|

लहान : सिरहाको मिर्चैया नगरपालिकाअन्तर्गत उदयपुरसँग सीमा जोडिएको चुरे क्षेत्रमा प्रहरीले अवैध रुपले गरिएको गाँजा खेती नष्ट गरेको छ। मिर्चैयास्थित इलाका प्रहरी कार्यालय, म्यादी प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पको संयुक्त टोलीले शनिबार मिर्चैया नगरपालिका बडा नं. ९ रमपुरा क्षेत्रमा लगाइएको करिब ९ कठ्ठा जग्गाको गाँजा खेती नष्ट गरेको हो।

रमपुरा गाउँको विभिन्न ठाउँको करिब ९ कठ्ठा जग्गामा लगाइएको २ हजार ५ सय थान गाँजाको बोट फँडानी गरी नष्ट गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक बज्राचार्यका अनुसार प्रहरीले पत्ता लगाएको गाँजा फडानी नसकिएसम्म जारी रहनेछ। गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताए।

उत्तरी क्षेत्रमा अवैध खेती

उदयपुरसँग सीमा जोडिएको सिरहाको उत्तरी क्षेत्रमा पर्ने चुरेको काखमा रहेका गाउँहरुमा गाँजा खेती हुने गरेको बताइन्छ। ‘पूर्वपश्चिम सडक क्षेत्रमा केन्द्रित हुने सुरक्षाकर्मीहरुको आँखा छलेर लगाइएका गाँजा अहिले पनि कैयौं ठाउँमा छन्’ स्थानीय गाउँलेले नाम नछाप्ने सर्तमा सुनाए ‘तस्करको एजेन्टमार्फत डिल हुने भएकाले गाँजा खेती हुन्छ, गाँजा पाकेपछि एजेन्टले नै संकलन गरेर भरियामार्फत सीमापारि पुर्‍याउने गर्छन्।’

प्रहरीले बेलाबखत तस्कर र एजेन्टको सेटिङमा सीमापारि पुर्याउन भरियालाई उपयोग गरेको गाँजा पक्राउ गर्ने गरेको भए पनि उदयपुरको दक्षिणवर्ती चुरे क्षेत्रमा उत्पादन हुने गाँजा सिरहा ल्याएर स्थानीय गाँजासमेत संकलन गरी सीमा कटाउने गरेको बताइन्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.