|

चितवन : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले अबको १० वर्ष नेपालमा विकासको निम्ति केन्द्रित हुने प्रतिबद्धता जनाएका छन्।

पश्चिम चितवनको मंगलपुरमा आइतबार बिहान संयुक्त वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले विगतको १० वर्ष शान्तिप्रक्रियामार्फत संविधान निर्माण र कार्यान्वयन प्रक्रियाको नेतृत्व गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै अबको १० वर्ष विकासमा केन्द्रित हुन चाहेको उल्लेख गरे।

चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका दाहालले भने, ‘चितवनको विकासमार्फत राष्ट्रिय विकासमा योगदान गर्ने उद्देश्यका साथ म तपाईहरुको अगाडि छु, यस अर्थमा म तपाईहरु सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।’

चुनावीसभालाई सम्बोधन गर्दै दाहालले चितवन जिल्ला विकासको प्रचुर सम्भावना रहेको औल्याए। चितवन पर्यटनका हिसाबले पनि अग्रणी जिल्ला बनाउने सम्भावना रहेको उनको भनाइ थियो।

अध्यक्ष दाहालले कृषि विश्व विद्यालयसमेत रहेकाले चितवनलाई शिक्षाको हर्व र शैक्षिक अनुसन्धान केन्द्र नै बनाउन सकिने सम्भावना रहेको जिकिर गरे।बाटोघाटोका दृष्टिले पनि नमुनाको रुपमा विकास गर्ने सकिने प्रचुर सम्भावना चितवनमा रहेको उनको भनाइ छ।

‘त्यही कुरालाई दृष्टिगत गरेर नै शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने कुरा होस् या भरतपुरमा प्रदर्शनी केन्द्र निर्माणमा गर्न क्याबिनेटबाट मैले गरेको सहयोग होस्, या बाटाघाटाको कालोपत्रे र विकास गर्न प्रधानमन्त्री भएका बेलामा गरेका हुन् ती रणनीतिक उद्देश्यमा आधारित भएर योगदान गर्ने कोशिष गरेको छु,’ दाहालको कथन थियो।

उनले निर्वाचन जित्ने उद्देश्यले मात्रै उम्मेदवारको रुपमा प्रस्तुत नभएको समेत बताए। पहिलो चरणको चुनावी अभियान काक्तिक २० गते सकेर फर्केका अध्यक्ष दाहाल २३ कात्तिकदेखि आफ्नो निर्वाचन क्षेत्रमा दोस्रो चरणको कार्यक्रमअन्तरगत चुनावी घरदैलोमा सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.