|

रुकुम : नेकपा माओवादीका नेता तथा रुकुम प्रतिनिधिसभाका उम्मेदवार जनार्दन शर्मा चढेको चुनावी गाडीमा बम प्रहार भएको छ। शुक्रबार चौरजहारी नगरपालिका ८, गोइरीमा शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रमुख राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

उनका अनुसार सुरक्षाकर्मी र कार्यकर्ताहरुको उच्च सजकताका कारण कुनै मानवीय क्षति भने भएको छैन। प्रहरी प्रमुख धमलाले अनुसार शर्माको गाडीलाई लक्षित गरेर प्रहार गरिएका दुईवटा बम कुनै शक्तिशाली नभएर सामान्य घरायसी समानबाट बनाइएका बम भएको बताए।

बम कुन व्यक्ति वा समूहले प्रहार गरेको हो भन्ने कुनै यकिन नभए पनि निर्वाचन विथोल्न खोज्ने समूहबाट त्यस्तो गतिविधि भएको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

 चुनाव विथोल्ने अभियानमा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुकुमले केही दिनअघि पूर्वगृहमन्त्री तथा हालका विनाविभागीय मन्त्री शर्माको घरमा दलाल संसदीय व्यवस्था मुर्दाबाद लेखिएको कालो ब्यानर झुन्ड्याएका थिए।

उक्त कार्यसँगै जिल्लामा समग्र निर्वाचन विथोल्ने अभियानमा सहभागिता जनाएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा दिएर सार्वजनिक अपराध मुद्दा चलाएको छ।

यसैबीच, निर्वाचन प्रचार अभियानमा रहेको वेला सयुक्त वाम गठबन्धनबाट रुकुम प्रतिनिधिसभाका उम्मेदवार शर्मा चढेको गाडिमाथी बम प्रहार भएको घटनाप्रति बाम गठबन्धन रुकुमले शुक्रबारै एक प्रेस विज्ञप्ति जारी गरेर घटनाको घोर भत्र्सना गरेको छ।

 वाम गठबन्धनको तर्फबाट पार्टी एकता संयोजन समितिका संयोजकद्वय राजकुमार शर्मा र शेरबहादुर केसीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा जनमतबाट परास्त तत्वले अन्ततः भौतिक हमलाको घृणित चलखेल गरेको भन्दै अरु कुनै भ्रममा नपरी निर्वाचन अभियानमा सक्रिय रहन मतदातादाई अनुरोध पनि गरिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.