|

पर्वत : मुस्ताङको घरपझोङ गाउँपालिकाकी जुमा थकाली अघिल्ला बर्षहरुमा यतिबेला अन्नपात थन्क्याएर सिद्रा, जिम्बु, कपडा, माला, पोते, सिधे नुन, बीरे नुन र अरु स्थानीय जडिबुटी बेच्दै बेसी झरिसकेकी हुन्थिन्। तर, यसपटक उनी चिसो सहेरै भए पनि गाउँमै छिन्।

जुमा मात्र होइन चिसो छल्नका लागि पर्वत, बागलुङ, म्याग्दी, पोखरा लगायतका ठाउँमा पुग्ने उपल्लो मुस्ताङका नागरिकहरु अहिले गाउँमै छन्। दिनप्रतिदिन चिसो बढ्दै गए पनि आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले उनीहरुलाई तताएको छ। पहिलो चरणअन्तर्गत मंसिर १० मा हुने निर्वाचनले मुस्ताङमा चुनावी सरगर्मी निकै बढेको छ।

चिसो छल्ने बहानामा बेसी झर्ने मुस्ताङीहरुले बेसीमा गर्ने व्यपारले राम्रो कमाई गर्थे। तर, मतदानको लागि उनीहरु तुलनात्मकरुपमा तातो ठाउँ र व्यापारलाई माया मारेर गाउँमै बसेका छन्। ‘व्यपार त फेरिफेरि गरे नि भो, तर चुनाव फेरि फेरि कहाँ हुन्छ र? गाउँमा खुब रमाइलो छ, नेताहरुले बरु आगो ताप्नु तर बेसी नझर्नु भनेपछि हामी बेसीमा झरेका छैनौँ। अब चुनावपछि मात्रै तल जाने हो।’

दलका नेताहरु पनि मतदाता मतदानका लागि उत्साहित रहेको बताउँछन्। घरपझोङ गाउँपालिकाका प्रमुख आशबहादुर थकालीले थाहा खबरसंग भने, ‘अहिले सबै गाउँलेहरु गाउँमा नै छन्। मतदाता नामावलीमा नाम नभएकाहरु भने चिसो छल्न र व्यपार गर्न बेसीमा गएका छन्। जिल्ला बाहिर रहेका अन्य जिल्लाबासीहरुलाई पनि यहाँका दलहरुले मतदानका लागि बोलाएका छन्। अहिले मुस्ताङमा खुब रमाइलो छ।’

केही वर्ष अघिसम्म चुनाव र अन्य कुराको वास्ता नगरी चिसो छल्न र व्यापार गर्न बेसी झर्ने मुस्ताङीहरुमा विस्तारै राजनीतिक चेताना पनि बढ्दो छ। त्यसैले उनीहरु यस्ता अवसरमा गाउँमै बस्न थालेको जिल्ला निर्वाचन अधिकृत सीताराम शर्मा बताउँछन्।

‘यहाँका मान्छेहरु पनि शिक्षित बन्दै गैरहेका छन्। पहिले–पहिले जस्तो बेवास्ता गरेर हिँड्ने चलन हरिसके छ। उनीहरुमा राजनीतिक चेतनाको पनि राम्रो विकास भएको मैले अनुभव गरेको छु,’ उनी भन्छन्। प्रदेशमा २ र केन्द्रमा १ जना सांसद रहने मुस्ताङमा ९ हजार ४ सय २७ जना मतदाता छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.