|

दमक : आसन्न संघ तथा प्रदेश सभा निर्वाचनका लागि झापाका केही अनुभवी र ‘हेभी वेट’ अनुहार पनि मतदातामा सीमित बनेका छन्। यसअघि निर्वाचन जितेका अधिकांश अनुहार यस पटक रिङ बाहिर रहे। मुख्य दुई गठबन्धन वाम र लोकतान्त्रिकबाट यसअघि निर्वाचन जित्दै आएकाहरुले पनि अवसर पाएनन्। दुवै गठबन्धनले बरु यसअघि निर्वाचन हारेकाहरुलाई अवसर दिएका छन्। दुवै गठबन्धनका नेताहरु खुरुखुरु उम्मेदवार बनिरहे पनि अरु केही भने मतदातामा नै सीमित रहे।

१. बीउ राख्ने पनि बाहिरिए

२०६०४ सालको पहिलो संविधानसभाको निर्वाचनमा झापा माओवादीमय भएको थियो। तत्कालिन झापाका ७ ओटा निर्वाचन क्षेत्रमध्ये ५ ओटामा माओवादीका उम्मेदवार विजयी भएका थिए। तर एक एक स्थान जितेर नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले पार्टीको बीउ जोगाएका थिए। क्षेत्र नं. ५ बाट केशवकुमार बुढाथोकी र क्षेत्र नं. ६ बाट एमालेका दीपक कार्कीले चुनाव जितेका थिए। तर यस पटक उनीहरु दुवै उम्मेदवार उम्मेदवार हुनबाट वञ्चित भए। उनीहरु दुवैले पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा विजय हासिल गरेका थिए। रिङआउट भएसँगै उनीहरुको 'ह्याट्रिक' गर्ने मौका पनि चुकेको छ।

२. विजेतालाई विश्राम

अघिल्लो निर्वाचनमा जितेका एमाले र कांग्रेसका सांसदहरु यस पटक चाहेर वा नचाहेरै भए पनि विश्राम लिन बाध्य भए। क्षेत्र नं. १ का एमाले नेता रविन कोइराला, २ बाट जितेका कांग्रेसका सुधीरकुमार शिवाकोटी, ४ मा एमालेबाट जितेका प्रेम गिरी, ५ बाट जितेका कांग्रेसका केशवकुमार बुढाथोकी र ६ बाट जितेका एमालेका दीपक कार्की यस पटक उम्मेदवार बनेका छैनन्। निर्वाचन क्षेत्र समायोजन भई ७ बाट ५ मा सीमित हुनु, आकांक्षीहरुको संख्या बढी हुनु, पार्टीहरु बीचमा गठबन्धन हुनु जस्ता कारणले अघिल्लो पटक जितेकाहरु यस पटक जिताउने जिम्मेवारीमा पुगेका छन्।

३. नेता चाहीँ निरन्तर

अघिल्लो पटक निर्वाचन जितेकाले अवसर नपाए पनि दुई गठबन्धनका दुई शीर्ष नेताले भने यस पटक पनि निरन्तरता पाएका छन्। उनीहरु हुन्, झापाका दुई केपी। एक केपी एमाले अध्यक्ष केपी शर्मा ओली र अर्का केपी कांग्रेसका नेता कृष्णप्रसाद सिटौला। उनीहरु बीचमा धेरै संयोग छ। उनीहरु दुवैले पहिलो संविधानसभाको निर्वाचन हारे, दोस्रो पटक दुवैले जिते। अनि सधैं नेपाली राजनीतिको शीर्ष स्थानमा रहे। अघिल्लो निर्वाचनमा जित्नेले यस पटक टिकट नपाए पनि टिकट बाँड्ने स्थानमा रहेका यी दुई नेता भने निरन्तर रुपमा उम्मेदवार बन्दै आएका छन्, यस पटक पनि बनेका छन्।

४. हारेकालाई मौका

यसअघि जित्दै आएकाले यस पटक मौका नपाए पनि हारेकाले भने सहानुभूतिपूर्वक मौका पाएका छन्। दोस्रो संविधानसभाको निर्वाचनमा हारेका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले झापा क्षेत्र नं. १ मा प्रतिनिधिसभाको उम्मेदवारमा मौका पाएका छन्। उनी सोही क्षेत्रमा २०७० सालमा एमालेका रविन कोइरालासँग पराजित भएका थिए। यस पटक शर्मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता सुरेन्द्र कार्कीसँग प्रतिस्पर्धामा छन्।

यस्तै क्षेत्र नं. २ मा कांग्रेसका सुधीरकुमार शिवाकोटीसँग पराजय भोगेकी पवित्रा निरौलाले यस पटक प्रतिनिधिसभामा उम्मेदवार बन्ने अवसर पाएकी छन्। अहिले उनी कांग्रेसका जिल्ला सभापति उद्धव थापासँग चुनावी प्रतिस्पर्धामा छिन्। कांग्रेस सभापति थापा पनि अघिल्लो निर्वाचनमा क्षेत्र नं. ४ मा एमालेका प्रेम गिरीसँग पराजित भएका थिए।

तत्कालिन क्षेत्र नं. ५ मा कांग्रेसका केशवकुमार बुढाथोकीसँग पराजित भएका नेकपा एमालेका लालप्रसाद साँवाले यस पटक क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाको टिकट पाएका छन्। यस पटक साँवा कांग्रेसका जिल्लास्थित प्रभावशाली नेता देउमान थेवेसँग प्रतिस्पर्धा गर्दैछन्। वाम गठबन्धनले क्षेत्र नं. ४ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाकाविरुद्ध सघाएका राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले पनि अघिल्लो निर्वाचनमा सिटौलासँगै पराजयको सामाना गर्नुपरेको थियो। १४ हजार ३ सय ५५ मत पाएर सिटौला बिजयी हुँदा लिङ्देन ९ हजार २ सय ५३ मा सीमित भएका थिए।

५. प्रभावशालीलाई पनि पाखा

झापाको निर्वाचन परिदृश्यमा अरु पनि केही प्रभावशाली नेताहरु पाखा लाग्नुपरेको छ। पुराना वामपन्थी नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री युवराज कार्की पनि यस पटक उम्मेदवारको सूचीबाट बाहिरिएका छन्। यस्तै एमालेका प्रमुख सचेतक र कानून मन्त्री समेत भई सकेका पोलिटव्युरो सदस्य अग्नि खरेलले पनि यस पटक टिकट पाएनन्। कार्की र खरेल झापाको गौरादहका एकै गाउँका पुराना वासिन्दा हुन्।

यस्तै कांग्रेसकी झापाकै नेतृ सरिता प्रसाईं बहालवाला कृषि राज्यमन्त्री हुन्। उनी पनि झापा २ मा पार्टीको तर्फबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा थिइन्। उनलाई पनि कांग्रेसले टिकट दिएन। राप्रपाका सहमहामन्त्री दमकका राम थापा उम्मेदवार बन्न नपाए पनि प्रदेशसभा तर्फ समानुपातिकको सूचीमा अटेका छन्। माओवादी केन्द्रकी नेतृ तथा पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाई पनि गठबन्धनका कारण प्रत्यक्ष उम्मेदवारमा अटिनन्।

उनी समानुपातिक उम्मेद्वार बनेकी छिन्। यस्तै २०६४ मा हारेर २०७० मा समानुपातिकको सूची हुँदै सांसद बनेकी कांग्रेसकी महेन्द्रकुमारी लिम्बू पनि यसपटक समानुपातिक तर्फनै उम्मेदवार छिन्। २०६४ मा माओवादीबाट उम्मेदवार भई झापा ३ मा चुनाव जितेका माओवादी केन्द्रका पूर्णसिंह राजवंशीले भने अहिले प्रदेश सभा सदस्यमा चित्त बुझाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.