|

काठमाडौं : सरकारले अध्यादेशमार्फत ल्यायएको चिकित्सा शिक्षा विधेयक शुक्रबार राष्ट्रपतिद्वारा प्रमाणीकरण भएपछि डा. गोविन्द केसीले यसलाई नेपालीहरुको जित भएको बताएका छन्।

गुणस्तरीय मेडिकल शिक्षा र स्वास्थ्य सेवा पक्षमा गर्दै आएको संघर्षको फलस्वरुप चिकित्सा शिक्षा विधेयक प्रमाणीकरण भएपछि आफ्नो अभियानमा केही सफलता मिलेको उनले प्रतिक्रिया दिए।

'राष्ट्रपतिज्यूले आज जुन विधेयक पास गर्नुभएको छ, सबैभन्दा पहिले त उहाँलाई धन्यवाद छ। लामो समयको संघर्षपछि जनतामुखी विधेयक आएको छ यो सम्पूर्ण जनतको मिहिनेतले आएको छ, त्यसैले यो जनताको जित हो' डा. केसीले थाहाखबरसँग भने।

सरकारले संसद स्थगित भएपछि अध्यादेशमार्फत ल्याएको विधेयकलाई अब बन्ने नयाँ संसदले अनुमोदन गर्ने पनि उनले आशा व्यक्त गरे। डा. केसीले भने 'संसद खारेज भएपछि अध्यादेशबाट आएको विधेयक हो, अब आउने जनप्रतिनिधिबाट सञ्चालन हुने सदनले यसको अनुमोदन गर्नुपर्छ। जनप्रतिनिधिहरुले विद्यार्थीमुखी र जनतामुखी यस विधेयकलाई पास गर्नुहुनेछ।'

अबको संसदले तीन करोड नेपालीको स्वास्थ्य र शिक्षामा सहज पहुँच हुने गरी आएको यस विधेयकलाई तोडमोड नगरी पारित गर्नुपर्ने पनि उनले बताए। यदि पारित नगरे आफूले फेरि संघर्ष गर्ने डा. केसी बताउँछन्।  उनले भने 'अब नयाँ आउने प्रतिनिधिसभाले  विधेयकलाई पास गरेन भने मेरो लडाइँ पुन सुरु हुन्छ, म जनताको लागि लड्न छोड्ने छैन, विधेयक पास भएर ऐन बनेपछि म अनसन बस्दिन होला।'

 केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनको आधारमा चिकित्सा शिक्षा विधेयक आउनुपर्ने माग गर्दै पटक पटक अनसन बसेका डा गोविन्द केसीले एक हप्ताभित्र विधेयक प्रमाणीकरण नगरे अनसन बस्ने चेतावनी दिएका थिए। संसदमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयक नेकपा एमाले लगायतका राजनीतिक दलको विरोधका कारण पारित हुन सकेको थिएन। उक्त विधेयकलाई सरकारले संसद स्थगित भएको समयमा अध्यादेशमार्फत ल्याएको थियो। कात्तिक ६ गतेको मन्त्रिपरिषद्बाट प्रमाणिकरणको लागि राष्ट्रपति कार्यालय पुगेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रमाणीकरण गरेकी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.