|

बैतडीः जिल्ला मालपोत कार्यालय बैतडीले आचारसंहिताविपरित प्रमाणित हलियाहरूको पुनःस्थापना प्रक्रिया जारी राखेको पाइएको छ। प्रमाणीकरण भएका हलियाहरूलाई चालू आर्थिक वर्षभित्र गर्नुपर्ने पुनःस्थापनाको काम अघि बढाउन निवेदन संकलनको काम मालपोतले जारी राखेको पाइएको हो। 

आचारसंहिता उल्लंघन गर्दै ‘हलियाहरूलाई सिफारिस गर्नू’ भनेर स्थानीय तहलाई मालपोत कार्यलयले पत्र काटेपछि वाम गठबन्धनले यसको विरोध गरेको छ। गठबन्धनका नेताहरूले जिल्ला प्रशासनलाई खबर गरेपछि निर्वाचनको अवधिमा उक्त कार्य रोक्न प्रशासनले निर्देशन दिएको छ। 

हलिया पुनःस्थापना जिल्ला कार्यसमितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले निर्वाचनको अवधिमा पुनःस्थापनाको काममा राजनीतिक दलहरूले हस्तक्षेप गरी मतदातालाई लोभ्याउन सक्ने भएकाले उक्त कार्य रोकिएको बताए। ‘हलिया पुनःस्थापनाको काम मैले आजैदेखि रोक्न निर्देशन गरेको छु’, उनले भने।

हलिया पुनःस्थापना जिल्ला कार्यसमितिको ससदस्यसचिव रहेको जिल्ला मालपोत कार्यालयले दशरथचन्द नगरपालिकाको दुर्गाभवानी, कोटिलाका ‘घ’ वर्गका मुक्त हलियाहरूलाई अनुदानवापत एक लाख २५ हजार रुपैयाँ दिनुपर्ने भएकाले घर मर्मतका लागि लागत सिफारिस बनाउन पत्र पठाएको थियो।

मालपोत कार्यालयले कात्तिक २१ गते दशरथचन्द नगरपालिका– ३ को वडा कार्यालयलाई पत्र पठाएको पाइएको एमाले नेत्री सरस्वती नेपालीले बताइन्। ‘वडा कार्यालयलाई पुनःस्थापनाको कार्य जारी राख्न मालपोतबाट पत्र पठाएको देखियो’, उनले भनिन्, ‘यो काम निर्वाचन आचारसंहिताविपरीत भएकाले प्रशासनमा उजुरी गर्‍यौँ।’ 

बैतडीमा प्रमाणीकरण भएका दुई हजार २२ मुक्त हलियामध्ये बाँकी रहेका एक हजार मुक्त हलियाहरूको यसै आर्थिक वर्षभित्र पुनःस्थापना गर्ने लक्ष्य रहेको जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख राजेन्द्रसिंह थापाले बताए। यसै आर्थिक वर्षभित्र सबै प्रमाणीकरण भएका मुक्त हलियाहरूको पुनःस्थापना गर्नुपर्ने भएकाले पुनःस्थापनाको कामलाई निरन्तरता दिएको उनको भनाइ थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.