|

जनकपुरधाम: राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले तेस्रो मधेस आन्दोलनमा यहाँका जनताको आवाज बाहिर आउन नदिन दमन गर्ने अत्याचारीका कारण तेस्रो मधेस आन्दोलनमा ५४ जनाले सहादत दिनुपरेको बताएका छन्।

मधेस आन्दोलनको केन्द्र, शिक्षाको केन्द्र जनकपुरमै आन्दोनकारीलाई आतंककारी देख्ने सत्ता दासत्व स्वीकार गर्ने गृहमन्त्रीका कारण मधेसका जनतालाई प्रहरी लगाएर तह लगाउने प्रयासले तेस्रो मधेस आन्दोलनको क्रममा ५४ जनाले सहादत दिनुपरेको महतोको दाबी थियो।

मधेसमा ठूला पार्टीको चाकरी गर्दै निहत्था जनतामाथि गोली बर्साउने दमनकारीविरुद्ध ठूलै आन्दोलनकारीको आवश्यकता महसुस गर्दै राजपा नेपालले आफूलाई यो लडाइँ लड्नका लागि पठाएको जानकारी दिए। धनुषा क्षेत्र नं.- ३ का उम्मेदवारसमेत रहेका महतोले धनुषाको धनौजीमा चुनावीसभालाई सम्बोधन गर्दै मधेसी जनतामाथि गोली चलाउने व्यक्तिलाई जनकपुरले चिनिसकेकाले स्थानीय तहको निर्वाचन परिणामअनुरूप नै यस निर्वाचनमा समेत मत परिणाम आउनेमा आफू ढुक्क रहेको बताए।

'यो लडाइँ आन्दोलनकारी र दमनकारीबीचको लडाइँ हो। मधेसी जनताले दमनकारीहरूलाई स्थानीय निर्वाचनमा दिएको जवाफ जस्तै यस निर्वाचनमा समेत जवाफ फर्काउनेछ। दमनकारीहरूको हातमा त्यो समयमा बुलेट थियो अब मधेसी जनताको हातमा ब्यालेट छ', महतोले भने, 'मधेसी जनताले ब्यालेटकै माध्यमले बुलेटको जवाफ दिने समय आएको छ, यसलाई सदुपयोग गर्ने यही मौका हो।'

महतोले यस पटकको निर्वाचनमा सबै बुलेटको हिसाबकिताब ब्यालेटकै माध्यमले हुने दाबी गर्दै ब्यालेटभन्दा ठूलो अस्त्र यो संसारमा कुनै नरहेकाले यो अस्त्रलाई मधेसवादी शक्तिको पक्षमा प्रयोग गर्न मतदाताहरूलाई अपिल गरे। मधेसी जनताको भविष्य सुनिश्चित गर्नका लागि पनि मधेसवादी शक्तिलाई जिताउनु आवश्यक रहेको उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.