|

इलाम : चिजको माग बढ्दै गए पनि दूध नपाउँदा दुग्ध विकास संस्थान स्वामित्वको पशुपतीनगर चिज उद्योग बन्द हुने अवस्थामा पुगेको छ। दूधबाट बन्ने परिकारको माग बढे पनि गाईपालक किसान निजी दुग्ध प्रशोधन केन्द्रतर्फ आकर्षित भएपछि सरकारी उद्योग रुग्ण बन्दै गएको हो।

 लामो समयदेखि सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)मा दूध बिक्री गर्दै आएका किसानले निजी डेरीले राम्रो मूल्य दिन थालेपछि डिडिसीसँगको नाता तोड्न थालेका छन्। मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा सूर्योदय नगरपालिका–२ मा रहेको पशुपतीनगर चिज उद्योगले दूध पाउन छाडेको हो।

निजी उद्योगले प्रतिलिटर ४५ देखि ६० रुपैयाँसम्म दिने गरेको छ। दुग्ध विकास संस्थानले किसानहरुलाई दूधको गुणस्तर हेरेर औसतमा ४० रुपैया प्रतिलिटर दिँदै आएको छ। दूध संकलन गर्ने सहकारीहरुलाई कमिसनबापत अतिरिक्त ३ रुपैयाँ दिने गरेको दुग्ध विकास संस्थान विराटनगर आयोजना प्रमुख सरोज सिम्खडाले बताए।

०४२ मा स्थापना भएको उद्योगको प्रशोधन क्षमता ३ हजार लिटर भए पनि हाल ५ सय लिटर मात्र प्रशोधन गर्ने गरेको छ। १ वर्ष अघिसम्म ४ वटा सहकारीमार्फत आएको दूध प्रशोधन गर्ने उद्योगमा अहिले एउटा मात्र सहकारीले दूध बिक्री गर्दै आएको कर्मचारी देव चौधरीले बताए

। स्थानीयस्तरमा दैनिक १ सय २० लिटर मात्र दूध संकलन भएपछि पशुपतिनगर चिज उद्योगले करिब १० किलोमिटर टाढा फिक्कलमा रहेको चिस्यान केन्द्रबाट ४०० लिटर खरिद गर्ने गरेको छ। इलाममा दैनिक १ लाख २० हजार लिटर दूध व्यावसायिक रूपमा उत्पादन हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.