|

सुर्खेत : जिल्ला सदरमुकामबाट २० किलोमिटर पश्चिम बराहताल गाउँपालिका–८ भट्टेघारीमा बस्दै आएका करिब एक सय ५० घरधुरीलाई तत्काल सुरक्षित स्थानमा सार्न विज्ञहरुले सुझाव दिएका छन्। स्थलगत भ्रमणपछि विज्ञको टोलीले बासिन्दालाई अन्यत्रै सारेर भट्टेघारीलाई संरक्षित क्षेत्र घोषणा गर्न सुझाव दिएका हुन्।

साविकको तरङ्गा गाविसबाट बाढिपहिरोबाट विस्थापित भएर भट्टेघारीमा बस्दै आएका एक सय ५० घरधुरी रहस्यमय आगलागीबाट २ वर्ष देखि त्रासमा रहने गरेका छन्। सुरुमा अकस्मात् घरमा धुँवाको मुस्लो देखिने र त्यसपछि चारैतिरबाट आगो लाग्ने घटनाका कारण  स्थानीय बासिन्दा त्रसित छन्।

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), ललितपुरका केमिकल इञ्जिनियर) डा. रवीन्द्रप्रसाद ढकालको नेतृत्वमा अनुसन्धानमा खटिएको टोलीले केही दिनअघि उक्त स्थानमा गरेको प्रारम्भिक अध्ययनबाट उक्त स्थानमा जमिनमुनि प्रज्वलनशील ग्यास भएको निष्कर्ष निकालेको हो।

नास्टका वरिष्ठ वैज्ञानिक डा.रविन्द्रप्रसाद ढकालले भट्टेघारीमा हुने आगलागी जमिनमुनि भएको विभिन्न प्रज्वलनशील ग्यासको कारणले भएको भन्दै दैलेखमा बलिरहेको ज्वालामुखी जस्तै भएको बताए। ‘जमिनमुनि मिथेन ग्यास भएको अनुमान गरेका थियौँ तर हाइड्रोजन सल्फाइड भेटियो’, ढकालले भने, ‘हाइड्रोजनको मात्रा बढेसँगै बल्ने ग्यास बढ्ने र आगलागी हुने गरेको पाइयो।’

अध्ययनमा संलग्न विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव दिगम्बर ठाकुरले आफूहरु अनुसन्धानका लागि त्यहाँ रहेकै बेला पनि एक घरमा आगलागी भएको भन्दै जमिनमुनि दबेर रहेको पुरानो चिज निस्किएको बताए । 

ठाकुरले त्यहाँका नागरिक स्वाथ्यका हिसाबले एकदमै प्रतिकुल अवस्था र मानसिकता पीडामा रहेको भन्दै उनीहरूको स्थानान्तरण गर्नुको विकल्प नभएको बताए।
‘भट्टेघारीका जनतालाई सुरक्षित स्थानमा सारेर त्यहाँ भएको ग्यास निकाल्ने विषयमा अध्ययन सुरु गर्नुपर्छ’, उनले भने, ग्यास निकाल्ने विषयमा रिर्पोट बनाएर सरकारलाई बुझाउँदै छौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.