखि ०७३ सम्म गोरखा सेक्रेटरी, ०७३ देखि ०७४ सम्म गोरखा ईञ्चार्ज, ०७३ मा केन्द्रीय सदस्य र ०७४ मा निर्वाचित केन्द्रीय सदस्य भएका उनी गोरखा, लम्जुङ र मनाङ जिल्लाको ईञ्चार्ज रहेर काम गरिरहेका छन्।

बाबुसंगै राजनीतिमा छोरा :  

बाबु श्रीनाथ अधिकारी नेकपा मोटो मशालबाट राजनीतिमा सक्रिय थिए। कुरा ०३९ सालभन्दा अघिको हो। मोटो मशालका गोरखा सेक्रेटरी श्रीनाथ ०३९ देखि ०४० सम्म जेल परे। मुद्दा थियो, अराष्ट्रिय तत्व भएको। त्यसबेला पञ्चायतले पार्टीहरुलाई प्रतिबन्धित गरेको थियो।

‘बुवा आकलझुकल मात्रै घर आउनुहुन्थ्यो, उहाँ भूमिगत हुनुहुन्थ्यो’ पूराना घटना स्मरण गर्दै नारायण अधिकारीले सुनाए, ‘हजुरवुवा डालचन्द्रले नयाँ, नचिनेका मान्छे घरमा आए र बाबु खोइ? भनेर सोधे भने भन्नु खोइ मलाई त थाहै भएन।’ छोरा राजनीतिमा हिँडेको, भूमिगत भएको र जेल पर्न सक्ने डरले गर्दा त्यसबेला डालचन्द्रले नाति नारायणलाई झुठ बोल्न सिकाउनुपरेको थियो।

अहिले पनि श्रीनाथ अधिकारी सक्रिय राजनीतिमै छन्। कैयौं अवसरलाई लत्याउँदै उनी मोहन वैद्य नेतृत्वको माओबादीको पोलिटब्यूरो सदस्य र प्रदेश नं. ४ ईञ्चार्ज छन्। श्रीनाथले माओवादी जनयुद्ध पनि लडेका थिए।

बाबु राजनीतिमा लागेपछि छोरा नारायण पनि राजनीतितर्फ लागे। गोरखाको अजिरकोट गाउँपालिका हंशपुरस्थित ज्ञानज्योति माविको कक्षा सातमा पढ्दापढ्दै ०४७ सालमा उनले अखिलको सदस्यता लिएका थिए। पक्राउ पर्ने डर भएपछि गाउँ, घरमा बस्न नसेपछि उनी पनि घर छाडेर जनयुद्धमा होमिएका थिए। अधिकारीले विगतका कुरा यसरी सुनाए, ‘मैले एक दिन पनि कम्ब्याट ड्रेस लगाइन। मलाई फौजी होइन, राजनीतिक र संगठन निर्माणको जिम्मा पार्टीले दिएको थियो।’ ०४७ सालमा अखिलको सदस्यता लिएका अधिकारीले ०५२ सालमा माओबादी पार्टी सदस्यता लिए भने ०५४ सालदेखि पूर्णकालीन कार्यकर्ता बने।

०५६ सालमा एरिया कमाण्डर, ०५९ सालमा जिल्ला पार्टी सदस्य बनेर काम गरे। उनले गोरखा, लम्जुङ र कास्की बसेर काम गरेका थिए। ०५९ साउनदेखि ०६३ साउनसम्म कास्की जिल्लामा रहेर उनले काम गरे। शान्ति प्रक्रियापछि ०६६ मा तमुवान राज्य समिति सदस्य भए।

बहिष्कार भन्दा उपयोग नीति

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मोर्चा संगठन देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत् देशैभर उम्मेदवारी दिएको छ। सोही मोर्चाबाट अधिकारीले गोरखा २ मा मनोनयन गरेका हुन्।

अधिकारीले भने, ‘पार्टीले संसदीय भण्डाफोरको नीति लिएको छ। चुनाव बहिष्कार भन्दा उपयोगको नीति बमोजिम नै पार्टीको नीति र निर्णयअनुसार नै म चुनावमा उमेद्वार बनेको हुँ।’ संसदीय नेताहरुलाई हराउन आफूले उम्मेदवारी दिउको उनले खुलाए।

के भन्छन् त अधिकारी प्रतिस्पर्धीबारे ?

दुवै हेभी वेट नेताहरु एउटै क्षेत्रबाट उठ्नु गल्ती भन्दै अधिकारीले ब्यक्तिगत रुपमा डा. भट्टराई र श्रेष्ठप्रति कुनै गुनासो नभएको प्रतिक्रिया दिए। दुवै नेताहरु जिल्ला र देशका लागि आवश्यक भएको उनको भनाइ छ। यद्यपी डा. भट्टराई जत्तिको स्तरमा उनले श्रेष्ठलाई राखेका छैनन्।  ‘डा. भट्टराईसंग ०४८ देखि अहिलेसम्म निरन्तर राजनीतिक सम्बन्ध छ तर श्रेष्ठ पछि आन्दोलनमा जोडिनुभएको हो’ उनले भने। यद्यपी उनले डा. भट्टराईले लिएको लाइनलाई भने गलत ठानेका छन्।  ‘लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय आत्मसमर्पणबादी लाइन राम्रो होइन।’ डा. भट्टराईले गोरखा २ मा गरेका विकास, निर्माणका कार्यबारे उनी सहमत देखिएका छन्। भट्टराई अर्थमन्त्री र प्रधानमन्त्री रहँदा पुल निर्माणदेखि सडक निर्माणसम्म गरेको उनले बताए।

अधिकारीले वाम गठबन्धनका उम्मेदवार श्रेष्ठप्रति भावनात्मक संबन्ध नरहेको प्रष्ट्या। उनले भने, ‘नारायणकाजी श्रेष्ठले गोरखाका लागि यही काम गरे भनेर भन्न सक्दिनँ। उहाँले सरकार बनाउँछौं, विकास गर्छौं भनेर भोट माग्नुभएको रहेछ त्यो स्थायी उधारो आश्वासन हो।’

खाँट्टी माओवादी म हुँ

जनयुद्धदेखि निरन्तर पार्टीको काममा सक्रिय रहेकाले आफू खास माओवादी उम्मेदवार भएको अधिकारी दावी गर्छन्। भट्टराई र श्रेष्ठमध्ये कसले चुनाव जित्लान्? प्रश्नको जवाफमा अधिकारीले भने, ‘खाँट्टी माओबादी म हुँ, त्यसैले जनताले मुठ्ठी चिन्हमा भोट हालेर मलाई जिताउँछन् भन्ने विश्वास छ।’

उनलाई आफ्नो पार्टीको संगठन कमजोर रहेको पनि थाहा छ। तैपनि आफूलाई सहानुभूतिको भोट आउने उनी दावी गर्छन्। ‘हामीप्रति जनताको सहानुभूति छ। घरदैलोमा जाँदा भोट दिन्छु भनेकै छन्। जसले जितेपनि मलाई कुनै सरोकार छैन।’

यो चुनावमा राष्ट्रिय पार्टी हुन यदि सकिएन भने अर्को चुनावमा राष्ट्रिय पार्टी हुने गरी पाँच वर्ष संगठन विस्तारको अभियान सुरु गर्ने अधिकारीले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.