|

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गणतन्त्र प्राप्तिको आन्दोलनमा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादीलाई तानेर ल्याउने पार्टी एमाले नै भएको दाबी गरेका छन्। काठमाडौं क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उम्मेदवार नेता नेपालले चुनावी प्रचारका क्रममा वडा नम्बर–२३ को कोट्देवी वुथ उद्घाटन गर्ने क्रममा त्यस्तो बताए।

उनले कांग्रेस र माओवादीलाई लोकतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी गराउने पार्टी भएको समेत बताए। '०६२–०६३ को जनआन्दोलनका बेला फरक कित्तामा रहेका नेपाली कांग्रेस र नेकपा माओवादीलाई लोकतन्त्रप्राप्तिको आन्दोलनमा सहभागी गराउन महत्वपूर्ण भूमिका खेलेको पार्टी एमाले नै हो'-नेता नेपाल भन्छन्, १० वर्षसम्म सशस्त्र युद्ध लडेको माओवादी र गणतन्त्रको शब्द पनि सुन्न नचाहने कांग्रेसलाई एक ठाउँमा ल्याउने काम एमालेकै कारण सफल भएको हो।'

उनले चुनावी प्रचारका क्रममा काठमाडौँ क्षेत्र नम्बर–२ का जनतासँग आफ्नो भावनात्मक नाता जोडिएको पनि बताए। 'कतिपयले ०७० सालको उपनिर्वाचनमा माधव नेपालले दुई क्षेत्र जित्दा काठमाडौँ–२ छाडेर रौतहट रोज्यो भनेर हल्ला पनि गर्ने गरेका छन्'-उनले भने, तर त्यो गलत हल्ला हो, त्यतिबेला मधेसमा आन्दोलन चर्किएको थियो। त्यस्तो बेलामा पहाडिया नेताले मधेस छाडे भन्ने आरोप लाग्छ भनेर मलाई पार्टीले काठमाडौँ–२ छाड्न आग्रह गरेपछि मैले पार्टीको इमान्दार सिपाही भएको नाताले स्वीकार गरहेको हुँ।'

काठमाडौं–२ आफूले प्राविधिक रुपमा छाडे पनि भावनात्मक रुपमा यही रहेको र विकास निर्माणका काममा पनि सक्दो प्रयास गरेको नेपालले बताए। 'म प्रधानमन्त्री हुँदा होस या सांसद् रहँदा नै किन नहोस् यहाँको विकासमा सक्दो प्रयास गरिरहेको छु' उनले भने, 'समृद्ध नेपाल निर्माण गर्न वामशक्तिकै सरकार हुनुपर्छ भनेर यो प्रक्रिया अघि बढाएका हौँ।'

आफू विजयी भएपछि कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्ने बताउदै नेपालले वाम तालमेलका लागि आफूले पनि निकै ठूलो प्रयास गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.