|

झापा (दमक) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले झापाका गाउँ–गाउँ पुग्दै छन्। आफ्नो गृह जिल्लासमेत झापाका सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र उनको चुनावी प्रचार र सभाको प्राथमिकतामा परेको छ।

उम्मेदवारी दर्ताका लागि झापा आएकै वेला २ दिन बिताएका उनी पछिल्लो ३ दिन पनि झापामै छन्। यस अवधिमा उनले सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा समय दिएका छन्।

आइतबार उनी झापा क्षेत्र नं. ५ अन्तर्गतका ग्रामीण भेगमा केन्द्रित रहेका छन्। शनिबारसमेत उनी क्षेत्र नं. ५ ‘क’ अन्तर्गतकै तोपगाछीका सभाहरुमा केन्द्रित रहे। शनिबार तोपगाछीका केर्खा, क्याम्पा, सरङ्पाडा लगायतका क्षेत्रका मतदातासँग भेट गरेका उनी आइतबार दक्षिणी क्षेत्रका गौरादह, डोरामारी, जुरोपानी लगायतका क्षेत्रमा पुगेका छन्।

अरुलाई सघाउन केन्द्रित

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली अहिले आपूmले उम्मेदवारी दिएको क्षेत्रमा भन्दा एमालेका उम्मेदवार नभएको क्षेत्रमा दुई दिन समय दिए। झापा क्षेत्र नं. १ र ३ मा प्रतिनिधिसभातर्फ एमालेले उम्मेदवारी दिएको छैन। त्यहाँ एमालेले अरुलाई सघाएको छ। उनले ती क्षेत्रमा शुक्रबार र शनिबार गरी दुई दिन समय दिए।

क्षेत्र नं. १ मा वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्र कार्की प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् भने क्षेत्र नं.३ मा वाम गठबन्धनले राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई सघाएको छ।

 क्षेत्र नं. ३ मा लिङ्देनको पक्षमा भाषण गरेका उनले विगतमा एमालेले एक्लैसमेत जितेको क्षेत्रमा यसपटक तीन दल एकै ठाउँमा रहेकाले जितका लागि कुनै कठिनाई नरहेको धारणा व्यक्त गरे।

वाम गठबन्धनको साथ पाएका लिङ्देनसँग कांग्रेस नेता कृष्णप्रसाद सिटौला चुनावी मैदानमा छन्।  यस्तै, क्षेत्र नं. १ मा कार्कीको पक्षमा बोलेका ओलीले गठबन्धनमा धोका दिन मन हुनेले बेलैमा बिदा हुन चेतावनी दिएका थिए।

 दुई पार्टीको जितका लागि मात्र नभई देशको जितका लागि गठबन्धन बनाएको भन्दै उनले गठबन्धनभित्र रहने अनि भोट नदिने हो भने उनीहरु वामपन्थी दलमा नअटाउने पनि बताए। नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मासँगै वाम गठबन्धनका कार्कीको प्रतिस्पर्धा हुँदै छ।

अर्थशास्त्रीप्रति आक्रोश

पछिल्ला दिनमा नेपाली कांग्रेसप्रति आक्रोशित देखिएका ओली अर्थशास्त्रीहरुप्रति पनि आक्रोशित देखिए। क्षेत्र नं.५ क को गौरादहमा भएको चुनावीसभालाई आइतबार सम्बोधनका क्रममा उनले अर्थशास्त्रनै नबुझेका अर्थशास्त्रीहरुले वामपन्थीविरुद्ध भ्रम छरेको बताए।

वामपन्थीको सरकार आए आर्थिक स्वतन्त्रतामा हस्तक्षेप गर्छन् भने केहिले हल्ला फैल्याई सेयर बजारमा गिरावट ल्याएको उनको आरोप छ।

वाम गठबन्धनलाई लोकतन्त्रविरोधी भनेर हल्ला गर्नेहरुले मंसिर ९ गते पार्टी एकीकरणको हल्ला गर्न पनि भ्याएको उनको टिप्पणी छ। ‘न प्रचण्डजीलाई थाह छ, न मलाई। १० गते काटेपछि यिनले पार्टी एकता गर्दैनन् भन्ने अर्को भ्रम छर्न अहिले हल्ला गरिएको हो’उनले भने।

सहरको पालो मंसिरमा

कात्तिकको अन्तिम साता झापाका गाउँगाउँ पुगेका ओली सहरी सभाको समय भने मंसिरलाई छुट्याएका छन्। गठबन्धन गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित उनले मंसिर २ र ३ गते झापाका दुई सहरमा सम्बोधन गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार २ मंसिरमा ओलीको उम्मेदवारी रहेको क्षेत्र नं. ५ को गृहनगर दमकमा ओली र दाहाल लगायतका नेताहरुले सम्बोधन गर्नेछन्। यस्तै, ३ गते झापामा माओवादी केन्द्रका तर्फबाट एक मात्र उम्मेदवारी रहेको क्षेत्र नं. १ को काँकडभिट्टामा सम्बोधनका लागि शीर्ष नेता पुग्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.