|

बाँके : सुरक्षित र स्थायी बसोबासको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट दिने राप्ती नदी पीडितले स्पष्ट पारेका छन्। उनीहरुले ‘सुरक्षित बास देऊ, भोट लैजाऊ’ भन्ने अभियान चलाएका छन्। राजनीतिक दलबाट धेरै पटक धोका खाइसकेकोले यस पटक सुरक्षित बसोबासको ग्यारेन्टी गरेमात्र भोट दिने राप्ती–सोनारी गाउँपालिका–२, टिकुलीपुरकी मञ्जु विकले बताइन्।

उनले स्थानीय तह निर्वाचनका बेला सुरक्षित बासको ब्यवस्था गर्ने आश्वासन राजनीतिक दलहरुले दिएको स्मरण गर्दै अहिले उधारो आश्वासनको भरमा भोट नदिने बताइन्। ‘उधारो आश्वासनको भरमा भोट दिन सकिदैन, सुरक्षित बासको ब्यवस्था गर्नेलाई मात्र यस पटक भोट दिइनेछ,’ उनले भनिन्। 

राप्ती–सोनारी गाउँपालिका-६ स्थित सामुदायिक बनमा बस्दै आएका राप्ती नदी पीडितले भोट माग्न आएका उम्मेदवार र राजनीतिक दललाई हाम्रो लागि सुरक्षित बास स्थान कहाँ छ भनि सोध्ने भएका छन्। हरेक बर्ष बाढीबाट पीडित हुँदै आएका बाढीपीडितले भोट माग्न आउनेलाई सुरक्षित बास स्थान देखाई दिन आग्रह गरिने सिद्धबाबा सामुदायिक बनमा बस्दै आएका सर्रीका खुसीराम थारुले बताए।

उनले आफूहरुको पहिलो प्राथमिकता सुरक्षित बास भएको बताए। आफूहरुलाई अहिले गासको भन्दा बासको चिन्ता भएको बताउँदै उनले सुरक्षित बासको ब्यवस्था गर्नेलाई नै भोट दिने बताए। राप्ती नदीले सर्रीका १ सय ३५ बढि परिवार हरेक बर्ष प्रताडित हुँदै आएका छन्। ‘हरेक बर्ष हाम्रो ज्यान जोखिममा हुन्छ, हामीले धेरै दुख भोगी सक्यौँ, हामीलाई अरु केही चाहिँदैन सुरक्षित बासस्थान भए पुग्छ,’ उनले भने।

बाढीपीडितलाई छोएन निर्वाचनले

बाँकेका बाढीपीडितलाई निर्वाचनले अझैँ छोएको छैन। रेडियो, टेलिभिजन र पत्रपत्रिकामा निर्वाचनको कुराले महत्व पाएपनि अस्थायी टहरामा बसेका बाढीपीडितलाई निर्वाचन भन्दा बासकै चिन्ता छ। आफूहरुलाई अहिले गासको भन्दा बासकै चिन्ता भएको टिकुलीपुरस्थित सिद्ध साइकुमारी सामुदायिक बनमा बस्दै आएका हरिभक्त पौडेलले बताए।

उनले राप्ती नदीमा आउने बाढीले हरेक बर्ष दुख दिने गरेकोले आफूहरुको पहिलो आवश्यकता सुरक्षित बासस्थान भएको बताए। ‘आफूहरुलाई बासको चिन्ता छ, निर्वाचन आए पनि नआए पनि हामीलाई के को मतलव,’ उनले भने।

निर्वाचनबाट सर्वसाधारणले केही नपाउने भएकोले चुप लागेर बसेको सामुदायिक बनमा अस्थायी टहरा बनाएर बसेका सीताराम जैसीले बताए। उनले बाढीपीडित र निर्वाचन वीच कुनै साइनो नभएको बताए। ‘हामीले भोट दिएकाहरु जितेर जान्छन्, तर फर्केर आउँदैनन्, निर्वाचनका बेला आश्वासन दिनेहरु फर्केर आउँदैनन् भने भोट दिनुको के अर्थ रह्यो,’ जैसीले भने। उनले बाढीपीडितहरु सुरक्षित बासको पर्खाईमा रहेको बताए।

निर्वाचनका कुराभन्दा सुरक्षित बासको चिन्ता भएकोले निर्वाचन प्रति चासो नबढेको स्थानीय मञ्जु विकले बताइन्। उनले यसपालीको निर्वाचमा मतदान गर्ने मनस्थिति अझैँ नबनेको बताइन्। ‘भोट हाल्न जाने नजाने दोधार छ, सुरक्षित बासको ब्यवस्था हुने भए भोट हाल्न गइन्छ,’ उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.