|

कावासोती : नवलपरासीको सुनवल नगरपालिकलाई ५ वर्षभित्र नमुना नगर बनाउन पहिलो चरणमा अटो भिलेजको निर्माण सुरु गरिएको छ। नगरलाई सुन्दर र व्यवस्थित बनाउन नगरमा छरिएर रहेका सवारी साधन र अटो ग्यारेजहरुलाई अटो भिलेजभित्र  राख्ने व्यवस्था गर्न लागिएको हो।

सडक छेउछाउमा सवारी साधनको अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम बढेको र सुनवल नगर नै कुरुप बन्दै गएको थियो। पार्किङको उचित व्यवस्थापन र ग्यारेजहरुको बेग्लै क्षेत्र तोक्ने गरी सुनवल नगरपालिकाले अटो भिलेजको निर्माण सुरु गरेको हो।

अटो भिलेजका लागि नगरपालिकाको वडा नम्बर ४ तुरिया खोलाको छेउमा १२ विगाहा जग्गाको सरसफाइ र सम्याउने काम गरिएको छ। अटो भिलेजभित्र नगरमा छरिएर रहेका अटो ग्यारेज, अटो पार्टसको बिक्री, पन्चर टाल्ने, सवारी साधनको मर्मत गर्ने गराउने, ठूला साना सवारी साधनहरु पार्किङ र सवारी साधनहरुको धुलाई समेत गरिने नगर प्रमुख भीमबहादुर थापाले बताए।

सुनवल नगपालिकाले उक्त अटो भिलेजका लागि यसवर्ष ३० लाख रुपैयाँ विनियोजन गरेको छ। जुन बजेटले अटो भिलेजको भौतिक पूर्वाधार निर्माण र जग्गा व्यवस्थापन भइरहेको छ। नगरपालिकाले अटो भिलेज निर्माण तिब्र रुपमा अगाडि बढाउदै यसको व्यवस्थापनमा थप बजेटको व्यवस्थापन समेत मिलाउन लागि परेको छ। अटो भिलेज व्यवस्थित र सुविधासम्पन्न हुने नगरपालिकाको दावी छ।

यस अटो भिलेजमा आगामी ५० वर्षसम्मका सवारी साधनलाई धान्ने गरी प्रविधिहरु भित्र्याउने नगरप्रमुख थापाले बताए। अटो भिलेजले सुनवल नगरका बजारलाई प्रदुषित र फोहोर बनाउने ग्यारेज, गाडी धुलाई सेन्ट र अव्यस्थित पार्किङलाई व्यस्थित गरी सुनवललाई सुन्दर नगर बनाउने भन्दै स्थानीय यज्ञप्रसाद पाण्डेले खुशी व्यक्त गरे।

नवलपरासी जिल्लाको सुस्तापश्चिम परासी क्षेत्रमा ३ नगरपलिका र ४ गाउँपालिकामध्ये सुनवल नगरपालिका एक हो। १३ वटा वडा रहेको यो नगरमा पूर्व पश्चिम राजमार्ग १२ किलोमिटर पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.