|

  • सविता जिसी-

सुर्खेत : यातायातको सहज पहुँच नहुँदा सदरमुकाम वीरेन्द्रनगर पुग्न झन्डै १ दिन लाग्छ। विद्युत्, सडक, स्वास्थ्य र शिक्षाको सहज पहुँच नहुँदा वर्षौंदेखि समस्यामा गुज्रिरहेको छ जिल्लाको पश्चिम क्षेत्र। वर्षमा ६ महिना मात्रै साना सवारीसाधन मात्रै चल्ने कच्ची सडक। ०७० मा भएको संविधानसभा निर्वाचनमा सुर्खेत जिल्लामा ३ वटा निर्वाचन क्षेत्र थिए। जिल्लाका ३ वटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका थिए।

३ वर्षअघि भोट माग्न जाँदा तिनै नेताले जनतासँग गर्छौं भनेर गरेका वाचा अहिलेसम्म पूरा हुन सकेका छैनन्।  पुनः एकपटक तिनै पुराना अनुहार भोट माग्दै जनतासमक्ष पुगेका छन्। उही पुराना अनुहार अनि उही पुराना चुनावी एजेन्डा।

३ वटा निर्वाचन क्षेत्रमा विजयी भएका २ अनुहार प्रतिनिधिसभाका उम्मेदवार बनेका छन्। संविधानसभाको निर्वाचनमा संविधानसभा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी अहिले प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन्।

२१ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाको पश्चिम क्षेत्रमा रहेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी र वाम गठबन्धनका नवराज रावतको प्रतिस्पर्धा हुँदै छ। गठबन्धनका उम्मेदवार रावत संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ३ मा तप्तबहादुर विष्टसँग पराजित भएका थिए।

विकास निर्माणमा उच्च प्राथमिकता : थानी

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले कांग्रेसले जिते विकास निर्माणका कामलाई उच्च प्राथमिमकता दिने बताएका छन्।

उनले कांग्रेसले जितेमा अढाई वर्षमै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास गर्ने भन्दै विकास निर्माण गर्ने इच्छा शक्ति र सामर्थ्य अरूसँग नभएको बताउँदै आएका छन्। पश्चिम क्षेत्रमा स्वाथ्य शिक्षा सडक विस्तारलाई कांग्रेसले मुख्य चुनावी एजेन्डा बनाएको छ।

अवसर दिनुस् उज्यालो क्षेत्र बनाउँछु : रावत

उम्मेदवारहरुले एकपटक आफूहरुलाई विजयी बनाउन आग्रह गर्दै चुनावी आश्वासन बाँडेका छन्। प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार नवराज रावतले पाँच वर्षभित्र पश्चिम सुर्खेतका तीनवटै स्थानीय तहलाई झिलिमिली बनाउने योजना आफूसँग रहेको बताएका छन्।

रावतले मतदातासँग पश्चिम सुर्खेतमा बिजुली बत्ती पुर्‍याउनु आफ्नो प्रमुख योजना भएको भन्दै पूर्वी क्षेत्रका विकट ठाउँहरूमा पनि बिजुली पुगिसक्दा यस क्षेत्रका नागरिक भने अँध्यारोमा बस्नु बध्यता बनिरहेको बताए।

पश्चिम सुर्खेतका नागरिक विकासमा पछाडि पर्नुपरिहेको उल्लेख गर्दै आफैँले विद्युत् भित्र्याउने अभियानको नेतृत्व गर्नै भन्दै रावतले मतदातासँग भोट मागिरहेका छन्। उनले पश्चिम सुर्खेतका नागरिकलाई सडक र बिजुलीको सहज पहुँचमा पु¥याउने आफ्नो मुख्य एजेन्डा रहेको बताउँदै आएका छन्।

के भन्छन् २ नम्बर क्षेत्रका मतदाता?

विकास र सामान्य पूर्वाधारको पहुँचबाट पछाडि परेको पश्चिम सुर्खेतका जनता उम्मेदवारले राखेका चुनावी एजेन्डा पूरा होलान् भन्नेमा शंका व्यक्त गरिरहेका छन्।

मतदाताले सडकको अवस्था नाजुक रहेको, उच्च शिक्षाका लागि क्याम्पस नभएको भन्दै अब जित्ने उम्मेदवारलाई सदरमुकामसम्म पुग्ने बाटो कालोपत्रे गर्न माग गरेका छन्। त्यस्तै, पश्चिम सुर्खेतका मतदाताले कृषिमा आधुनिकीकरण, जलविद्युत् स्वाथ्य सेवा सबै क्षेत्रको उचित विकास गर्न उम्मेदवारहरुसँग आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.