राजनीति

उम्मेदवारको चुनावी चटक: कोही धान काट्दै, कोही गाई दुहुँदै
SHARES

कात्तिक २७, २०७४

    काठमाडौं: चुनावी रौनक बढेसँगै यतिबेला उम्मेदवारहरू भोट माग्न व्यस्त छन्। मतदाताकहाँ जाँदा उनीहरूले जितेपछि यो गर्छौँ र ऊ गर्छौँ भनेर बाचा गरिरहेका छन्। घोषणापत्रका अलावा आफ्नै योजना लेखिएका पर्चा मतदातालाई दिइरहेका छन्। त्यतिले पनि मतदाताहरूको मन आफूतिर आएन कि भन्ने लागेर होला, उम्मेदवारहरू कोही धान काट्दै त कोही गाई दुहुँदै गरेका देखिन्छन्। उम्मेदवारहरूका खेत जोत्नेदेखि लिएर कोदो निफन्नेसम्मका तस्बीर सामाजिक सञ्जालमा देख्न पाइन्छ। 

    एमालेका युवा नेता तथा कास्की क्षेत्र नम्बर- २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले गाई दुहुँदै गरेको फोटा फेसबुकमा देख्न पाइन्छ। गलाभरि माला र ढाकाको खादा भिरेका अधिकारी रातो बाल्टीमा गाई दोइरहेका छन्। उक्त फोटो उनका शुभचिन्तकले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

    उनी मात्र होइन, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै घरदौलो अभियानमा रहेका उम्मेदवारहरूले धान काट्नेदेखि गाई दुहुनेसम्म गरेर सामाजिक सञ्जालमा फोटो हाल्ने गरेका छन्। मतदातालाई प्रभावित पार्न उनीहरूले गरेको काममा सहयोग गर्ने भन्दै उम्मेदवारहरूले यसरी काम गर्दै फोटो हाल्ने गरेका हुन्।

     तराई तथा पहाडका क्षेत्रमा यतिबेला धान काट्न धमाधम छ। पहाडको केही क्षेत्रमा अहिले कोदो टिप्नसमेत मतदातालाई भ्याई नभ्याई छ। भोट माग्न मतदाताको घरमा जाँदा उम्मेदवारहरूले मतदाता नभेट्ने भएपछि बारी तथा खेतमा नै भोट माग्न जाने गरेका छन्। केही उम्मेदवारहरूले मतदातालाई प्रभावित पार्न उनीहरूले गर्दै गरेको कामसमेत सघाउने गरेका छन्। 

    अहिले जति उम्मेदवारलाई चुनावी चटारो छ, त्यसभन्दा धेरै कामको चटारो छ मतदातादालाई। बर्खाको समयमा लगाएको बाली उठाउने समयमा उनीहरूलाई उम्मेदवारको कुरा सुन्नसमेत फुर्सद छैन। यही मौकामा भोट माग्न आफ्ना कार्यकर्तासहित गएका उम्मेदवारहरूले मतदाताको काम पनि सघाउने गरेका छन्।

    झापा- १ का कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा, ललितपुर- १ का वाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल, झापा- ४ का वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एलपी साँवा, प्रदेशसभातर्फ सोही क्षेत्र ‘क’का उम्मेदवार झलकसिंह दर्लामीलगायत उम्मेदवारहरूले मतदाताको खेतसम्म पुगेर धान काट्न सघाइरहेको फोटो सामाजिक सञ्जालमार्फत यतिबेला बाहिरिइरहेका छन्।

    यस्तै, गोरखा क्षेत्र नम्बर- १ को ‘ख’का कांग्रेस प्रदेशसभा सदस्य उम्मेदवार राजेन्द्र बजगाईंले गोरखाको ग्रामीण भेगका जनतालाई काठ चिर्ने आरा तान्नदेखि कोदो निफन्न सघाइरहेको फोटो समामाजिक सञ्जालमा उनले राखेका छन्। यी त प्रतिनिधिमूलक उम्मेदवार मात्र हुन्। यतिबेला अन्य उम्मेदवारहरू पनि यसरी नै गाउँगाउँमा गएर मतदाताको मन जित्ने काम गर्न सघाइरहेका छन्। 

    मतदाताको चाहनाअनुसार नै आफूहरूले उनीहरूलाई काम सघाएको कास्की क्षेत्र नम्बर- २ का उम्मेदवार अधिकारीले बताए। उम्मेदवारहरूले मतदाताको काममा सहयोग गर्नु स्वाभाविक रहेको पनि उनको भनाइ थियो। ‘म हिजो मत माग्दै मतदाताको घरमा पुगेको थिएँ’, उनले भने, ‘उहाँ (मतदाता) गाई दुहुन लाग्नुभएको रहेछ, उहाँले मलाई दुहुन आउँछ? भन्नुभयो। त्यसैले मैले पनि सघाएको हुँ। आखिरमा उहाँहरूले गाई दुहुञ्जेल बस्नै पर्ने हुन्थ्यो।’

    ग्रामीण क्षेत्रमा मतदाता यतिबेला कामको चटारोमा भएकाले उम्मेदवारको कुरा सन्नेसम्म फुर्सद नभएका कारण काम सघाएरै आफ्नो कुरा राख्नुपरेको ललितपुर- १ का उम्मेदवार सिलवाल बताउँछन्। ‘जनताको कामलाई अवरोध नपुर्‍याउने हिसाबले काम गर्दै गरेको ठाउँमा नै गएर मत मागेँ’, उनले भने, ‘मेरो उद्देश्य जनताको काममा अवरोध नगर्नु हो। त्यसैले जनता काम गर्दै गरेको ठाउँमा नै गएर भोट मागेँ।'

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरका लागि राजनीति, साहित्य र समाजबारे लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]