|

रुकुम : १० मंसिरको पहिलो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुम पश्चिममा पनि चुनावी गतिविधिले तीव्रता पाएको छ। नेपाली कांग्रेस र वाम गठबन्धन सहितका ठूला दल गाउँगाउँमा चुनावीसभा आयोजना गरेर चुनावी प्रचारलाई तीव्रता दिइरहेका छन् भने साना दलहरु मतदाताको घरदैलो भेटघाटमा व्यस्त छन्।

रुकुममा प्रतिनधिसभाका लागि ६ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन्। प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट गोपालजी जङ शाह, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा, नयाँ शक्ति पार्टी नेपालको तर्फबाट सरुण बाँठा मगर, संघीय समाजवादी फोरम नेपालबाट जगत बहादुर चन्द, राष्ट्रिय जनमोर्चाबाट खड्कसिंह खड्का र नेपाल कम्युनिस्ट पार्टी मालेबाट कलबहादुर नाथ रहेका छन्।

शान्ति प्रक्रियापछि भएका दुई संविधानसभा चुनावमा भारी मतका साथ रुकुमबाट विजयी भएका जनार्दन शर्मा यसपटक पनि चुनावी प्रतिस्पर्धामा छन्। स्थानीय तह चुनावमा पनि रुकुमका सबै स्थानीय तहमा माओवादी विजय भएका कारण पनि द्वन्द्वकाल, शान्ति प्रक्रिया, संविधानसभा चुनाव र स्थानीय तह निर्वाचनसम्म पनि रुकुम माओवादीको लालकिल्लाका रुपमा रहँदै आएको छ।

जसका कारण रुकुममा माओवादी उम्मेदवारलाई पराजित गर्न अन्य राजनीतिक दलहरुले निकै कसरत गर्नुपर्ने देखिन्छ। राष्ट्रिय राजनीतिमा समेत हेभिवेटका रुपमा परिचित नेता जनार्दन शर्मा प्रभाकरका प्रतिस्पर्धी अनुहार यस्ता छन्।

जनार्दन शर्मा–माओवादी केन्द्र(वाम गठबन्धन)

प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्र रुकुमको तर्फबाट उम्मेदवारी दिएका ५४ वर्षीय जनार्दन शर्मा मुसीकोट नगरपालिका ५, सेरीगाउँका स्थायी वासिन्दा हुन्। ०४८ मा संयुक्त जनमोर्चाबाट चुनाव लडेका उनी त्यतिवेला नेपाली कांग्रेसका उम्मेदवारबाट पराजित भएका थिए। गणतन्त्र पछिको पहिलो पटक ०६४ मा भएको संविधानसभाको चुनावमा उनी विजयी भए।

 पुनः ०७० मा पनि उनी विजयी भए। ०६४ मा शान्ति मन्त्री भएका उनी ०७३ मा ऊर्जा मन्त्री भए। ०७४ मा गृहमन्त्री भएका उनी राजनीति घटना क्रमपछि अहिले विनाविभागीय मन्त्री छन्।

ऊर्जामन्त्री हुँदा निकै राम्रो काम गरेर चर्चा कमाउन सफल उनी राष्ट्रिय राजनीतिमा पनि एउटा प्रमुख पात्रका रुपमा देखापरिरहेका छन्। वेलावेला मन्त्री हुँदा उनले रुकुमको विकास र द्वन्द्वपीडित परिवारको राहत तथा पुनर्निर्माण कार्यमा महत्वपूर्ण भूमिका खेलेका छन्। 

गोपाल जीजंग शाह– नेपाली कांग्रेस

प्रतिनिधिसभा सदस्यमा नेपाली कांगेस रुकुमको तर्फबाट उम्मेदवारी दिएका ६८ वर्षीय गोपाल जीजंग शाह मुसिकोट नगरपालिका १३, साधनचौरका स्थायी बासिन्दा हुन्। शाह नेपाली कांग्रेस रुकुमको पाका नेता मात्र होइन कांग्रेसको बीउ रोप्ने एउटा अभियन्तासमेत हुन्।

उनी पञ्चायत राजनीतिसँगै ०२५ मा नेपाल विद्यार्थी संघको राजनीतिमा लागे। ०४६ मा पार्टी राजनीतिमा होमिएका शाह ०४८ को चुनावमा जनार्दन शर्मालाई पराजित गर्दै विजयी भएका थिए। ०५१ मा भएको चुनावमा पुनः उनी विजयी भए। ०५६ को चुनावमा उनले नेकपा एमालेबाट पराजित भए।

 ०६४ को चुनावमा पार्टीको समानुपातिक सूचीमा परेका उनी सभासद् बन्न पाएनन्। ०७० को चुनावमा पुनः जनार्दन शर्माबाट पराजित भए। अहिले उनै शर्मासँग चुनावी मैदानमा छन् शाह। पञ्चायतकालका वेला ०३८ मा श्रम सहायक मन्त्री ०५२ मा पुनः सहायक मन्त्री भएका शाह ०५३ मा वाणिज्य राज्यमन्त्री भएका थिए।शरुण बाँठा मगर– नयाँ शक्ति

प्रतिनिधिसभा सदस्यमा नयाँ शक्ति पार्टी नेपाल रुकुमको तर्फबाट उम्मेदवारी दिएका ४९ वर्षीय सरुण बाँठा मगर बाँफिकोट गाउँपालिकामा पर्ने दुली माझधाराका स्थायी वासिन्दा हुन्। ०३८ देखि विद्यार्थी राजनीतिमा लागेका बाँठाले ०४५ देखि कम्युनिस्ट पार्टी सदस्यता प्राप्त गरेका छन्।

 नेकपा माओवादीले जनयुद्ध शुरुआत गरेसँगै पार्टीमा सक्रिय रुपमा लागेर भूमिगत जीवन बिताएका उनी ०५८ देखि माओवादी रुकुमको जनसरकार प्रमुखसमेत भएर शान्ति प्रक्रिया सुरु हुन्जेलसम्म सत्ता चलाएका थिए। लामो समय माओवादी रुकुमको पार्टी इन्चार्ज भएका उनी राजनीतिसँगै कृषि व्यवसायमा पनि सक्रिय थिए।

जनयुद्धमा लामो संघर्ष गरेका उनले कुनै लाभको सार्वजनिक पद भने राजनीतिक जीवनमा पाएका छैनन्। जसका कारण माओवादीप्रति वितृष्णा जगाएर माओवादी राजनीतिमा निष्क्रिय जस्ता भएका बाँठा नयाँ शक्ति पार्टी आएदेखि त्यसमा आबद्ध भएका हुन्।

जगत बहादुर चन्द–संघीय समाजवादी फोरम

प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम रुकुमको तर्फबाट उम्मेदवारी दिएका ३४ वर्षीय जगतबहादुर चन्द रुकुमको त्रिवेणी गाउँपालिका १, रुघाका स्थायीवासिन्दा हुन्। एसएससी सम्मको शैक्षिक योग्यता हासिल गरेका उनी ०५५ देखि राजनीतिमा लागेका हुन्।

 अनेरास्ववियु क्रान्तिकारीको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका चन्द ०५८ मा नेकपा माओवादीको गाउँ कमिटी सदस्यसमेत भएका थिए। तर, उनी त्यसपछि राजनीति छोडेर रुकुम सदरमुकाममा लामो समय व्यवसायमा संलग्न भए।

०७० देखि फेरि राजनीतिमा चासो दिएका उनी संघीय समाजवादी फोरमतिर लागे। सुरुआतकालमा जिल्ला समितिको सदस्य रहेका उनी अहिले जिल्लाको वरिष्ठ उपाध्यक्ष छन्। स्थानीय तह निर्वाचनमा पनि त्रिवेणी गाउँपालिकाको उपाध्यक्षमा चुनाव लडेका थिए।

खड्कासिंह खड्का– राष्ट्रिय जनमोर्चा

प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चा रुकुमको तर्फबाट उम्मेदवारी दिएका ४४ वर्षीय खड्कासिंह खड्का रुकुमको त्रिवेणी गाउँपालिका ८, पेउघाका स्थायी वासिन्दा हुन्। साधारण लेखपढ मात्र जानेका उनी ०४६ देखि राजनीतिमा लागेका हुन्।

 ०४६ मा संयुक्त जनमोर्चाको राजनीतिमा संलग्न भएका उनी त्यसपछि लामो समय किसान संगठनमा रहेर काम गरे। ०६५ देखि राष्ट्रिय जनमोर्चाको जिल्ला सदस्यको रुपमा सक्रिय राजनीतिमा रहेका खड्का अहिले राष्ट्रिय जनमोर्चा रुकुमको सचिवसमेत हुन्। उनी केही समयअघि भएको स्थानीय तह चुनावको रुकुमको त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा समेत चुनाव लडेका थिए।

कल बहादुर नाथ– नेकपा माले

प्रतिनिधिसभा सदस्यमा कम्युनिस्ट पार्टी माले रुकुमको तर्फबाट उम्मेदवारी दिएका कल बहादुर नाथ रुकुमको बाँफिकोट गाउँपालिका २ लामाचौरका स्थायी वासिन्दा हुन्। साक्षर शैक्षिक योग्यता रहेका उनको राजनीतिक पृष्ठभूमि छोटो समय नै छ।

०७० देखि मालेको राजनीतिमा सक्रिय उनी यसअघि घरायसी कामकाज र वैदेशिक रोजगारीमा समय खर्चेका छन्। तर, उनको पुरानो पारिवारिक पृष्ठभूमि भने नेकपा माओवादी केन्द्रकै राजनीति हो। उनी सहिद परिवारका सदस्यसमेत हुन्।

चुनाव जित्नका लागि मात्र नभएर आफ्नो पार्टीको अस्तित्व बचाउनका साथै स्वास्थ्य, शिक्षा र वैदेशिक रोजगार जस्ता समस्यामा रहेका जनतालाई थोरै भए पनि सचेतना दिन राजनीतिक यात्रा थालेको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.