|

कालिकोट : जिल्लाको पचालभरना गाउँपालिका ८ का तोलीभीर ठूलाचौरका स्थानीयवासीले आफूहरूलाई पानी दिनेलाई मात्र भोट दिने बताएका छन्। गाउँमा लामो समयदेखि खानेपानी व्यवस्था नभएका कारणले पानी दिनेलाई मात्र भोट दिने बताएका हुन्।

गाउँमा कुनै राजनीतिक दलका उम्मेदवार मत माग्न नआएको तर, गाउँमा कोही पार्टीको उम्मेदवार भोट माग्न आएमा पहिलो प्राथमिकता खानेपानी माग गर्ने रहेको यहाँका स्थानीयले बताएका छन्।

लामो सयमदेखि धेरै राजनीतिक दलहरुले भोट माग्नका खानेपानी व्यवस्था गरिदिने वाचा गरेको तर, कसैले पनि गाउँमा खानेपानीको व्यवस्था नगरेका कारणले अहिले चाँहि पहिले खानेपानी त्यसपछि भोट दिने निर्णय गरिएको स्थानीय नन्दप्रसाद संज्यालले बताए।

 ‘हामीले भोट माग्ने उम्मेदवारसँग पहिलो सर्त खानेपानी उपलब्ध गराउनुपर्ने सर्त रहेको छ।’ उनले भने, ‘जुन दल र उम्मेदवारले खानेपानी सहज रुपमा उपलब्ध गराउने विश्वास दिलाउन सक्छ, उसैलाई मत दिने मेरो चाहना छ।’

यसअघि, पनि चुनावमा भोट माग्दा खानेपानी सजिलै उपलब्ध गराउने भने पनि कसैले केही नगरेको, जितेका र हारेका उम्मेदवार फर्किएर गाउँमा नआएको स्थानीय कर्णप्रसाद संज्यालले बताए। ‘यसभन्दा अघि हारे जितेका कोही पनि गाउँमा आएनन्।’ उनले भने, ‘खानेपानी व्यवस्था गर्छु भन्ने उम्मेदवारहरुले गाउँलाई कहिल्यै पनि सम्झिएनन्।’

गाउँमा खानेपानीको व्यवस्था नहुँदा गाउँका धेरै मानिसहरु बसाइँसराइ गरेको र खाली हुन थालेको स्थानीय रामबहादुर शाहीले बताए। ‘गाउँमा खानेपानी नहुँदा कैयौँ मानिसहरु बस्ती नै सरिसके।’ उनले भने,‘पहिला धेरै घर भएको तोलीभीर गाउँ अहिले खाली नै भइसक्यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.