'आफ्नै बलबुताले आएको हुँ, जनार्दनको भाइ हुँदा १० वर्ष पछि परेँ'

|

काठमाडौं : प्रतिनिधिभसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नम्बर १ मा चुनावी माहाेल तात्दै गएको छ। यस क्षेत्रबाट संविधानसभाका दुईवटै निर्वाचन जितेका कांग्रेसका पूर्व महामन्त्री एवं नेपाली राजनीतिका 'लौहपुरुष' गणेशमान सिंहका छोरा प्रकाशमान सिंह तथा वाम गठबन्धनका तर्फबाट माओवादीका युवा नेता अनिल शर्मा र केही महिनाअघि बीबीसीको जागिर छाडेर राजनीतिमा होमिएका विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र उम्मेदवार छन्।

लामो समय विद्यार्थी आन्दोलनमा लागेका र जनार्दन शर्मा ऊर्जा मन्त्रालयमा रहेका बेला 'ऊज्यालो नेपाल अभियान'मा समेत खटिएर लागेका एमाले र माओवादीका संयुक्त उम्मेदवार अनिल शर्मालाई बानेश्वरमा भेट्न जाँदा उनी व्यस्त थिए। चुनावी चटारोमा थिए शर्मा। एमाले र माओवादीका स्थानीय नेताहरुलाई कसरी परिचालन गर्ने र कसरी सहकार्य गरेर अगाडि बढ्ने? काठमाडौं- १ मा बुबाको लिगेसीसहित जित्दै आएका प्रकाशमान र सेलिब्रेटी बनेका रवीन्द्र मिश्रका बीचबाट दुई पार्टीको साख जोगाउन कसरी जित्ने यसैको रणनीति बनाएर आएको बताउँदै थिए उनी।

जनार्दन शर्माको भाइ भएकोले राजनीतिमा स्पेस पाएको चर्चा र प्रतिस्पर्धीले कमजोर उम्मेदवारको रुपमा लिइरहेका बेला अनिल भने जित्नेमा दृढ देखिए। उनले आफ्ना प्रतिस्पर्धीलाई सम्मान गर्ने भन्दै आफू पनि कम नरहेको बताए।

वाम गठबन्धनको साख जोगाउन रणनीति बुन्दै

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावमा बहमुत हासिल गरेर पाँच वर्ष स्थीर सरकार निर्माणका लागि भन्दै वाम गठबन्धन बनाएका छन्। उनीहरुको यो गठबन्धन पार्टी एकतासम्म लैजाने लक्ष्य राखिएको छ। स्थानीय तहको निर्वाचन मतपरिणाम हेर्दा वाम गठबन्धनको अग्रता स्पष्ट छ, काठमाडौं १ मा यो गठबन्धनको साख धरापमा छ।

यो क्षेत्रबाट २०६४ को संविधानसभा निर्वाचन र २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भए। स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भए पनि यो यो क्षेत्रमा पर्ने वडाहरुमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भए। 

कांग्रेस र विवेकशील साझाका हेभी वेट उम्मेदवारलाई पछि पार्दै चुनावी परिणाम आफ्नो पक्षमा पार्ने लक्ष्यसहित मैदानमा उत्रिएका शर्मा शुक्रबार बानेश्वर ह्वाइटहाउस नजिकै रहेको सम्पर्क कार्यलयमा पुग्दा 'चुनावी रणनीति तयार गर्नमा व्यस्त' रहेकोले हामीलाई कुराउनुपरेको जवाफ फर्काइरहेका थिए।

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं- १ बाट लड्न आग्रह गरेर खटाएपछि यहाँ आएको बताउने उनी गठबन्धनका तर्फबकाट चुनावी परिणाम आफ्नो पक्षमा पार्ने तय भइसकेको बताइरहेका थिए। 'हामी चुनावी रणनीति तयार गरिरहेका छौं', उनले निर्वाचन क्षेत्रमा पुगेर गरेका कामहरु भने, 'टोल सभामा मतदातहरुसँग भेट भएका छन्। त्यसमा प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कामहरु गरिरहेका छौं।'

गठबन्धनमा आवद्ध दलहरुको मत कम नभएको दाबी गर्ने शर्माले त्यसलाई एकताबद्ध बनाएर 'हसियाँ हथौडा' पार्न दुवै पार्टी खटिरहेको बताए। 'हामी संयुक्त रुपमा गएका छौं। यो अनिल शर्मा जित्ने सँगको कुरा मात्रै छैन गठबन्धन जित्नेसँगको कुरा हो', उनले थपे, 'देशलाई स्थायित्व प्रदान गर्ने र समृद्धि दिने शृङ्खलामा छ।'

म रुकुममा जन्मेको काठमाडौंबासी

रुकुममा जन्मिएका अनिल काठमाडौंका उम्मेदवार बनेका छन्। उनी यसलाई कर्मथलो भएको बताउँछन्। रुकुमभन्दा बढी काठमाडौंमा आफ्नो जीवन बितेको उनको भनाइ छ। मान्छे कहाँ जन्मियो भन्दा पनि उसको जीवनको ऊर्जाशील समय कहाँ के काममा व्यतित गर्‍यो भन्ने कुराले महत्व राख्ने उनको भनाइ छ। 

'मैले मेरो राजनीतिक जीवनको अधिकांश समय काठमाडौंमा बिताएको छु', काठमाडौंको भएको दलिल पेस गर्दै उनी भन्छन्, 'यहाँका सामाजिक आन्दोलनहरुमा, जनआन्दोलनदेखि लिएर सामाजिक क्रियाकलापमहरुमा म नियमित रुपमा संलग्न छु।' लामो समय विद्यार्थी राजनीतिमा क्रियाशील रहँदा काठमाडौंको भएको उनको भनाइ हो। उनले राजनीतिक जीवनयात्रा सम्झिँदै भने 'यहाँका युवाहरुको आवाज र अधिकारको वकालत गरेकोछु।'

रुकुममा जन्मिएको काठमाडौंबासी भएको अनिलको भनाइ छ। वाम गठबन्धनले काठमाडौं क्षेत्र नम्बर १ को उम्मेदवार बनाएकोमा आफूलाई कुनै अनौठो नलागेको र अरुलाई पनि यो विषयलाई अनौठो नमान्न आग्रह गर्दै उनी भन्छन्, 'म रुकुममा जन्मिएको हुँ, तर म काठमाडौंबासी हुँ।'

परिवारका कारण १० वर्ष पछि परेँ

नेपाली राजनीतिमा परिवारवाद हावी हुनु कुनै नौलो कुरा रहेन। चर्चाको विषय जहिले पनि बन्ने तर त्यसमा सुधार नहुने। अर्थत्, नेताको परिवारको सदस्य भएकै कारण राजनीतिक पद, नियुक्ति तथा चुनावमा टिकट। गणतन्त्र नेपालको संविधान बनेपछि पनि राजनीतिमा नेताको परिवारको सदस्य भएकै कारण चुनावमा टिकट पाउने र जनतामा भिजेको नेता पाखा लाग्ने परम्पराले यो चुनावमा निरन्तरता पायो। कोही श्रीमान/श्रीमती नै प्रत्यक्षतर्फ उम्मेदवार बने भने कोही पपुलर नेताले पनि टिकट पाएनन्। कहीँ श्रीमान प्रत्यक्षमा उम्मेदवार बने भने श्रीमती समानुपातिक सूचीको पहिलो नम्बरमा सुरक्षित बनिन्। 

यो परिवारवादको चर्चामा शर्मा परिवार पनि आएको छ। ऊर्जामन्त्री बनेर देशबाट लोडसेडिङ मुक्त गरेका तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा आफैँ पनि रुकुमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्। अनिल काठमाडौं- १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार। यसलाई माओवादीभित्रको परिवारवाद हावी भएको उदाहरणको रुपमा पनि पेस गरिन्छ। तर, अनिल भने 'बहस सतहमा आउनु स्वभाविक भए पनि वास्तवमा सत्य नभएको'  धारणा राख्छन्।

'मलाई के लागिरहेको छ भने एउटै परिवार भएर मलाई घाटा भइरहेको छ', उनी जनार्दन शर्माको भाइ भएकै कारण टिकट पाएको हो भन्ने जिज्ञासाको उत्तर दिइरहेका थिए। यो विषयले दिएको दुःखको भाव अनुहारमा झल्किरहेको थियो। प्रष्ट्याउने भावसहित उनले थपे, 'मसँगै सहयात्रा गरेका, मेरै कमिटीमा बसेका साथीहरु ६४ सालमा माननीय भइसकेका छन्। केही जुनियर (पार्टीमा लागेको आधारमा) साथीहरु सभासद् भएर आइसके, म १० वर्ष पछि परेको छु।'

जनार्दन शर्माको भाइ हुनुको मूल्य १० वर्ष पछि परेर चुकाइसकेको उनको भनाइ थियो। 'दाइभाइ हुनु एउटा कुरा होला नत्र मेरो आफ्नो राजनीतिक जीवन छ। म भाइ भएर आएको होइन म मेरो राजनीतिक जीवन र राजनीतिक विरासत लिएर आएको छु।'

उनले दाजुभाइ नै चुनावमा होमिनु र टिकट पाउनुको सम्बन्ध राजनीतिमा खर्चेको जीवनका महत्वपूर्ण समय भएको बताए। उनले भने, 'यो कुरा तपाईमार्फत सबैलाई बताउन चाहान्छु कि म पूर्णकालीन भएको २० वर्ष भइसकेको छ। परिवार कुनै किसिमबाट हाबी भएको छैन। म भन्छु हामी हावी हुन पाएनौं। हाम्रो सम्बन्धको कारणले। भिक्टिम त नभनौं, तर त्यस्तो अनुभूती भइरहेको छ।' 

हेर्नुहोस् भिडियो :

प्रकाशमानले काम गरेनन्

काठमाडौं क्षेत्र नम्बर १ लाई राजनीतिक कार्यक्षेत्र बनाइरहेका र लगातार निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका प्रकाशमान सिंहले काम नगरेको आरोप छ अनिल शर्माको। सिंहले बुबा गणेशमानको राजनीतिक उचाइलाई भोट माग्ने आधार बनाइरहेको भन्दै अनिल प्रश्न गर्छन्, 'उहाँले दुई कार्यकालमा यहाँबाट जितेर के गर्नुभएको छ? कति जनताको चित्त बुझाएउनुभएको छ? जनता कति सन्तुष्ट छन्?'

आफूले यी प्रश्नको उत्तर जनतासँग खोज्दा सबै उल्टो पाएको अनिलको भनाइ छ। जनता सिंहको कामबाट सन्तुष्ट नरहेको पाएको उनले बताए। सिंहले राजनीतिको जुन उचाइ हासिल गरिरहेका छन् त्यो अनुसार काम नभएको अनिलको विश्लेषण छ। सिंहको कार्यकालमा सडकको अवस्था, तारको बेथिति र बस्तीको अस्तव्यस्तामा कुनै सुधार नभएको अनिलको भनाइ छ। 

सिंहले चुनावको मुखमा शक्ति प्रयोग गरेर केही सडक कालोपत्रे गर्ने र राज्यको ढुकुटीको दुरुपयोग गरेको आरोप लगाए। उनले भने, 'राज्यको सम्पत्ति लतरपतर पारेर असारमा बगाएजस्तै अहिले दुरुपयोग भइरहेको छ, मत प्रभावित गर्ने मनसाय हुनसक्छ।'

काठमाडौं क्षेत्र नम्बर १ का जनताले चुनावको मुखमा गरिएको यस्तो कामलाई अश्वीकार गर्ने उनको भनाइ थियो। 'यहाँका जनतालाई त्यस्तो नसोचे हुन्छ, हतार हतारमा काम देखाउनलाई चुनावमा भोट आउँछ कि भनेर सोच्ने सानो बुद्धिको उपज हो।' विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रले झैं वाम गठबन्धनका अनिल शर्माले पनि अहिले योजनाविहीन रुपमा भइरहेको सडक पिच गर्ने सिंहको कामको जवाफ जनताले मतद्वारा नै दिने बताए।

रवीन्द्रलाई राजनीतिमा स्वागत छ, जीतको आधार छैन 

प्रतिद्वन्दीबारे खुलेर बोलेका अनिल शर्मा कांग्रेसका उम्मेदवार प्रकाशमानप्रति आलोचनात्मक देखिए भने विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई भने राजनीतिमा स्वागत गरे। पत्रकारिता र सामाजिक क्षेत्रमा काम गरेर रवीन्द्र मिश्र राजनीतिमा आएकोलाई सकरात्मरुपमा लिएको उनको भनाइ थियो। उनले भने,'राजनीति महत्वपूर्ण रहेछ र राजनीति गर्नु राम्रो हो भन्ने बुझेर आउनु एकदम राम्रो हो। उहाँले राजनीतिक कदम चालेकोमा स्वागत गर्छु यो मैदानमा।'

रवीन्द्र मिश्रले पार्टी भने सही नरोजेको अनिलको बुझाइ छ। चुनाव जित्ने आधार सामाजिक सञ्जालमा फैलाएको ह्वीम नभइ मतदाताको मत हुने र त्यसका लागि ठूलो पार्टी, विचार, सही नेतृत्व हुनुपर्ने उनको धारणा छ। 'जितेर पनि देशलाई समृद्धिको यात्रामालैजाने नेतृत्व गर्नका लागि उहाँसँग न त ठूलो पार्टी छ न राजनीतिक रुपमा देशलाई नेतृत्व दिन सक्नुहुन्छ', रवीन्द्रबारे अनिल भन्छन्, 'एक्लै वीरले लडाइँ जित्न सक्दैन भनेजसतै उहाँले अहिले त्यसरी राज्यको नेतृत्व गर्न सक्ने अवस्था छैन।'

नेताहरु खत्तम, राजनीति फोहोरी खेल हो, नेता र राजनीतिदेशको विकासको बाधक हो भनेर जीवनको ऊर्जाशील समय राजनीति र नेताको आलोचनामा बिताएका रवीन्द्रले अन्ततः राजनीति महत्वपूर्ण हो भन्ने ठान्नु नै उनको रजनीतिक परिवर्तन भएको अनिलको भनाइ छ।

प्रकाशमान र रवीन्द्रसँग भेटको अवसर जुरेन

एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी भएपनि उम्मेदवारी मनोनयन दर्ता गरेपछि अनिलको कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह र विवकेशील साझाका उम्मेदवार रवीन्द्र मिश्रसँग भेट भएको छैन। 'मनोनयनको दिनमा भेट्न चाहेको थिएँ। उहाँहरुले मनोनयन दर्ता गरिसक्नुभएछ म गएँ, दर्ता गरेर फर्किएँ', प्रतिस्पर्धीहरुलाई चाहेर पनि भेट्न नसक्नुको कारण खुलाए उनले।

मनोनयन दर्तापछि भने सन्दर्भ नमिलेको उनको भनाइ थियो। उनले आफ्नो र बाँकी उम्मेदवारहरुको प्रचारप्रसार गर्ने ठाउँ फरकफरक परेकोले भेट नभएको बताए। 'उहाँहरुको प्रचार गर्ने समय र ठाउँ फरकफरक पर्‍यो मेरो फरक र म रणनीति बनाउनमा अलि बढी व्यस्त भए।'

म ओजश्वी उम्मेदवार 

काठमाडौं क्षेत्र नम्बर १ मा काठमाडौं महानगरपालिकाका १० ११ २९ र ३१ नम्बर वडा समावेश छन्। शिक्षित र सम्पन्न समुदायको बसोबास रहेको यो क्षेत्रका मतदाताले युवा, प्रष्ट राजनीतिक भविष्य, र देशको नेतृत्व गर्नसक्ने पार्टी/गठबन्धनलाई रोज्ने अनिलको दावी छ। उनले काठमाडौं क्षेत्र नम्बर १ का जनता 'विवेक प्रयोग गर्न सक्ने' भन्दै प्रशंसा गरे। 

आफ्नो क्षेत्रका मतदाताबारे उनी भन्छन्, 'यहाँका सभ्य, शिष्ट र विवेकशीलमतदाताहरु हाम्रा एजेन्डा र राष्ट्रिय स्तरमा खेल्ने भूमिकाबारे बुझेर मतदान गर्नेछन्।' उनले आफू मतदाताकोमा जाँदा व्यापक स्वागत भइरहेको र आशीर्वाद पाइरहेको अनुभव सुनाए। आफू पुग्न नसकेको ठाउँका अगुवा समाजसेवी मतदाताले फोन गरेर निम्तो दिइरहेको उनको भनाइ थियो। मतदाताले दिएको प्रतिक्रियाबाट आफूमा आएको भाव यसरी व्यक्त गरे, 'यहाँका मतदाताले एक युवा आएको छ एउटा भाइ आएको छ र यसले केही गर्नसक्छ भन्ने गरेकोबाट म मा ऊर्जा थपिएको छ।'

उनले आफू निर्वाचित भएमा काठमाडौं क्षेत्र नम्बर १ लगायत काठमाडौं उपत्यकाको विकासका लागि काम गर्ने बताए। काठमाडौं क्षेत्र नम्बर १ को विकास अन्य क्षेत्रसँग पनि सम्बन्धित रहेकोले त्यसमा पनि भूमिका निर्वाह गर्नु आफ्नो कर्तव्य हुने उनको भनाइ थियो। आफ्नो प्राथमिकतामा रहने एजेन्डाबारे उनले भने, 'हामीले मन्द विष लिइरहेका छौं, यसलाई स्वच्छ पार्नुपर्ने छ। मान्छेलाई बाच्न चाहिने पहिलो चिज नै विष भएपछि अरु सहायक हो। त्यसका लागि यहाँको धुलो, धुँवा, गाडीबाट हुने प्रदूषण हटाउनुपर्छ।' 

उनले काठमाडौं देशभरका युवाहरु अध्ययनका लागि आउने गन्तव्य भएकोले यसलाई शैक्षिक हब, आइटी हब, स्वास्थ्य शिक्षा अध्ययनको हब बनाउने योजना रहेको बताए। उनले काठमाडौं- १ आफैँमा नमुना सहर भएको र यसलाई थप व्यवस्थित र समृद्ध बनाउन आफूले भूमिका खेल्ने बताए। त्यसका लागि विज्ञहरुको सहयोग लिने उनको भनाइ थियो।

त्यस्तै रोजगारी सिर्जना गरेर विदेशिएका युवाहरुलाई स्वदेश फर्काउने काम गर्न सक्ने बताए। काठमाडौं क्षेत्र नम्बर १ मा पनि सुकुम्बासी समस्या जस्ताकातस्तै रहेको र त्यसको समाधानका लागि आफूले ठोस काम गर्ने उनको भनाइ थियो। उनले भने, 'उनीहरुलाई लालपूर्जा दिने मात्रै होइन रोजगारी दिने पनि योजना ल्याएका छौं।'

त्यस्तै सामाजिक क्षेत्रमा काम गर्नका लागि खुलेका युवा क्लबहरुलाई थप क्रियाशील बनाउने योजना ल्याएको उनको भनाइ छ। उनले भने, 'युवा क्लबहरुलाई सामाजिक काममा क्रियाशील बनाउने योजना छन्, युवाहरु मलाई आफ्नो प्रतिनिधि मानिरहेका छन् त्यसैले पनि युवाको क्षेत्रमा म बढी काम गर्नेछु।'

उनले आफू निर्वाचित भएमा काठमाडौं क्षेत्र नम्बर १ लगायत काठमाडौं उपत्यकाको विकासका लागि काम गर्ने बताए। यस क्षेत्रको विकास अन्य क्षेत्रसँग पनि सम्बन्धित रहेकोले त्यसमा भूमिका निर्वाह गर्नु आफ्नो कर्तव्य हुने उनको भनाइ छ। आफ्नो प्राथमिकतामा रहने एजेन्डाबारे उनले भने, 'हामीले मन्द विष लिइरहेका छौं यसलाई स्वच्छ पार्नुपर्ने छ। मान्छेलाई बाँच्न चाहिने पहिलो चिज नै विष भएपछि अरु सहायक हो। त्यसका लागि यहाँको धुलो, धुँवा, गाडीबाट हुने प्रदूषण हटाउनुपर्छ।' 

उनले काठमाडौं देशभरका युवाहरु अध्ययनका लागि आउने गन्तव्य भएकोले यसलाई शैक्षिक हब, आइटी हब, स्वास्थ्य शिक्षा अध्ययनको हब बनाउने योजना रहेको बताए। उनले काठमाडौं १ आफैमा नमूना सहर भएको र यसलाई थप व्यवस्थित र समृद्ध बनाउन आफूले भूमिका खेल्ने बताए। त्यसका लागि विज्ञहरुको सहयोग लिने उनको भनाइ थियो। त्यस्तै रोजगारी सिर्जना गरेर विदेशिएका युवाहरुलाई स्वदेश फर्काउने काम गर्न सक्ने बताए। काठमाडौं क्षेत्र नम्बर १ मा पनि सुकुम्बासीका समस्या जस्ताका त्यस्तै रहेको र त्यसको समाधानका लागि आफूले ठोस काम गर्ने उनको भनाइ थियो। उनले भने, 'उनीहरुलाई लालपूर्जा दिने मात्रै होइन रोजगारी दिने पनि योजना ल्याएका छौं।'

त्यस्तै सामाजिक क्षेत्रमा काम गर्नका लागि खुलेका युवा क्लबहरुलाई थप क्रियाशिल बनाउने योजना ल्याएको उनको भनाइ छ। उनले भने, 'युवा क्लबहरुलाई सामाजिक काममा क्रियाशिल बनाउने योजना छन्, युवाहरु मलाई आफ्नो प्रतिनिधि मानिरहेका छन् त्यसैले पनि युवाको क्षेत्रमा म बढी काम गर्नेछु।'

अनिलले आफू अन्य दुई उम्मेदवारभन्दा अब्बल हुनुमा आफ्नो राजनीतिक क्रियाशीलता, चुनावी योजना र भविष्यमा आफ्नो गठबन्धनले लिने राष्ट्रको नेतृत्व रहेको मुख्य रहेको बताए। उनले भने, 'अबको चुनाव देश विकास गर्नका लागि हो, देशलाई समृद्धिको यात्रामा डोहोर्‍याउनका लागि हो। हाम्रो एजेन्डा, विकासको आधार र भोलि गर्ने कामको घोषणा के हो भन्नेले को प्रतिस्पर्धी हो र को होइन भन्ने छुट्टिन्छ। म देशलाई स्थायित्व प्रदान गर्न सक्ने अठोट लिएको वाम गठबन्धनको ओजश्वी प्रतिस्पर्धी हुँ।'

यो पनि पढ्नुहोस् : घरदैलोमा रवीन्द्र मिश्र : मतदाता भन्छन् - मान्छे जोखेर मात्रै भोट हाल्छौं, प्रकाशमानप्रति असन्तुष्ट, अनिलप्रति छैन प्रतिक्रिया

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.