|

लहान : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा क्षेत्र नं. ४ मा दुई पूर्वमन्त्री र निवर्तमान सांसदको चुनावी टक्कर हुने देखिएको छ। वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री अजयशंकर नायक र मधेसी गठबन्धनबाट पूर्वमन्त्री तथा राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव र नेपाली कांग्रेसबाट महासमिति सदस्य तथा पूर्वसांसद मोख्तार अहमदबीच नै चुनावी टक्कर पर्ने अनुमान गरिएको छ। 

सिरहाको पश्चिमवर्ती मिर्चैया, कर्जन्हा र कल्याणपुर नगरपालिकाका ३५ वटा र विष्णुपुर तथा नरहा गाउँपालिकाका ६ वटासहित ४१ वडा समेटिएको क्षेत्र नं. ४ मा ८१ हजार ३०२ मतदाता छन्। हालै भएको स्थानीय तह निर्वाचनमा मिर्चैया, कर्जन्हामा माअोवादी केन्द्र र कल्याणपुर नगरपालिकामा कांग्रेस जितेको छ भने नरहामा एमाले तथा विष्णपुरमा संघीय समाजवादी फोरमले जितेका आधारमा क्षेत्र नं. ४ मा वाम गठबन्धनका उम्मेदवार नै चुनावी दौडमा अगाडि रहेको विश्लेषण गरिएको छ। 

यस क्षेत्रमा स्वतन्त्रसहित १७ उम्मेदवार रहेको भए पनि चुनावी प्रतिस्पर्धामा वाम गठबन्धन, संघीय समाजवादी फोरम नेपालको समेत समर्थन रहेको राजपा र कांग्रेसका उम्मेदवार नै चुनावी दौडमा अगाडि छन् ।

हेभीवेट भिडन्त

वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार ४० वर्षीय अजयशंकर नायक सशस्त्र युद्धकालदेखि सिरहा जिल्ला सेक्रेटरी, सह–इञ्चार्ज, केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो सदस्यसम्म बनेका नेता हुन्। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद् बनेका नायक प्रचण्डको दोस्रो प्रधानमन्त्रीकालमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनेका थिए।

क्षेत्र नं. ४ मा माओवादी केन्द्रबाट वाम गठबन्धनको साझा उम्मेदवार बनेपछि आफ्नो जित अझ सुनिश्चित भएको नायक बताउँछन्। ‘वामपन्थीहरुको बलियो पकड रहेको क्षेत्र भएकाले चुनाव जित्छु,’ उनले भने, ‘चुनावी एकता हुँदै निर्वाचनपछि पार्टी एकता नै हुने भएकाले क्षेत्रका सम्पूर्ण मतदाता उत्साही छन्।’ चुनावी तालमेल हुँदै पार्टी एकता राष्ट्र र जनताको आर्थिक समृद्धिको योजना कार्यान्वयनका लागि भएकाले यो क्षेत्र आफूहरुको किल्ला बन्ने नायकको जिकिर छ। निर्वाचन क्षेत्र पुनःनिर्धाणअघि २०४८ र २०५६ को आम निर्वाचन तथा २०७० को संविधानसभामा यो क्षेत्र वामपन्थीहरुले जितेको क्षेत्र हो।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा संघीय समाजवादी फोरम नेपालसँग चुनावी गठबन्धन गरेको राजपा नेपालका तर्फबाट सिरहा क्षेत्र नंं. ४ मा उम्मेदवार बनेका छन्, पूर्व मन्त्री राजकिशोर यादव। राजपा अध्यक्ष मण्डलको सदस्यसमेत रहेका ४४ वर्षीय यादव २०६४ सालको संविधानसभामा तत्कालीन ६ नं. क्षेत्रबाट फोरमबाट विजयी बनेपछि बाबुराम भट्टराईको प्रधानमन्त्रीकालमा सञ्चारमन्त्री बनेका थिए। त्यसपछि २०७० को संविधानसभा निर्वाचनमा त्यही क्षेत्रबाट फोरम गणतान्त्रिकको उम्मेदवारको रुपमा यादव चौथो स्थानमा खुम्चिएका थिए। छ मधेस केन्द्रित दल मिलेर बनेको राजापा नेपालमा यादव तत्कालीन फोरम गणतान्त्रिकको अध्यक्षको हैसियतमा अध्यक्ष मण्डलका सदस्य छन्।

पछिल्लो स्थानीय तहको निर्वाचनमा राजपाले अन्य दलसँग गरेको अघोषित तालमेलपछि रुष्ट रहेको संघीय समाजवादी फोरमका नेता कार्यकर्ताहरु राजपा र यादवसँग असन्तुष्ट छन्। यादवको घर रहेको नरहा गाउँपालिकामा उनको घर रहेको वडाबाहेक अन्य वडा एमाले, माओवादी केन्द्र र कांग्रेसले जितेका छन् भने गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष एमालेले जितेका छन्। यद्यपी यादव चुनावमा आफ्नो विजय निश्चित रहेको दाबी गर्छन्। ‘मधेस आन्दोलनको समयमा दमन गर्ने अन्य पार्टीलाई मतदाताले चुन्दैनन्,’ उनले भने। स्थानीय तह निर्वाचनमा दलहरुले पाएको मतको आधारमा प्रतिनिधिसभामा मत नआउने उनको जिकिर छ।

आफ्नो विचार प्रष्टसँग राख्न सक्ने, विपक्षीहरुसँग पनि तत्काल घुलमिल हुन सक्ने क्षमता भएका, सञ्चार क्षेत्रसँग अत्यन्त नजिक रहेर काम गर्न रुचाउने अल्पसंख्यक समुदायबाट सांसदसम्म बनेका नेपाली कांग्रेसका ४५ वर्षीय मोख्तार अहमद पनि सिरहा क्षेत्र नं. ४ का बलिया उम्मेदवार मानिएका छन्। स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्था वाम गठबन्धनको तुलनामा कमजोर रहेको भए पनि साढे तीन वर्षसम्म संविधानसभा सदस्य, सांसदको भूमिकामा आफूले मुलुकर क्षेत्रका जनताका लागि आफूले खेलेको भूमिका नै आफ्नो जितको मुख्य आधार रहेको अहमद बताउँछन्।

‘तत्कालीन सिरहा क्षेत्र नं. ६ को विकास निर्माण, स्थानीय जनताको सामाजिक, प्रशासनिक लगायतका दैनिक काममा गरेको सहयोगले नै मैले आगामी निर्वाचन जित्छु,’ उनले भने। २०७० को संविधानसभामा समानुपातिक साभसद बनेका अहमद २०४४ सालदेखि २०५१ सम्म नेपाल विद्यार्थी संघको एकाई सभापति, संघको जिल्ला सम्मेलन आयोजक समिति सभापति, का.बा. सभापति हुँदै जिल्ला अध्यक्ष बनेको सुनाउँछन्। 

२०४६ सालको जनआन्दोलनकै बेलामा युवा विद्यार्थीको नेतृत्व गरेको बताउने उनी अहिले कांग्रेसको महासमिति सदस्य छन्। ‘नयाँ संविधानको कार्यान्वयन, सबै वर्ग समुदायको अपनत्वका लागि संविधानका केही बुँदा संशोधन गरी मधेशको समस्या सम्बोधन गराउन मेरो भूमिका महत्वपूर्ण हुनसक्छ,’ आफ्नो उम्मेदवारी र जितको आधार सुनाउँदै उनले भने।
 
को कति बलियो?

प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. ४ अन्तर्गत पर्ने मिर्चैया, कर्जन्हा, कल्याणपुर नगरपालिका र विष्णुपुर तथा नरहा गाउँपालिकामा पछिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र १६, राजपा ९, कांग्रेस ७, एमाले ५, फोरम ३ र एक स्वतन्त्र उम्मेदवारले एउटा वडा जितेका छन्।

सिङ्गो क्षेत्रमा पर्ने ४१ वडामा दलहरुले स्थानीय तहको निर्वाचनमा पाएको मतको हिसाब निकाल्ने हो भने माओवादी केन्द्रले १२ हजार ८०१, एमालेले ११ हजार ४००, कांग्रेसले १० हजार ६४, फोरमले ८ हजार ५४९ र राजपाले ६ हजार ९५६ मत पाएका थिए। यो तथ्याङ्कले वाम गठबन्धन अघि रहेको देखाउँछ। तर, व्यक्तिगत प्रभावका आधारमा पनि भोट तलमाथि पर्न सक्ने भएकाले अहिले नै यसै होला भन्न सकिने अवस्था छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.