|

बैतडी : प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि मतदानको दिन आउन १६ दिन मात्रै बाँकी रहँदा बैतडीमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। दलहरु अहिले घरदैलो अभियान र चुनावी आमसभा गर्दै भोट मागिरहेका छन्।

बैतडीका मतदाताहरुले पुरानै माग दोहर्याउन थालेका छन्। विगतमा गरेका वाचा दलका नेताहरुले पूरा नगरेकाले मतदाताले आफ्ना पुराना माग दोर्‍याउन थालेका हुन्।

जिल्लाको पुरचौंडी नगरपालिकाका मतदाताले उम्मदवारसमक्ष पुरचौंडीमा बैंकको शाखा स्थापना हुनुपर्ने माग गरेका छन्। द्वन्द्वको वेला विस्थापित भएका बैंक पुनःस्थापना नहुँदा नागरिकले सास्ती भोग्नुपरेको भन्दै उनीहरुले बैंकको सुविधा हुनुपर्ने माग गरेका हुन्। अहिले पुरचौंडी क्षेत्रमा कांग्रेसले चुनावीसभालाई निरन्तरता दिएको छ।

स्थानीय तहमा बैंक ल्याइदिन माग

केही दिनअघि वाम गठबन्धनले पनि यस क्षेत्रमा चुनावीसभा आयोजना गरेको थियो। सबै दलका नेता तथा उम्मेदवारहरुसँग आफूहरुले बैंक पुनःस्थापना हुनुपर्ने साझा माग राखेको पुरचौंडी नगरपालिका हाटका वसन्तराज जोशीले बताए। ‘बैंक नहुँदा हामीले एकदिन हिँडेर सदरमुकाम जानुपर्छ,’ उनले भने, ‘यही माग धेरै निर्वाचनमा राख्यौं तर बैंक आउँदैन।’

दलका नेता तथा उम्मेदवारहरुले चुनावको मुखमा विकासका वाचा गरे पनि चुनावपछि फर्की नहेर्ने गरेको स्थानीय वासिन्दाको गुनासो छ। अहिले लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र अन्य साना दलका उम्मेदवार पनि मत आफूतिर तान्नका लागि प्रयासरत छन्।

नागरिक यसरी रुष्ट र आक्रोशित हुँदा पनि उम्मेदवारले भने घरदैलोमा गएर प्रतिबद्धता जनाइरहेका छन्। बैतडीमा नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनले संयुक्त रुपमा जिल्लाका विभिन्न ठाउँमा चुनावी आमासभा गरिरहेको छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले पनि सयुंक्त रुपमा चुनावी गतिविधि जारी राखेको छ। यस्तै, विवेकशील साझा पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका साना दलले पनि चुनावी अभियान जारी राखेका छन्। चुनावी अभियानमा एकले अर्को दलको भन्दा राम्रो विकास गर्ने, जनचाहनाअनुरुप काम गर्ने भन्दै आश्वासन बाँडिरहेका छन्।

जिल्लाको सिगास गाउँपालिकाका नागरिकले वर्षौंदेखि सडकको आशामा नेताहरुलाई जिताएका छन् तर कुनै नेताले पनि पहल नगर्दा दुईदिन हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता नागरिकको छ। ‘च्वाँगड क्षेत्रमा सडक नै मुख्यरुपमा माग गरिरहेका छौँ तर, पूरा हुने आशा नेताहरुबाट छैन,’ ‘सिगास गाउँपालिका १ का नरेश धामीले भने, ‘कसैको विकल्प नभएर जनताहरु क्षणिक स्वार्थमा फसेका छन्।’

यस्तै, खानेपानी र सञ्चारसेवाबाट समेत वञ्चित रहेका डिलाशैनी गाउँपालिकाका नागरिको माग पनि पुरानै हो। तर अहिलेसम्म डिलाशैनीमा नेपाल टेलिकम र अन्य निजी सेवाप्रदायक कम्पनीको टेलिफोन टावर पुगेको छैन।

‘चुनावको वेला मात्रै टावर चाडै निर्माण गछौ भन्छन तर चुनाव वितेर लापत्ता हुन्छन्।’ डिलाशैनी ५ का करवीर साउदले भने। बैतडीमा प्रतिनिधिसभाका लागि कांग्रेस र वाम गठबन्धनबाट मन्त्री भइसकेका नै मैदानमा उत्रेकाले पनि चुनाव रोचक हुने देखिएको छ।

 अहिलेका वाणिज्य राज्यमन्त्री कांग्रेस र राप्रपाका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता नरबहादुर चन्द र वाम गठबन्धनबाट उम्मेदवार रहेका एमालेका नेता पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यसअघि ०७० सालमा भएको संविधानसभा चुनावमा दुवैजना बैतडीबाट निर्वाचित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.